नेपाली समाजमा अनेक थरीका जाति, भाषा, चाडपर्व, रीतिरिवाज, विश्वासहरू प्रचलनमा रहेका छन्। नेपाली समाजमा वर्णव्यवस्था मान्ने ब्राह्मण-छेत्रीका साथै वर्णव्यवस्था नमान्ने गुरुङ, मगर, सेर्पा, तामाङलगायतका अनकौंँ जातजातिहरूको बसोबास रहेको पाइन्छ। त्यसैगरी समाजमा दलितका रूपमा अपहेलित भएर जीवनयापन गर्ने समुदायको समेत बसोबास रहेको पाइन्छ।

नेपालमा जातजातिप्रथा कहिलेदेखि सुरुवात भयो भन्ने कुराको प्रामाणिक निष्कर्ष हालसम्मका अध्ययनले निकाल्न सकेको पाइँदैन। तैत्तिरीय ब्राह्मण ग्रन्थमा ब्राह्मणलाई दैवी वर्ण र शूद्रलाई असूर्य वर्ण भनिएको छ। इसा पूर्व १८५ तिर आचार्य मनुले आफ्नो ग्रन्थ ‘मनुस्मृति’ मा शूद्र जातिलाई दमन गर्ने उद्देश्यले विभिन्न व्यवस्थाहरू बनाएका थिए। यही ग्रन्थलाई आधार मानेर समाजमा छुवाछुत प्रथाको आरम्भ भएको मानिन्छ। मनुस्मृतिले ब्राह्मणहरूलाई माथिल्लो दर्जामा र शूद्रलाई निम्न दर्जामा राखेको छ।

नेपालमा प्राचीन काल अथवा किरातहरूको शासन कालसम्म पनि जातीय छुवाछुत प्रथाको सुुरुवात भएको थिएन। भेडा, बाख्रा, गाई, भैंसी आदि जनावर पाल्नलाई प्राथमिकता दिने किरातीहरूले भारततर्फ ऊनी, कपडा, राडी, पाखी तथा जडीबुटी निर्यात गर्दथे। किरातकालमा मुख्य पेसाका रूपमा खेती र पशुपालन रहेको र साथै केही उद्योगधन्दा तथा व्यापारको पनि विकास भएको देखिन्छ। नेपालमा उत्पादित ऊनको राडी, पाखी भारतीय बजारमा समेत बिक्री भएको कुरा भारतका प्राचीन राजनीतिज्ञ तथा अर्थशास्त्री कौटिल्यले आफ्नो अर्थशास्त्रमा उल्लेख गरेबाट पनि यो कुरा प्रस्ट हुन्छ। त्यतिबेला समाजमा जातपातका आधारमा कामको बाँडफाँड भइसकेको थिएन। जुत्ता तथा लुगा सिउने, आरन चलाउने आदि सबै काम किरातीहरू आफैले नै गर्थे। यो प्रथा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरिसकेपछि पनि किरातीहरूको क्षेत्रमा कायम नै थियो।

नेपालको पहाडी क्षेत्रमा किरातहरूले राज्य गरिरहँदा तराई भेगमा लिच्छवि, मल्ल, शाक्य आदिको राज्य थियो। पछि मुसलमानहरूको आक्रमणबाट ती हिन्दू राजाहरू त्यहाँ टिक्न नसकेर नेपालको पहाडी क्षेत्रमा भागेर आए। त्यसरी भागेर आएका लिच्छविहरूले नेपालका किरातहरूलाई हराई आफ्नो सत्ता सन् ११० तिर कायम गरे। त्यति बेला नेपालको वर्ण व्यवस्था पनि भारतको जस्तै पेसामा आधारित हुन थालेको थियो।

जातका आधारमा खानपान रहनसहन आदिमा भिन्नता गरिएको थियो। लिच्छवी शिलालेखअनुसार त्यस समयमा समाजमा अठार जात थिए। लिच्छवी शासनकालमा जातअनुसार सबैले आआफ्नो पेसा गर्नै पथ्र्यो। कसैले आफ्नो पेसा छोडेर अर्को पेसामा लाग्न पाइँदैनथ्यो। कसैले प्रचलित जातीय मर्यादा पालन नगरेमा ऊ दण्डित हुन्थ्यो। कुनै पनि जातिले आफ्नोबाहेक अर्को जातिमा बिहे गर्न पाउँदैन्थ्यो। जातीय मर्यादा पालन नगरेका व्यक्तिको जात घटाइन्थ्यो। शूद्र जातिले सुन र चाँदीका गहना लगाउन पाउँदैनथे। यसरी लिच्छविहरू भारतबाट आएकाले भारतकै मनुस्मृतिका आधरित वर्ण व्यवस्था उनीहरूले लागु गरे र त्यति बेलादेखि नेपालमा जातजाति वा दलित जातिको उदय भयो।

लिच्छविकालपछि नेपालमा मल्लकालको सुरुवात भयो। मल्लकालमा जाति प्रथाले अझ चरम रूप लिएको थियो। मल्ल राजा जयस्थिति मल्लले छिन्नभिन्न भैसकेको नेपालको वर्ण व्यवस्थालाई फेरि पुनर्गठन गरेर समाजलाई चार वर्ण ३६ जातमा विभाजन गरे (आचार्य, २०५१, पृ. २३)। चार वर्णमा ब्राह्मण, छेत्री, वैश्य र र शूद्र पर्थे। उनले नेपाल उपत्यकाका नेवारहरूलाई समेत ४ वर्ण र ६४ जातमा विभाजित गरे। नेवारहरूमध्ये पनि आचार्य, वैध, श्रेष्ठ र दैवज्ञलाई माथिल्लो जातमा राखियो। पोडे, चारमका आदि जातिलाई पानी नचल्ने जातमा राखियो।

यी सबै जातिले आआफ्नो जात अनुसारको काम गर्नुपर्ने नियम बनाइयो। पोडेहरूले टोपी, जुत्ता र सुनका गहना लगाउन नपाउने बनाइयो। कसाईले बाहुला भएको दौरा लगाउन नपाउने बनाइयो साथै पोडे, कसाई तथा कुलुहरूले झिँगटीले छाएको घर बनाउन नपाउने नियम बनाइयो (पाण्डेय, २०६४, पृ. ७०)। यसरी समाजमा जातीय विभाजन सँगसँगै वर्गीय विभाजन पनि गरियो। प्रत्येक वर्ग र जातिको भोजन, बसोबास, जन्म, मृत्यु, विवाहमा गरिने संस्कारको आआफ्नै व्यवस्था बनाइयो (पाण्डेय, २०६४, पृ. ७०)। तल्ला जातिले माथिल्ला जातिलाई सम्मान गर्नुपर्ने भयो। यसका साथै कसैले आफ्नो पेसा छाडेर अर्कै पेसा अपनायो भने उसलाई अपराधीसरहको दण्डको व्यवस्था गरियो।

यसरी मल्ल कालमा कुनै स्त्रीले आफूभन्दा तल्लो वर्णको पुरुषसँग विवाह गरेमा तथा त्यसबाट बच्चा जन्मिएमा त्यो बच्चा चाण्डल हुने, कुनै स्त्री सती जानका लागि चितामा लोग्नेसँग सुतेको बेला त्यहाँ बस्न नसकी खसी भने ऊ पनि पोडे जातमा झर्ने आदि जातीय नियमहरू बनाइएको पाइन्छ।

उपर्युक्त किसिमले जयस्थिति मल्लको समयमा नेपालमा जातीय छुवाछुत प्रथाले चरम रूप लिएको थियो। यसै प्रथालाई नक्कल गरेर गोर्खाका राजा रामशाहले पनि त्यहाँको समाजलाई चार वर्ण छत्तीस जातमा विभाजन गरे। उनकै सन्तान पृथ्वीनारायण शाहले नेपाल उपत्यका विजय गरेपछि नेपाली समाजलाई वर्ण व्यवस्थामा नै ढाल्ने काम गरे र छुवाछुत, जातजाति प्रथालाई वैधानिकता दिए। यसरी नेपाली समाजमा जातपातको प्रचलनको सुरुवात तथा विकास भयो।

यी सबै ऐतिहासिक तथ्यबाट स्पष्ट हुन्छ कि जातव्यवस्था मूलतः शासकले शासन गर्नका लागि बनाइएको प्रचलन हो। शासक समतामूलक समाजको पक्षमा रहँदो रहेनछ। समाजलाई जातभात, वर्ण, अर्थ आदिका आधारमा विभेद गरिदिने हो भने सामाजिक शक्ति पनि विभक्त हुन्छ, साथै विभाजित जनतामाथि शासन लाद्न सहज हुन्छ। समाजका ठुलाठालुहरूले पनि आफू सधैं ठालु नै रहिरहनका लागि यसै सिद्धान्तलाई आत्मसात गरिरहे।

जातप्रथा कुनै धर्मविशेषले सञ्चालन गरेको देखिँदैन, बरु धर्मका अनुयायीहरूले धर्मका नाममा जातीय संस्कारको जरो रोपेको भने पाइन्छ। ‘मनुस्मृति’ धर्मका नाममा व्यक्तिले रोपेको जातीय विभेदको जरो हो। यस्तो जरो समाजमा यति गहिरोसँग गाडिएको छ कि कानुन, दण्ड, आन्दोलनजस्ता हतियारले सो जरोलाई उक्काउन सक्दो रहेनछ। यस्तो विकृत जरोको उत्खनन समयक्रमसँगै अनिवार्य रूपमा हुन्छ। आन्दोलन, क्रान्ति, कानुनजस्ता हतियार सशक्त भए भने विभेदको अन्त्य छिटो हुन्छ। त्यसैले समयको मागअनुरूप यस्ता हतियारहरू पनि चलाउँदै जानु जरुरी छ। दमक वर्गले सोच्नुपर्ने कुरा के हो भने विभेदरूपी जराको सहारामा आफू उच्च कहलिने कार्य क्षणिक आत्मालाप मात्र हो। यस्तो नियतले दीर्घकालीन रूपमा अशान्तिलाई नै निम्त्याउने हुनाले बेलैमा विभेदक मनस्थिति त्याग्नु जरुरी छ।

दमकले आफू दमित भएर सोचौं त-जन्मजात जातीय स्खलनको पीडा कति मर्माहत हुन्छ?
समाचार दिलीप ढकालले लेख्नु भएको नागरिक न्युजबाट