फाइल तस्विर

बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटार रंगशालामा जारी स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा शनिबार न्युरोडटिम एनआरटी विजयी भएको छ ।

शनिबार क्वाटरफाइनल अन्तर्गत भएको खेलमा टाइब्रेकरमा न्युरोडटिम एनआरटीले चर्च ब्वाइ युनाइटेडलाई ४-३ को गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको पहिलो हाफ दुवै टिमको तर्फबाट गोल रहित बराबरीका साथ सकियो । दोस्रो हाफमा चर्च ब्वाइका तर्फबाट राजेश परियारले पहिलो र मार्टिनले पुनह अर्को गोल गर्दै सुरुवाती अग्रता लिए पनि पछि एनआरटीका तर्फबाट अशोक थापा र जन गोलरीले जवाफी गोल फर्काउँदै खेललाई २-२ गोल को बराबरीमा पुर्‍याए । त्यसपछि निर्धारित समयमा २-२ गोल को बराबरीमा सकिएकोले खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा एनआरटीले चर्च ब्वाइलाई ४-३ को गोल अन्तरले पराजित गर्दै विजयी भयो ।

खेलको म्यान अफ द म्याच एनआरटीका तर्फबाट विवेक गुरुङ  घोषित भएका छन् ।

जितसँगै न्युरोडटिम एनआरटी सेमिफिनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनल अन्तरगत भोली आइतबार घरेलु टोली रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर र बागमती युथ क्लब सर्लाही बिच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ । हेटौडा–१५ स्थित न्युडाँफे युथको व्यवस्थापनमा करिब १ करोड ६० लाख रुपैयाँ लागत अनुमान खर्च हुने प्रतियोगिताका लागि प्रवेश शुल्क एक सय रुपैयाँ र भिआपी टिकटको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने समुहले १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तैगरि सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।

प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।