बाँके राप्ती सोनारी स्थित सिद्धेश्वर माविमा कक्षा ६ मा अध्ययनरत छात्रा अनिता बिक (नाम परिवर्तन) ले विद्यालयमा दिवा खाजा खाँदिनन्। विद्यालयमा दिवा खाजा भने पाक्छ। उनले भनिन् ‘मिठो हुन्न अनि अहिले खाजा खान छोडेँ।’ कक्षा ६ मा भर्ना भएयता खाजा नखाएकी उनले भने दिनहुँ खाजा खाएको भनेर विद्यालयले खर्च पेश गरिरहेको छ। विद्यालयले उनी सहित उनको कक्षामा रहेका ३३ जनाले दिनहुँ खाजा खाएको खर्च विवरण पेश गर्दै आएको छ।

सोही कक्षामा अध्ययनरत तारा कुमाल (नाम परिवर्तन) ले पनि ६ कक्षामा भर्ना भए यता दुई दिन मात्रै खाजा खाएकी छिन्। विद्यालयमा बन्ने खाजा मिठो नहुने भन्दै उनले पनि खाजा खान छोडिन्। ‘चना जलेको हुन्छ, त्यहि जलेको चना खान दिनु हुन्छ,’ उनले भनिन् ‘मिठो नै हुन्न अनि खाजा खानै छोडेँ।’ विद्यालयमा दिवा खाजा पाक्छ , तर विद्यार्थीहरुले भने आफै किनेर चाउचाउ अनि बिस्कुट खान्छन्। ‘यहाँ पाक्ने खाजा मिठो हुन्न अनि घरबाटै पैसा ल्याएर आउँछौँ,’ सोही कक्षाकी छात्रा दिपीका ओलीले भनिन् ‘अनि यहिँ क्यान्टिनमा चाउचाउ बिस्कुट किनेर खान्छु।’

सरकारी नियमानुसार यो विद्यालयले प्रतिदिन प्रति विद्यार्थी १५ रुपैयाँको खाजा खुवाईरहेको दाबी गर्छ। तर सबै बिद्यार्थीहरुले नियमती खाजा भने खाँदैनन्। विद्यालयले भने सबै विद्यार्थीले दिनहुँ खाजा खाईरहेको खर्च विवरण पेश गरिरहेको छ। बालविकास देखि कक्षा ६ सम्मका बिद्यार्थीहरुलाई विद्यालयमै खाजा खुवाउने नीति सरकारको छ। ‘हामीहरुले सबै विद्यार्थीहरुलाई नियमती खाजा खुवाउँदै आएका छौँ,’ विद्यालयका प्रधानाध्यापक जनक शर्माले भने ‘विद्यार्थीहरुले खाजा खाएकै आधारमा हामीहरुले खर्च विवरण पेश गरिरहेका छौँ, नखाएका विद्यार्थीहरुले खर्च जोड्ने कुरै भएन नि।’ हाजिरी रष्ट्रिरका आधारमा विद्यार्थीहरुले खाजा खाने गरेको र विद्यालय नआएका विद्यार्थीको भने त्यो दिनको खाजा खर्च नजोड्ने गरिएको विद्यालयका प्रधानाध्यापक शर्माले बताईरहेका थिए। उनले भने ‘विद्यार्थीले नआएको दिनको रकम बचत भएर बसेको छ, खर्च देखाउने कुरै हुँदैन नि।’

विद्यालयका प्रधानाध्यापकसंग खाजा खर्च बापतको मासिक खर्च विवरण माग गर्दा विद्यालयले उक्त विवरण दिन अस्वीकार गर्यो। विद्यालयका प्रधानाध्यापक शर्माले विद्यालयका लेखापाल जितेन्द्र केसीलाई उक्त विवरण उपलब्ध गराउन आग्रह गर्दा पनि लेखापाल केसी भने दिन अस्वीकार गर्दै कड्किए। उनले भने ‘म दिन्नँ, कसले के गर्छ ? जसलाई जे गर्न मन छ गरेहुन्छ।’ यो विद्यालयमा सञ्चालन भएको खाजा घर उनै केसी आफैले सञ्चालन गरेका छन्। उनकी श्रीमतीले खाजा घरमा खाजा बनाउँदै आएकी छिन्। विद्यालयले खाजाघर सञ्चालनका लागि ठेक्का आह्वान नगरेर सिधै केसीलाई जिम्मा दिएको थियो।

उनकै खाजाघरमा सबै बिद्यार्थीले खाजा खाईरहेको विवरण पेश गर्दै आएका लेखापाल केसीको आक्रोशले खाजा खर्च माथि थप आशंका बढायो। विद्यालयका प्रधानाध्यापकले उक्त खर्च विवरण दिन धेरैबेर आग्रह गरेपछि उनले गत साउन र भदौ महिनाको खर्च विवरण दिए। यो खर्च विवरणले त विद्यालयका प्रधानाध्यापकले विद्यालयले खाजा नखाएको दिनको रकम बचत हुने गरेको भन्दै गरेको दाबी झूठ प्रमाणित भयो।

उक्त विवरणमा बालबिकास कक्षा तर्फका १०, कक्षा १ का ८, २ का १५, ३ का २२, ४ का २० , ५ का २४ र ६ कक्षाका ३३ जना विद्यार्थीले नियमीत खाजा खाईरहेको उल्लेख छ। यो विद्यार्थी संख्या कक्षाका कुल विद्यार्थी संख्या हो। यो दुई महिनामा कुल विद्यालय खुलेको ४० दिनमा सबै बिद्यार्थीहरुले हरेक दिन खाजा खाएको भनेर विवरण पेश गरिएको छ। यो विद्यालयले बालबिकास देखि ६ कक्षा सम्मका सबै विद्यार्थीहरुलाई साउन र भदौ महिनामा ५५ हजार ८ सय ७५ रुपैयाँ खर्चेको छ। ‘विद्यार्थीले खाजा नखाएको दिनको खर्च नजोड्ने भन्ने नै हो,’ विद्यालयका प्रधानाध्यापक शर्माले भने ‘कसरी सबै विद्यालयले हरेक दिन खाजा खाएको भनेर आएको रहेछ , बुझ्नु पर्छ।’

यो विवरणलाई जाँच गर्न विद्यार्थी सम्म पुग्दा विद्यालयले दिवा खाजा मार्फत घोटाला गरेको बलियो पुष्टि भयो। कक्षा ६ का कुल ३३ विद्यार्थी मध्य आधा भन्दा बढि विद्यार्थीहरुले विद्यालयको खाजा खाएका रहेनछन्।

अधिकांश विद्यार्थीहरुले खाजा मिठो नभएर खानै छोडेको बताए। ‘पहिला अर्को मान्छेको होटेल हुँखा सम्म खायौँ, अहिले त मिठै हुन्न अनि खानै छोड्यौँ,’ विद्यार्थीहरुको सामुहिक आवाज थियो ‘घरबाटै पैसा लिएर आउँछौँ, अनि चाउचाउ बिस्कुट किनेर खान्छौँ।’ तर विद्यालयले भने सबै बिद्यार्थीले हरेक दिन १५ रुपैयाँ बराबरको खाजा खाईरहेको भनेर गलत खर्च विवरण पेश गर्दै आएको छ। यो विद्यालयका कक्षा ५ का विद्यार्थीहरुले मध्य पनि केहिले उक्त खाजा मिठो नभएको भन्दै नखाएको बताए। केहिले भने खाजा मिठो नभएतापनि बाध्यताले खानु परेको बताए। ‘भात जलेको हुन्छ, अनि भातमा अण्डाको गन्ध आउँछ, चना जलेको हुन्छ,’ ५ का एक विद्यार्थीले भने ‘मिठो नमानी नमानी पनि खानै पर्छ।’

विद्यालयले बालविकास देखि ६ कक्षा सम्मका सबै विद्यार्थीहरुले नियमीत खाजा खाएको खर्च विवरण पेश गर्दै आएको भएपनि आधा भन्दा बढि विद्यार्थीहरुले खाजा नखाने गरेको अभिभावकहरु वताउँछन्। ‘धेरै विद्यार्थीहरुले खाजै खाँदैनन्,’ एक अभिभावकले भने ‘तर विद्यालयले भने सबैले खाजा खाएको भनेर खाजा बापतको रकम आफै खाईरहेको छ।’

विद्यालयमा खाजा खर्च बारे गुनासो आउने गरेको भएपनि विद्यालयले भने सुने पनि नसुने झैँ गरिरहेको छ। विद्यालयमा केहि दिन विद्यार्थीहरुले खाजा खान छोडेको भन्ने गुनासोका आधारमा छलफल भएको भएपनि विद्यार्थीका लेखापाल तथा विद्यालयमा खाजा घर सञ्चालन गरेका जितेन्द्र केसीले भने सबै विद्यार्थीहरुले खाजा खाईरहेको भन्दै अन्य शिक्षकहरु माथि खनिएका थिए।  सरकारले बाँके बर्दिया, कैलाली कञ्चनपुर जिल्लाका विद्यालयहरुले भुटेको खण्डा र भात,चना चिउरा,खिर तरकारी,रोटी अचार,गेडागुडी साँधेको,दहि चिउरा र तरकारी खाजाका रुपमा विद्यार्थीहरुलाई खुवाउनु पर्ने खाजा मेनु तयार गरिदएको छ।

नागरिक न्युजबाट साभारछ ।