फाइल तस्बिर

लागुऔषध (गाँजा) सेवनका क्रममा चारजना साथीबीच विवाद भई धकेलाधकेल हुँदा छतबाट खसेका एक युवकको बुधबार जनपुरधाममा मृत्यु भयो। मृतक जनकपुरधाम उपमहानगरपालिका–७ का २४ वर्षीय मोहमद गुलाम मंसुर भन्ने रवानी मंसुर हुन्। छतबाट खसेर घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो।

मंसुर मृत्यु प्रकरणमा उनकै साथीको संलग्नता देखिएको छ। धनुषा प्रहरीले उनको मृत्युमा संलग्न अनुज तिवारी र जियावुल राइनलाई सार्वजनिक गरेको छ। मंसुरसँग अन्तिम पटक अनुज र जियावुल मात्रै देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले यस घटनामा जनकपुरधाम–७ जानकीनगरका २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियावुल राइन, वडा नम्बर ८ का ३१ वर्षीय राजकुमार साह र नगराइन नगरपालिका–२ बस्ने २१ वर्षीय जितेन्द्रकुमार मण्डललाई पक्राउ गरी घटना अनुसन्धान गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। उनका अनुसार उनीहरू सबै लागुऔषध प्रयोग गर्ने साथी हुन्।

मंसुरसहित पाँचैजना मंगलबार साथी सीमापारि जटहीबाट लागुऔषध सेवन गरेर आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। राति करिब १ बजेतिर जनकपुरधाम–२३ लादोबेलास्थित एक निर्माणाधीन घरको दोस्रो तलामा उनीहरू गाँजा तान्न बसे। गाँजा तान्दातान्दै अन्तिम पप कसले तान्ने विषयमा विवाद भयो र आपसमा धक्कामुक्की हुँदा मंसुर छतबाट लडेर घाइते भएका थिए। उपचारकै क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना २

गत चैत ३० गते साँझ ७ः३० बजे सप्तरीको कंकालिनी मन्दिरभन्दा करिब १ किलोमिटर दक्षिण पोखरीको डिलमा सुरज, कृष्ण, चन्द्रशेखर र सुजित मिलेर गाँजा खाँदै थिए। गाँजा खाने क्रममा उनीहरूले चोरी गर्ने योजना बनाए। चोरी गर्न आवश्यक कट्टर, खुकुरी र बोराको बन्दोबस्त मिलाउने जिम्मा सुरजले पाए। घरबाट खाना खाएर एक घण्टापछि चारैजना गाउँछेउको आँप बगैंचामा भेला भए। सुरजले साथमा ल्याएको सोनपिच (सुलेसन) नामक लागुऔषध चारैजनाले पालैपालो सेवन गरे।

लागुऔषध सेवनपछि सबैजना लट्ठ परे। उनीहरू राति करिब १०ः३० बजे कंकालिनी मन्दिरअगाडिको चोकमा जम्मा भए। सुजितले सुरजसँग रहेको ताल्चा काट्ने कट्टर मागेर जिस्किँदै सुरजको टाउकोमा प्रहार गरे। नसामा लट्ठिएका सुरज ढलेर बेहोस भए। सुरज ढलेपछि उनलाई अन्य तीनजना साथी मिलेर प्लास्टिकको बोरामा हालेर निलो रङको डोरीले घाँटीमा बाँधे। बेहोस रहेका उनलाई घिसार्दै लात्ती र कट्टरसमेत प्रहार गरे। बोरामा हालेर कोसी बाँधछेउ लगेर खुकुरीले सुरजको टाउकोमा प्रहार गरी बाटोछेउकै झाडीमा फालेर तीनैजना फरार भए। हत्यामा संलग्न तीनैजनालाई पक्राउ गरी प्रहरीले कर्तव्य ज्यान मुद्दा चलायो। उनीहरू चारैजना मिल्ने साथी थिए। उनीहरू सँगै लागुऔषध सेवन गर्दै आएका थिए। त्यो रात लागुऔषध सेवन गरेपछि नसाको झोकमा जिस्किँदाको सुरजको ज्यान गयोे।

भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षा दृष्टि पुर्याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुलमखुला बेचबिखनलगायत कारणले मधेस प्रदेश लागुऔषध कारोबारीको अखडा बन्दै आएको छ।

मधेस प्रदेशमा लागुऔषध सेवन गरेर आफ्नै साथीको हत्या गरिएका यी प्रतिनिधि घटना मात्र हुन्। यी घटनाले प्रदेशका कतिपय युवा लागुऔषधको कुलतमा परी अपराध उन्नमुख बन्दै गएको देखाएको प्रहरी अधिकारीको भनाइ छ। प्रहरी अधिकारीका अनुसार यहाँ घट्ने ८० प्रतिशत आपराधिक घटना लागुऔषधकै कारण भइरहेका छन्। लागुऔषध प्रयोग गरेर हत्या र जबर्जस्ती करणी गर्ने गरेको भए पनि पछि ती मुद्दा कर्तव्य ज्यान र जबर्जस्ती करणीमा परिणत हुने भएकाले लागुऔषधकै कारण हत्या र करणी भएको तथ्यांक प्रहरीमा छुट्टै रहँदैन।

मधेस प्रदेश लागुऔषधको ‘इपिसेन्टर’

जेठ १ गते धनुषाको विदेह नगरपालिका–१ रेल्वे ट्र्याकमा भारतबाट आएको बिआर ७बी ६१२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लेगार्डमा प्लास्टिकको झोलामा प्रेसरकुकरले छोपिएको अवस्थामा ५० बोतल लागुऔषध इक्सिप्लोन सिरप बरामद भयो। भारतको मधुवनी जिल्ला राजौल–५ का ४० वर्षीय कारी दासलाई प्रहरीले उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ।

जेठ १ गते सर्लाहीको बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजबाट प्रहरीले १८० पिस नाइट्रोजिपाम लागुऔषधसहित दुई जनालाई पक्राउ गर्यो। बा३६प ३९०९ नम्बरको मोटरसाइकलमा सवार बरहथवा ८ का २२ वर्षीय धिरजकुमार महतो र सोही ठाउँका २१ वर्षीय सञ्जीव पासवान भारतबाट उक्त परिमाणको लागुऔषध भिœयाउँदै गर्दा पक्राउ परे। वैशाख ३० गते प्रहरीले वीरगन्ज महानगरपालिका–१५ भिष्वा पोखरीबाट लागुऔषधसहित नुवाकोट जिल्ला बिदुर नगरपालिका–१ का २६ वर्षीय अनिल बिकलाई पक्राउ गर्यो। प्रहरीले उनको साथबाट डाइजेपाम २४० एम्पुल, फेनारगन–२४० एम्पुल, नुरफिन २४० एम्पुल गरी जम्मा ७२० एम्पुल लागुऔषध बरामद गर्यो।

वैशाख ३० गते बाराको जितपुरसिमरा उप–महानगरपालिका–१ बाट प्रहरीले लागुऔषधसहित रौतहट शिवनगर नगरपालिकाका ४३ वर्षीय हरिन्द्र राउतलाई पक्राउ गर्यो। उनको शरीर चेकजाँच गर्दा पाइन्टको दायाँ खल्तीबाट डाइजेपाम १८ एम्पुल, प्रोमेथोजित २० एम्पुल र नुफिन १९ एम्पुल गरी ५७ एम्पुल लागुऔषध सुई बरामद भएको प्रहरीले जनाएको छ।

वैशाख १२ गते पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ बस्ने बब्लु पाठकलाई ४ हजार २ सय एम्पुल लागुऔषध सुईसहित पक्राउ गर्यो। भारतबाट लागुऔषधसहित ना१ज २०३७ नम्बरको सुमोमा आउँदै गरेका पाठकलाई प्रहरीले लागु औषधसम्बन्धीको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

चैत १७ गते वीरगन्जबाटै हेटौंडाका सञ्जीव केशरी भारत विहार रक्सौलबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा ६ सय पिस नाइट्राभेट लागुऔषधसहित प्रहरीको फन्दामा परे। सोही दिन वीरगन्ज प्रहरीले चितवन ४ भरतपुर निवासी विशाल श्रेष्ठलाई पनि १४१ पिस फेनारगन, नुर्फिन र डाइजापेमसहित पक्राउ परेको थियो।  पछिल्लो तीन वर्षमा प्रतिबन्धित लागु औषधसहित वीरगन्जबाट सवा ७ सयभन्दा बढी पक्राउ परेको प्रहरी तथ्यांक छ।

आर्थिक वर्ष २०७७-७८ देखि चालु आवको वैशाखसम्ममा ७ सय ३७ जना पक्राउ परेको प्रहरी अभिलेख छ। आव २०७८-७९ मा ९५, २०७९-८० मा ३१८ र चालु आवमा ३२४ जना पक्राउ परेका प्रहरी रेकर्ड छ। यही अवधिमा पर्सा प्रहरीमा ५४४ वटा प्रतिबन्धित लागु औषधको मुद्दा दर्ता रहेको प्रहरी तथ्यांक छ।

भारतबाट सिधै वीरगन्ज नाका भएर प्रतिबन्धित लागुऔषध भित्रिने गरेको प्रहरी तथ्यांकले देखाइरहेको छ। आव २०७७-७८ देखि २०७९-८० सम्ममा ९६ हजार ९५ वटा प्रतिबन्धित लागु औषध फेनारगन, डाइजापाम, नुर्फिन, कोरेक्स बरामद भएको छ, जुन डरलाग्दो औषधि हो।

बिहीबार राति सर्लाही प्रहरीले सीमावर्ती क्षेत्रबाट काठमाडौं जाँदै गरेको एक यात्रुबाहक बसका सहचालक र सहयोगीको साथबाट ठुलो मात्रामा लागुऔषध बरामद गर्यो। भारतीय सीमावर्ती गाउँ मधुवनबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०६–००१ ख ०००३ नम्बरको यात्रुबाहक बसका सहचालक गोडैता नगरपालिका–११ का २२ वर्षीय अजय सहनी र गोडैता–८ का सहयोगी ३२ वर्षीय ताजबाबु दर्जीको साथबाट ५७१ एम्पुल लागुऔषध सुई बरामद भएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मकेन्द्र मिश्रले बताए।

यी उदाहरणले मधेस प्रदेशमा लागुऔषको फैलँदो सञ्जाललाई प्रस्ट्याउँछ। मधेस प्रदेशका आठवटै जिल्लाको सिमानाका सामान्य रूपमा खुला भएको अवस्थामा दैनिक यहाँबाट पारी पुगेर लागुऔषध बोकेर फर्किनेको संख्या बढी छ। लागुऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर मधेस प्रदेशअन्तर्गत सीमावर्ती जिल्लाबाट निष्फिक्री कारोबार चलाइरहेको पाइएको छ। प्रहरीले विभिन्न समयमा पक्राउ गरेका कारोबारीहरूको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो। भारतीय सहरका विभिन्न औषधि पसलबाट भिœयाइने लागुऔषध यहाँबाट विभिन्न ठाउँमा पुग्ने गरेको छ।

भारतबाट सिधै वीरगन्ज नाका भएर प्रतिबन्धित लागुऔषध भित्रिने गरेको प्रहरी तथ्यांकले देखाइरहेको छ। आव २०७७-७८ देखि २०७९-८० सम्ममा ९६ हजार ९५ वटा प्रतिबन्धित लागु औषध फेनारगन, डाइजापाम, नुर्फिन, कोरेक्स बरामद भएको छ, जुन डरलाग्दो औषधि हो।

भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षा दृष्टि पुर्याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुलमखुला बेचबिखनलगायत कारणले मधेस प्रदेश लागुऔषध कारोबारीको अखडा बन्दै आएको छ। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामार्फत पहाडी जिल्ला र राजधानीलगायत धेरै सहरमा लागुऔषध ओसारपसार हुने गरेको प्रहरी स्रोतको भनाइ छ।

मधेस प्रदेश प्रदेशसभा सदस्य रामाशिष यादवले लागुऔषधले मधेसी समाज दलदलमा भासिँदै गएको बताउँछन्। प्रयोगकर्ता पहिलेभन्दा धेरै बढेको छ, कारोबारी पनि बढ्दै गएको छ, उनले भने। मधेस प्रदेशका गाउँ सहर लागुऔषधको ट्रान्जिटका रूपमा बढी प्रयोग भइरहेको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झा बताउँछन्।

ज्यादै ठुलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोबार दुई–चारजना कारोबारी समातेको भरमा तोड्न कठिन रहेको सामाजिक अभियन्ताहरू बताउँछन्। लागुऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट मधेस प्रदेशका सीमावर्ती सहरहरू हुने गरेका छन्।

प्रहरीले केही समयको फरकमा लागुुऔषधसहित मानिसहरू नसमातेको भने होइन। तर कारोबारीहरूको सक्रियता पटक्कै घटेको छैन, झन्झन् बढ्दो छ। यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारी बताउँछन्। प्रहरी अधिकारीहरूका अनुसार खुला सिमानाका कारण नियन्त्रण चुनौतीपूर्ण बनेको छ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांकअनुसार आव २०७६-७७ मा लागुऔषधअन्तर्गत ५८२ वटा मुद्दा दर्ता भएको थियो। जसमा ८ सय ८९ जना मानिस पक्राउ परेका थिए। आव २०७७-७८ मा ७ सय १४ वटा मुद्दा दर्ता भयो। जसमा ९ सय ९९ जना मानिस पक्राउ परेका थिए। आव २०७८-७९ मा ९२२ मुद्दा दर्ता भएका छन्। जसमा १२८५ जना मानिस पक्राउ परेका छन्। २०७९-८० को चैतसम्म ७ सय मुद्दा दर्ता भएको छ। जसमा ८७२ जना मानिस पक्राउ परिसकेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। यो तथ्यांकले पनि लागुऔषधको कारोबारी बढ्दै गएको देखाउँछ।

पक्राउ पर्नेमा १३ देखि २५ वर्ष उमेर समूहको संख्या बढी छ। पक्राउ परेकाहरूको तथ्यांक केलाउँदा लागुऔषध कारोबारी र प्रयोगकर्ता १६ देखि २५ वर्ष उमेर समूहका युवा धेरै छन्। यस प्रदेशमा बढ्दो लागुऔषध कारोबारीको सञ्जाल भत्काउन शून्य सहनशीलता अपनाएर कारबाही तीव्र पारिएको डिआइजी जनक भट्टराईको भनाइ छ। प्रहरीको सक्रियताकै कारण पक्राउ पर्नेको संख्यामा वृद्धि भएको उनी बताउँछन्।

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलँदो छ। सीमादेखि काठमाडौं मात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ। तीन ‘स’अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागु औषधको डरलाग्दो भुमरीमा फसिरहेका छन्।

लागुऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ। सीमापारि, मधेस र पहाडका युवाहरूको त्रिकोणात्मक सञ्जालले लागुऔषधको कारोबार फैलाइरहेको पाइएको छ। एउटा समूह पारिबाट वारिको सहरसम्म ल्याउने, अर्को समूह यहाँबाट पहाडी जिल्लाका सहरसम्म पुर्याउने र तेस्रो समूह काठमाडौंलगायत ठुला सहरसम्म लागुऔषध पुर्याउन गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

यता, वीरगन्ज नाकाबाट प्रतिबन्धित लागुऔषध देशका अधिकांश ठाउँमा गइरहेको प्रहरी तथ्यांकबाट खुलेको छ। पक्राउ परेकाहरूको तथ्यांक हेर्ने हो भने देशको राजधानीसहित पर्सा, बारा, मकवानपुर, चितवन, पोखरासहित ठाउँमा गइरहेको पाइएको छ। लागुऔषध कारोबारको पछिल्लो समय वीरगन्जको मात्रै नभएर देशकै जटिल समस्या बन्दै गएको पर्सा प्रहरीको भनाइ छ।

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलँदो छ। सीमादेखि काठमाडौं मात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ। तीन ‘स’अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागु औषधको डरलाग्दो भुमरीमा फसिरहेका छन्।

पर्सा प्रहरी प्रमुख (एसपी) कोमल शाह भन्छन्, ‘प्रतिबन्धित लागुऔषध रोकथामका लागि प्रहरीले हरेक रणनीति अपनाइरहेको छ तर खुला सीमाका कारण यसको नियन्त्रणमा कठिनाइ आइरहेको छ। तर यो भन्नुको अर्थ प्रहरी यसमा चुकिरहेको भन्ने होइन।’

लागुऔषध रोकथामका लागि प्रहरी प्रधान कार्यालयको पनि विशेष नीति रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘पर्सा प्रहरी पनि त्यो नीतिलाई पूर्ण रूपमा लागु गरेर अघि बढ्दै छ, यो मुद्दामा प्रहरी चुक्दै चुक्दैन।’ तर पूर्वप्रहरी अधिकारीहरू भने प्रहरीको निष्क्रियताले लागुऔषधको कारोबार बढिरहेको तर्क गर्छन्। ‘प्रहरीको निष्क्रियताले यो समस्या बढ्छ, अलिकति आफ्नो सक्रियता बढाइदियो भने यस्ता कारोबार आफैं घटन थाल्छ,’एक पूर्व प्रहरी अधिकारीले भने।

गाँजादेखि हेरोइन र चरेससम्मको कारोबार

मधेस प्रदेशका ८ जिल्ला भारतीय सीमासँग जोडिएका छन्। जसकारण लागुऔषध ल्याउन सजिलो छ। लागुऔषधसहित पक्राउ पर्नेहरू भारतबाटै ल्याइरहेको अवस्थामा पक्राउ पर्ने गरेका छन्। विभिन्न किसिमको ट्याब्लेट र इन्जेक्सनदेखि गाँजा, चरेस र हेरोइनसम्मको प्रयोग यो प्रदेशमा हुने गरेको प्रहरीको भनाइ छ। यी लागुऔषधको कारोबार तथा प्रयोग हुन नदिन प्रहरीले आफ्नो स्तरबाट प्रयास गरिरहेको बताउँछ।

चालु आवको चैत महिनासम्म ४ हजार १६ किलो गाँजा प्रदेशका आठै जिल्लाबाट प्रहरीले नियन्त्रणमा लिएको छ। यसबाहेक ४५ ग्राम ब्राउन सुगर, १४० किलो ३३४० ग्राम चरेस, ४४९ किलो २७४५ ग्राम हेरोइन र ३ किलो ८०० ग्राम अफिम नियन्त्रणमा लिएको छ। यस अवधिमा ५४९१० चक्की लागुऔषध ट्याबलेट, ३५९८ बोतल लागुऔषध, ५१७५४ एम्पुल लागुऔषध सुई बरामद भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

नागरिक न्युजबाट साभार गरिएको छ ।