हेटौंडा । छिमेकी मूलूक भारतको पश्चिम वंगाल प्रदेशको कालिम्पोङ जिल्लास्थित मुनसोङमा ८० औं इन्डिपेन्डेन्स डे को अवसरमा जारी फुटबल प्रतियोगिता अन्तर्गत हेटौंडा फुटबल एकेडेमीले आफ्‌नो पहिलो खेलमा शान्दार जीत निकालेको छ । मुनसोङ र्स्पोर्टस् एशोसिएसन क्लबको आयोजनामा जारी फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको राउण्ड अफ ३२ को आफ्‌नो पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीको टोलीले घरेलु टोली सिक्किमको माम्रिङ व्वाइज क्लबको गोल पोष्टमा गोलको वर्षा गरेको छ । शुक्रबार भएको आफ्‌नो पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीले माम्रिङ व्वाइजलाई ८–१ को भारी गोलान्तरले सहजै पराजित गरेको छ ।

यो जीत सँगै हेटौंडा फुटबल एकेडेमीको टोलीले आफ्‌नो प्रि र्क्वाटरफाइनलको स्थान सुरक्षित गर्दै हाइल्याण्ड वारियरको टिमसँगको भेट पक्का गरेको छ । निकै आक्रमक खेल प्रदर्शनी गरेको हेटौंडा फुटबल एकेडेमीको टोलीको दावबलाई झेल्न नसकेपछि माम्रिङ व्वाइज भारी गोलान्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनुपरेको हो । डिफेन्सीपलाई विशेष रुपले प्राथमिकतामा राख्दै खेलको प्रदर्शनी गरेको माम्रिङ ब्वाइजले हेटौंडा फुटबल एकेडेमीले गरेको आक्रमण प्रर्दशनी झेल्न नसकेपछि सान्त्वना गोलमै सीमित हुनुपर्यो ।

हेटौंडा एकेडेमीका लागि सन्तोष गोङ्बाले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसपछि माम्रिङ ब्वाइजको तर्फबाट एक गोल फर्काइएको थियो । हेटौंडा फुटबल एकेडेमीका अंकित आले मगरले ह्याट्रिक पूरा गरेका हुन् । उनले ४ गोल गर्दै आफ्‌नो नाममा ह्याट्रिक राख्न सफल भएका थिए । दिलन लिम्बुले १ गोल र पवन पाख्रिनले २ गोल गरे । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । क्लबले यस वर्षबाट प्रतियोगिताको पुरस्कार राशिको रकम बढाएको हो । हेटौंडा फुटबल एकेडेमीको टोलीले यो सँगै सिक्किममा हुने इन्डिपेन्डेनस डे को विभिन्न फुटबल प्रतियोगिताहरुमा सहभागी भएको बताइएको छ । मुनसोङ स्पोर्टस् क्लबको आयोजनामा जुलाई २६ तारिखबाट सुरु भएको फुटबल प्रतियोगिताको फाइनल खेल भने अगष्ट १५ अर्थात इन्डिपेन्डेनस डे को दिन हुनेछ ।