हेटौंडा । टोल विकास नगर समन्वय समिति हेटौंडाको विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको फोहोर खोज चुनौती कार्यक्रममा कालिका टोल विकास संस्था प्रथम भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाको समन्वयमा तथा हेटौंडा-८ को टोल विकास संस्थाको सहयोगमा भएको फोहोर खोज चुनौती प्रतियोगितामा विकास टोल (समूह ए ) द्वितीय र मनकामना टोल (समूह सी ) तृतीय भएका छन् । त्यसैगरी कालिका टोल (समूह A), मनकामना टोल (समूह B), बिन्दबासिनी टोल (समूह A) र सृजना टोल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
हेटौंडा–८ मा भएको प्रतियोगितामा १९ वटा टोल विकास संस्थाका ३८ वटा समूहहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी समूहहरूले आफ्नो क्षेत्रबाट अजैविक फोहोर संकलन गरी जम्मा २,२०० केजी फोहोर व्यवस्थापनका लागि संकलन गरेका छन् । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ८ का वडा सदस्य गोरख राय, नगर समन्वय समितिका सचिव तथा कार्यक्रम संयोजक शुशिला मल्ल, वडा समन्वय समितिका अध्यक्ष कुमार केसी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एकलाल श्रेष्ठले वातावरण संरक्षणका लागि समुदायस्तरबाट सञ्चालन गरिएका यस्ता अभियानहरूले नागरिकमा जिम्मेवारी बोध गराउने र स्वच्छ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
उनले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे । कार्यक्रमका सभाध्यक्ष ध्रुव प्रसाद अधिकारीले प्लास्टिकजन्य तथा अन्य अजैविक फोहोरको उचित व्यवस्थापन आजको आवश्यकता भएको बताउँदै “स्वच्छ, हरियाली र प्लास्टिकमुक्त हेटौंडा” निर्माणका लागि टोलस्तरबाट अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।प्रतियोगितामा प्रथम, द्वतीय र तृतीय हुने समूहलाई क्रमश: र १० हजार, ७ हजार ५ सय र तृतीयलाई ५ हजार र सान्त्वना प्रत्येक समूहलाई रु. २,५००/- पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। उक्त पुरस्कारहरू विश्व वातावरण दिवस–२०८३ (जेठ २२ गते) आयोजित विशेष समारोहमा वितरण गरिने कार्यक्रम रहेको छ।























प्रतिक्रिया दिनुहोस्