फाइल तस्वीर

खासमा तनहुँ–१ पहिलेदेखि नै कांग्रेसको एकछत्र भएको निर्वाचन क्षेत्र हो। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ १ बाट रामचन्द्र पौडेलले जित हात पारेका थिए। पौडेल राष्ट्रपति भएपछि रिक्त स्थानका लागि यही वैशाख १० गते (आइतबार) उपनिर्वाचन भयो। उपनिर्वाचनमा कांग्रेसले आफ्नो साख जोगाउन सकेन। गठबन्धन गरेर चुनावी मैदानमा होमिएको कांग्रेसका उम्मेदवार पराजित भए, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतले विजयी भए। उम्मेदवारी दर्ताअघि उनी कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका थिए।

प्रतिनिधिसभा सदस्यका लागि मंसिरमा भएको चुनावमा दलहरूले प्राप्त गरेको मतका आधारमा तनहुँ १ मा रास्वपा चौथो शक्ति बनेको थियो। तर पाँच महिनापछि भएको उपनिर्वाचनबाट रास्वपा पहिलो शक्ति बनेको छ। कांग्रेसको गढ भनिएको क्षेत्रमा रास्वपाका उम्मेदवार वाग्ले फराकिलो मतान्तरले जित निकाल्न सफल भए।

वाग्लेले ३४ हजार ९ सय १९ मतसहित जित हात पारे। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारको भन्दा १४ हजार ७ सय ९७ मत बढी पाए। कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १ सय २२ मत पाए। गत मंसिरमा भएको निर्वाचनमा तनहुँ १ बाट विजयी कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ मत पाएका थिए। त्यसबेला पौडेलका निकटतम प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए। मंसिरको निर्वाचनमा प्राप्त मतका आधारमा दोस्रो शक्ति बनेको एमाले उपनिर्वाचनमा तेस्रोमा झ¥यो। एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत पाए। उपनिर्वाचनमा कांग्रेस गठबन्धनका उम्मेदवार भट्टराईलाई जिताउन प्रधानमन्त्रीदेखि कांग्रेसका वरिष्ठ नेताहरूको तनहुँमा धुइरो नै लाग्यो। कांग्रेस महामन्त्री गगन थापा मनोनयन दर्तादेखि नै तनहुँमा खटिएका थिए। उपनिर्वाचनमा रास्वपाको झट्का कांग्रेसलाई भन्दा बढी एमालेलाई परेको छ। अघिल्लो पटक पाएको मत एमालेले जोगाउन सकेन। अघिल्लो पटक एमालेका रानामगरले १९ हजार ९ सय ८१ मत पाएका थिए। यसपटक खनालले ८ हजार ४ सय ८८ मत मात्र पाए। यस आधारमा एमालेले ११ हजार ४ सय ९३ मत गुमाएको छ।

एमालेका मतदाताले पनि रास्वपालाई मत दिँदा यस्तो अवस्था आएको विश्लेषण गरिएको छ। तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। जसमध्ये ६३ हजार ७ सय ५७ जना मतदानमा सहभागी भए।

रास्वपाका वाग्लेले एमालेको मत बढी काटेको अनुमान गरिएको छ। राजनीतिक विश्लेषक कमलमोहन वाग्ले भन्छन्, ‘एमाले र कांग्रेसप्रतिको वितृष्णा त प्रस्टै देखियो। अघिल्लो निर्वाचनमा कांग्रेसले यो क्षेत्रमा समानुपातिकमा पनि करिब २० हजार मत पाएको थियो। अहिले पनि त्यही मत पाएको छ। त्यसैले कांग्रेसलाई उतिसारो कमजोर भन्न हुँदैन। तर गठबन्धनका अरू दलले कांग्रेसका उम्मेदवारलाई मत दिएनन। त्यो घाटा लाग्यो।’ अघिल्लो निर्वाचनमा रामचन्द्र पौडेललाई जो, जसले मत दिएका थिए, अहिले ती सबैले कांग्रेसका भट्टराईलाई मत दिए भनेर भन्न नसकिने उनले बताए। अहिले कांग्रेसको मत पनि केही काटिएको हुनसक्ने उनले बताए। ‘कांग्रेस तनहुँ बलियो संगठन भएको हो तर संगठनविहीन रास्वपाले निर्वाचनमा बाजी मारेको छ, यसमा अरू दल चुकेका हुन्,’ उनले भने। एमालेका उम्मेदवार तनहुँमा जन्मे पनि उनको राजनीतिक अवस्था जिल्लामा कमजोर हुँदा त्यसको असर पनि परेको हुनसक्ने विश्लेषक वाग्लेले बताए। खनाललाई त जिल्लाका एमाले कार्यकर्ताले नै स्वीकार नगरेको वाग्लेको विश्लेषण छ। त्यसले गर्दा पनि एमालेको बढी मत काटिएको अनुमान गर्न सकिने उनले बताए। व्यास नगरपालिकाको एउटा वडामा एमालेका २ सय ६७ जना संगठित कार्यकर्ता भए पनि त्यहाँबाट खनालले १ सय २४ मत मात्र पाए। यसले खनाललाई एमालेकै कार्यकर्ताले स्विकार्न नसकेको प्रस्ट भएको वाग्लेको विश्लेषण छ।

तनहुँ १ मा कांग्रेसले कारबाही गरेका गोविन्दराज जोशीको पनि प्रभाव छ। अहिले रास्वपालाई जोशी समूहको पनि मत गएको बताइन्छ। अघिल्लो पटक उम्मेदवार बनेका जोशीले ६ हजार ८ सय ८६ मत पाएका थिए। अहिले जोशी समूहको समर्थन रास्वपालाई थियो। ‘सबै पार्टीको मत अहिले खस्किएको छ,’ उनले भने, ‘सायद यो राजनीतिक समस्या पनि हो।’ कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल पनि कांग्रेसको मत उतिसारो कटौती नभएको बरु गठबन्धनका सहयात्री दलले मत नदिएको बताउँछन्। ‘गठबन्धनको प्रभाव तल्लो तहमा भएन। गठबन्धनलाई तल्लो तहका कार्यकर्ताले स्विकारेनन्,’ उनले भने, ‘दलमा वितृष्णा निम्तिएका कारण पनि असर परेको हो।’ ठुला राजनीतिक दल भनिए पनि कसैले अवसर पाइरहने र कसैले नपाउँदा यो वितृष्णा आएको हुनसक्ने उनले बताए। ‘अब पार्टीले भन्दैमा मतदाता टेर्नेवाला छैनन्। मतदाता परिवर्तनशील भएका छन्,’ उनले भने। एमालेको मत रास्वपालाई जाँदैन कि भन्ने धेरैले ठानेका थिए तर उसले आफ्नै मत जोगाउन नसकेको नतिजाले देखाएको छ। ‘एमालेले त आफ्नै मत जोगाउन सकेन। संगठित सदस्य भएको ठाउँमा पनि कमजोर देखियो,’ खनालले भने।

नागरिक न्युजबाट साभार गरिएको छ ।