हावापानी राम्रो छ, समाज राम्रो छ, मर्दापर्दा साथ–सहयोग पाइन्छ, मनका गफ सुनिदिने मान्छे हुन्छन्, सबैको कथाव्यथा उस्तै हुन्छ, शारीरिक अभ्यासले जीवन स्वस्थ हुन्छ…’ हाम्रो मानसपटलमा रहेको गाउँले जनजीवनको तस्बिर हो यो। बाहिरबाट हेर्दा गाउँले जनजीवन यस्तै नै छ। व्यस्त सहरको गन्जागोल घरनिर्माण, अस्तव्यस्त सडक, अव्यवस्थित फोहोर व्यवस्थापन, अपरिचित तथा स्वार्थी मान्छे, धुलो–धुवाँयुक्त वातावरण हेर्दा लाग्छ–शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत सुविधा भए अधिकांश मान्छेको रोजाइ स्वच्छ हावापानीयुक्त गाउँ नै बन्ने थियो।

स्याङ्जाको एक गाउँमा बसोबास गर्ने तीर्थप्रसाद पौडेलका सबै ४ सन्तान सक्षम छन्। ती चार सन्तानका दुई दुई छोराछोरी गर्दा ८ नातिनातिना भइसकेका छन्। अर्थात् उनको ठुलो संयुक्त परिवार छ। पौडेल आफै पनि अवकाशप्राप्त शिक्षक हुन्। त्यसैले उनी हुनेखाने वर्गमै पर्छन्। तर छोराबुहारी कोही सहरतिर छन् त कोही सात समुद्रपारि वैदेशिक भूमिमा। अहिले गाउँमा बुढाबुढी मात्र एक्लै बस्छन्। दुःखबिमार हुँदा साथ दिनका लागि आफ्ना सन्तान तत्कालै उपलब्ध हुने अवस्था छैन। यस्तो बेलामा गुहार्नुपर्छ तिनै छिमेकी। छोराछोरीले माया गरेर सहरमै बसौं भन्छन्, अझै अमेरिका भएको छोराले उतै बोलाउँछन्। यद्यपि यो बुढ्यौलीमा उनलाई गाउँ छोडेर सहर वा विदेश पस्ने मन छैन। ‘यो बुढ्यौलीमा मलाई गाउँ छोडेर कहीं जान मन छैन। हुन त छोराबुहारीले बजारमै सँगै बसौं भन्छन् तर हामीलाई यहीं जिन्दगी बिताउने इच्छा छ। हातखुट्टा चल्ने बेलासम्म हामी कहीं जान्नौं,’ पौडेल भन्छन्।

तीर्थप्रसादको मात्र होइन, त्यस गाउँका अधिकांश मान्छेको कथा यस्तै छ। उनको घरसँगै गाउँकै अर्का अवकाशप्राप्त शिक्षक लोकरमण पौडेलको घर छ। लोकरमणको कथा र तीर्थप्रसादको कथा दुरुस्त छ। उनका एक छोरा विदेश तथा अर्का छोरा काठमाडौंमा बस्छन्। दुवै छोरा आआफ्नो क्षेत्रमा स्थापित भइसकेका छन्। उनलाई आर्थिक भरणपोषणका लागि छोराहरूको आश गर्नुपर्दैन। आफ्नै पेन्सनले खानलाउन प्रशस्त पुग्छ। यद्यपि छोराछोरी, नातिनातिना साथमा कोही नहुँदा आर्थिक सम्पन्नताले मात्र घर भरिलो बन्दो रहेनछ। ‘बाहिर कामधाममा लागेका छोराछोरीलाई घर आऊ भन्न पनि भएन। उनीहरूले आफ्नो गरेका छन्, खाएका छन्। जति छोराछोरी भए पनि आखिर बुढाबुढी त सधैं एक्लै पो भइने रहेछ,’ लोकरमण भन्छन्। उनलाई परिवारसँगै बस्ने मन पनि छ तर गाउँसँग जोडिएको अर्को मनले त्यसो गर्न दिँदैन। बरु दुःख गर्ने तर गाउँ नछोड्ने मनले सधैं बलियो डेरा जमाइराखेको छ।

तीर्थप्रसाद र लोकरमणका जस्तै कथाव्यथा भीमप्रसाद, दयानिधि, विष्णुप्रसाद, छविलाल अनि घनबहादुरको पनि छ। यी सबै उमेर ढल्किसकेका वृद्धवृद्धा हुन्। सबैले उमेर छँदा भरपूर काम गरे। यो सबैको आराम गर्ने उमेर। तर सबैका दुईतीन हलका खेतबारी छन्, गोठमा दुईतीन गाईवस्तु छन्। पहिलाजस्तो धेरै नभए पनि दिनमा तीनचार कप चिया खाने अनि बिहानबेलुका भातलाई सेतो बनाउने दुधको जोहोका लागि मिहिनेत गरेका छन्। त्यहाँ दीर्घरोगीको संख्या निकै कम छ। यद्यपि सधैं गह्रुंगो घाँसदाउरा गर्ने कामले होला, अधिकांश बुढाबुढीलाई ढाड दुख्ने, पेट दुख्ने, टाउको दुख्नेजस्ता समस्या छन्। ढाड दुखे पनि हरेक दिन उनीहरूलाई घाँसदाउरा गर्नै पर्छ, नत्र गोठका गाईवस्तु कराउन थाल्छन्। बेलुका दुध दिँदैनन्, भान्सा सेतो हुँदैन। यस्तै दुःख गरेर जम्मा गरेको गोरसको तरलाई पर्गेलेर बनाएको घिउ अनि बारीको तरकारीसमेत तिनै छोराछोरीलाई खुवाउनका लागि सहरतिर ओसार्नसमेत भ्याउँछन् ती वृद्ध भएका आमाबुबा।

बुबाआमाले छोराछोरीलाई औधी माया गर्छन्, छोराछोरीले पनि बुबाआमालाई त्यस्तै माया गर्छन् तर परिस्थितिले यो सबै माया पूर्णतः बनावटी बनाइदिएको छ। अमेरिका–क्यानडामा व्यस्त तर सुविधासम्पन्न तवरले जीवन बिताइराखेका ती छोराछोरीले फोनका भरमा माया देखाउँछन्, परि आउँदा आवश्यक पैसा पनि पठाइदिन्छन् तर जिन्दगीमा साथ चाहिएको बेला ती वृद्ध बुबाआमाहरूले कहिल्यै साथ पाउँदैनन्।

ती बुढाबुढीलाई आश्वासन होइन, मायाको खाँचो छ। तिनीहरूलाई सम्पत्ति होइन, साथको आवश्यकता छ। ती वृद्ध बुबाआमाले छोराछोरीको सुखसुविधाकै लागि आफ्नो जवानी बेचेका थिए। त्यो ऊर्जाशील जवानीमा उनीहरूको एक मात्र चाहना थियो–आफ्ना छोराछोरी सक्षम बनून् अनि बुढेसकालमा आफ्नो जिन्दगीको साहरा बनून्। जीवनको गुजारा चलाउन आवश्यक पैसा त चाहिन्छ नै, तर जीवनको यो सन्ध्यावस्थामा उनीहरूलाई पैसाभन्दा पनि साथ र सहारा चाहिएको हो। उनीहरूले अरू त पाएकै छन् तर सबैभन्दा बढी जे आवश्यक परेको हो, त्यही पाएका छैनन्।

केही महिना अघि त्यही गाउँमा एकजना बुबाको ८१ वर्षको उमेरमा मृत्यु भयो। लामो समयदेखि उहाँ अस्वस्थ हुनुहुन्थ्यो। मुटु, पेट, मलद्वार जताततै समस्या। जीवनको अन्तिम अवस्थामा समेत उहाँले छोराछोरीले दुःख पाउँछन् कि भन्ने चिन्ता गर्नुहुन्थ्यो। बिरामी हुँदा भेट्न आउँछु भन्दा समेत विदेशबाट खर्च गरीगरी किन आउनुपर्‍यो भन्नुभयो। केही समयपछि उहाँको मृत्यु भयो। आधा दर्जन छोराछोरी भए पनि घरमा काजक्रिया गर्ने कोही भएनन्। एउटा छोराले दुबईमा, अर्का छोराले कतारमा अनि अर्का छोराले दिल्लीमा बसेर काजक्रिया गरे। विवाहित छोरीहरू भने मृत्युपश्चात् सबै उपस्थित भए।

यस्तो छ आजको सामाजिक–पारिवारिक अवस्था। बाहिरबाट हेर्दा मायाको सुकिलो खोल देखिन्छ। बाहिरबाट सुकिला पैसा, कपडा अनि खानपान देखिन्छन्। स्थायी बसोबासका लागि बिदेसिएकाप्रति समाजले भन्ने भनाइ हुन्–ओहो ! फलानाको छोरो त अमेरिका छ। उतैको नागरिकता लिइसक्यो अरे। फलानाको छोरो त क्यानडामा छ। क्यानडामा त बच्चाबच्चीलाई पढाउने, बिरामी हुँदा उपचार गर्ने, बुढेसकालमा सेवासुविधा लिने व्यवस्था छ अरे। जताततै कति सफा, नेपालका सहरमा दुई दिनमा कपडा लगाउनै नमिल्ने गरी मैलिन्छन् तर त्यहाँ जति लगाए पनि धुलोधुवाँले त कपडा मैलो नै नहुने। फेरि मैलो नभए पनि दुई दिन लगाएका कपडा वासिङ मेसिनमा हालिदिइहाल्ने। कस्तो राम्रो व्यवस्था। सरकारी कामकाज पनि कति सजिलो…, यस्तैयस्तै।

अझै विदेशमा हप्तामा ५ दिन अनवरत काम गरेपश्चात् पाइने दुई दिन बिदामा ‘विकेन फन’ भन्दै रमाएमा फोटाहरू सामाजिक सञ्जालमा पोस्ट गरेपछि विदेशमा त रमाइलो मात्रै छ जस्तो लाग्छ। कानुनतः नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका अधिकांशको कथा सुन्दा जति रमाइलो सुनिन्छ, व्यथा पनि उस्तै विदारक छ। नेपालमा आएर बाबुआमासँगै बस्ने, गाउँकै स्वच्छ हावापानीमा बुढ्यौली बिताउने योजना विदेशी नागरिकता, बुढ्यौली सुविधा, छोराछोरीको पढाइ, छोराछोरीको विदेशी घरजम, घर–गाडीको बिमा तथा ऋण जस्ता कुराले चकनाचुर बनाइदिन्छन्। नेपालको जग पूरै भत्काएर विदेशमा जग हालेको सन्दर्भमा उताको वैधानिक संलग्नता त्यागेर नेपाल आउन पनि नमिल्ने।

बिदेसिएकाहरूका लागि सबैभन्दा दुःखको कुरा हो– आफूहरू विदेशमा दुःख गर्ने, पैसा पनि कमाउने तर यता साहरा खोजिरहेका वृद्ध आमाबुबा देशमा सकसपूर्ण एक्लो जीवन बिताउन बाध्य हुने। आमाबुबा र छोराछोरीबीचको बाध्यात्मक बेमेल हो यो। यो बेमेलको अन्त्य कसरी गर्ने? संवेदनशील प्रश्न हो। यो बेमेलको अन्त्य भएन भने जति माया भए पनि आफ्ना आमाबुबाको अस्ताउँदो जीवनमा ती छोराछोरीले कहिल्यै साहरा दिन पाउने छैनन्। बेलैमा यस संवेदनाको सम्बोधन भएन भने आफ्ना वृद्ध आमाबुबाको साहराको त कुरै छोडौं, आफ्ना जन्मदाता अस्ताएको खबर सुनेपछि उतै बनावटी काजक्रिया गर्न छोराछोरी बाध्य हुनेछन्। त्यति बेला आफ्नो मालिक मर्‍यो भन्दै गोठका गाईवस्तु रोएको सबैले देख्लान् तर साथ खोजेका बेला साथ नदिने ती भौतिक सम्पन्न छोराछोरीको आँसु समाजमा कसैले देख्ने छैनन्। समाजले त्यति बेला देख्ने छ केवल ‘विकेन फन’ भन्दै रमाएका सामाजिक सञ्जालका तस्बिरहरू।

नागरिक न्युजबाट साभार छ ।