कालिका नगरपालिका–६ बाग्लुङ टोलका नारायण पौडेल पाँच वर्षअघि मौरीपालन व्यवसायमा सक्रिय छन्। भदौअघिसम्म पौडेलका सयको हाराहारीमा मौरीका गोला थिए। तर कमिला, अरिंगाल र चराबाट जोगाउन नसक्दा गोला ८० को हाराहारीमा झरेका छन्। ‘हामीलाई मौरी जोगाउनै मुस्किल छ। १५ दिनको अवधिमा २५ गोला खाली भइसके,’ उनले भने, ‘पानी आएको समयमा चुच्चे चराले मौरीलाई खाइदिएको छ। गोलामा चिनी रह्यो भने कालो कमिलाले एकै रातमा सखाप पार्छ।’ १२ वर्ष हाइड्रोपावरमा काम गरेका पौडेल राम्रो आम्दानी गर्ने सोचका साथ मौरी पालन व्यवसायमा लागेका हुन्।

भरतपुर महानगरपालिका–२५ का सुवासचन्द्र घिमिरेका मौरी पनि घट्दै गएका छन्। १८ वर्षदेखि मौरीपालनमा लागेका घिमिरेका भदौयता अरिंगालको प्रकोपले गर्दा मात्रै २६ गोला मौरी घटेका छन्। उनका ११६ गोला मौरी थिए। ‘अहिले ९० गोला मौरी मात्र छन्,’ उनले भने। जेठदेखि असोजसम्म किसानले मौरीलाई चिनी खुवाएर राख्ने गर्छन्। असोजदेखि चैतसम्म गोला विस्तार गर्न पनि सक्दैनन्। प्राकृतिक प्रकोप हुँदा मौरी संरक्षण गर्न मुस्किल हुने उनले बताए।

अहिले अधिकांश किसानलाई मौरी जोगाउन मुस्किल छ। रूपन्देहीबाट चितवन आएका नन्दलाल अर्याल पनि कमिला र चराले मौरी खाइदियो कि भन्ने चिन्तामा छन्। ‘८० गोला थिए। चितवन आएको पाँच दिन भइसक्यो, यसअघि १० गोला नष्ट भइसकेका थिए। यस अवधिमा कमिलाले कति खायो पत्तै छैन,’ उनल भने। उनी २० वर्षदेखि नै मौरीपालनमा लागेका हुन्। भेटेरेनरीसमेत रहेका उनले मौरी चराउन दाङ, कपिलवस्तु, प्युठानसम्म लैजान्छन्। यतिखेर उनका मौरी घरमै छन्।

मौरी भएको गोलालाई १० देखि १२ हजार रुपैयाँसम्म पर्ने गर्छ। तर एउटैको २० देखि २५ गोलासम्म नष्ट हुँदा किसान धेरै नै समस्यामा पर्दै आएका छन्। यही अवस्था रहे आफूहरू पलायन हुने अवस्थामा पुग्ने मौरीपालक किसान कृष्ण पौडेल बताउँछन्। ‘गत वर्षदेखि मह बिकेको छैन। अहिले मौरी पनि कमिला र चराले सक्दै लगेका छन्,’ उनले भने, ‘यही अवस्था रहिरहे हामी पलायन हुनुको विकल्प छैन।’ १० वर्षदेखि मौरीपालन व्यवसायमा लागेका पौडेलका १५० गोला मौरी थिए। तर ३० गोला मौरी नष्ट भइसकेको उनले बताए। यतिखेर उनले मौरी घरमा नै राखेका छन्।

नेपालमा मेलीफेरा मौरी १ लाख ३० हजार, सेरना मौरी १ लाख १७ हजार गरी २ लाख ४७ हजार गोला मौरी छन्। बर्खाका किसानहरू अरिंगाल, कमिला तथा चराको समस्यामा पर्ने गर्छ। तर अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष यो बढी समस्या देखिएको छ। नेपालमा वार्षिक ४ हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ। जसमध्ये चितवनमा २ हजार ६८ मेट्रिक टन उत्पादन हुने गरेको सरकारी तथ्यांक छ। तोरी र फापरको स्रोतबाट ३० प्रतिशत र अन्य स्रोतबाट ७० प्रतिशत मह उत्पादन हुन्छ। नेपालमा ८ हजार टन मह आवश्यक भए पनि बाहिरी मुलुकबाट भित्रिँदा नेपाली मह बिक्री हुन नसकेको किसानको भनाइ छ।

बजारमा हाल प्रतिकिलो ७०० रुपैयाँमा मह बिक्री हुने गरेको छ। यहाँ उत्पादित महको मुख्य बजार काठमाडौं हो। नेपालमा ४१३ टन मह बिक्री नभएको नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले बताए। उनका अनुसार सबैभन्दा धेरै चितवनमा १५० टन मह सञ्चित छ। दाङ, झापा, स्याङ्जा, सुर्खेत, कपिलवस्तु, रूपन्देही, मकवानपुर, पाल्पा, नवलपरासी लगायतका जिल्लाका किसानले मह बिक्री गर्न सकेका छैनन्। तोरी, चिउरी, फापर, मसला, जामुन, सिसौं, चिलाउने, कटुस, मियल, पैयुँ र रुदिलो मह उत्पादनका स्रोत हुन्। चितवनका किसानहरू मौरी चरणका लागि दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, प्युठान, बारा, पर्सा, रौतहट, सर्लाहीसम्म पु¥याउने गर्छन्। चरणको समस्या हुँदा किसानहरूलाई समस्या हुँदै आएको छ।

नागरिक न्युजबाट साभारछ ।