रोशन दिप – दशैंको माहोल सुरु भएसँगै हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा असोज २६ गते शुक्रबार देखी प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ ले नेपाली चलचित्र हेर्न मन नपराउने दर्शकलाई समेत धुरुधुरु रुवाएको खबरले अहिले चर्चा बटुली रहेको छ ।

एनएस सिनेमा हलका संचालक नवराज आचार्यका अनुसार बलियो ‘वर्ड अफ माउथ’ले गर्दा चलचित्रप्रति दर्शकहरुको मोह बढ्दै गएको कारण चलचित्रको व्यापार पनि बढी रहेको छ।

चलचित्रले दर्शकहरुलाई धुरुधुरु रुवाएकै कारण सिनेमा हलले चलचित्र हेर्न आउने दर्शकलाई आँसु थाम्न नसकेको खण्डमा रुमाल समेत वितरण गर्ने भएको छ । चलचित्रले उठाएको विषयवस्तुका कारण पारिवारिक दर्शकहरु हलमा बढी देखिएका छन् ।

बढ्दो युवा पलायन र त्यसले समाजमा पार्ने प्रभावको कथामा आधारित रहेको सो फिल्मले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिदै मन, मुटु, दिमाग सबै छोएर आँखा रुवाउन बाध्य बनाएको सो फिल्मले लोक संस्कृतिले लप्पकै लिपेको फिल्म हेरेर फर्किएका दर्शक बताउँछन्।

यस्तो फ्लेवरको तथा प्राविधिक पक्षमा पनि सबल रहेको फिल्म आजकल बन्न कम भएको भन्दै फिल्मबाट डेब्यू गरेका गायक प्रकाश सपूतको अभिनयको प्रशंसामा पनि शब्द खर्चिएका छन् ।
गीतसंगीतमा राम्रो क्रेज बनाएका सपूतले एकदमै राम्रो अभिनय गरेको दर्शकहरुको भनाइ छ । केकी अधिकारी र वर्षा सिवाकोटीले पनि राम्रो काम देखिएको दर्शकको दावी छ ।

प्रकाश सपूतको अभिनय हेर्दा पहिलो फिल्म हो जस्तो नलागेको र उनले गायनसँगै आगामी दिनहरुमा अभिनयमा पनि राम्रो गर्न सक्ने उनका प्रशंसकहरुको विश्वास छ ।

‘परदेशी २’ नेपाली फिल्म क्षेत्रमा एउटा कोशेढुंगा सावित हुने दर्शकले जिकिर गरेका छन् । फिल्मले देशको जल्दोबल्दो समस्या बोलेको बताउँदै अहिले देशमा युवाहरु नै न भेटिने अवस्था, विदेश पलायन भैरहेका अवस्था, घरमा पाहुना आउँदा बोल्ने समेत कोहि न भएको यो आम नेपालीको पीडालाई फिल्मले एकदमै अलग ढंगले देखाएको दावी धेरैको छ ।’

सकारात्मक प्रतिक्रिया मिलेपछि उत्साहित देखिएका निर्देशक रायमाझीले फिल्ममा घर घरको कथा रहेकोले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । त्यस्तै, अभिनेता सपूत, अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा सिवाकोटी फिल्मलाई रुचाइएकोमा खुसी देखिए ।

राजेश वंशल र निर्देशक रायमाझीको लगानी रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ।

फिल्मको कथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले तयार पारेका हुन्।
मानकृष्ण महर्जनले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।

टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।