पत्रकार सम्मेलनमार्फत कार्यक्रमको बारेमा जानकारी गराउँदै ।

हेटौंडा । हेटौंडा–१३,मा ८ औं पटक वृह्‌त साँस्कृतिक कार्यक्रम तथा दोस्रो पदमपोखरी ल्होछार महोत्सव हुने भएको छ । यही माघ २२ र २३ गते हेटौंडा–१३,ठूलोथलीस्थित गुम्बाडाँडामा मञ्जुश्री सम्वत् २८६२ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा वृह्‌त साँस्कृतिक कार्यक्रमसँगै दोस्रो ल्होछार महोत्सव हुने भएको हो । शुक्रबार सोनाम ल्होछार विशेष कार्यक्रम साँस्कृति समितिका संयोजक मदन कुमार गोलले पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको बारेमा जानकारी गराएका छन् । पहिलो दिनको कार्यक्रमको उद्धाटन वडाध्यक्ष पेम्बा लामाले गर्नेछन् भने कार्यक्रमको समापन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले गर्नेछिन् ।

तामाङको बहुलीयता भएको पदमपोखरीमा मनोरञ्जन गराउन, पर्व मनाउन विभिन्न उद्देश्यले साँस्कृतिक कार्यक्रम तथा महोत्सवको आयोजना गर्न लागिएको संयोजक मदन कुमार गोलेले बताए । विगत ७ वर्षदेखि १ दिने मात्र कार्यक्रम गर्ने गरेकोमा यस वर्ष २ दिन गर्न लागेको उनले बताए । उनका अनुसार यस वर्षको कार्यक्रम २ दिनसम्म सञ्चालन हुने भएकोले थप चुनौती र खर्च बढ्ने छ ।

१३ नम्बर वडा कार्यालयको मुख्य सहयोग तथा संस्कृतिक पर्यटन विकास मन्त्रालयको सहयोग रहने कार्यक्रममा तामाङले बनाएका खाना परिकारको, कपडाको लगायत अन्य विभिन्नगरी ४० वटा स्टलहरु रहने उनले बताए । कार्यक्रममा सहभागी हुने दर्शकहरुका लागि कुनैपनि शुक्त तीर्नु नपर्ने व्यवस्था मिलाइएको बताउँदै उनले भने–हामीले विगतदेखि नै कार्यक्रमको आयोजना गर्दै आएका छौं । विगतको वर्षमा पनि कार्यक्रममा उल्लेखनीय नै उपस्थिति रहन्थ्यो । तामाङ समुदायका मानिसहरु यहाँ हुने भएकोले यसवर्ष दर्शकहरुको उत्तिकै उपस्थिति रहने विश्वास गरिएको छ ।

कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकाहरुको प्रस्तुति रहने उनले बताए । उनका अनुसार पहिलो दिनको कार्यक्रममा जना सुमिना लो, सन्जीव घिसिङ, बीरु घलान र धिरेन लोप्चनको सांगीतिक प्रस्तुति रहने छ भने दोस्रो दिन सुरेश लामा अनिशा तामाङ, रिता तामाङ, मदन घलान र इमान लामाको प्रस्तुति रहने छ । कार्यक्रमलाई रवीन्द्र थिङले उद्धघोषण गर्नेछन् भने विशेष वक्ताको रुपमा काजीमान थिङ रहने छन् । हेटौंडा–१३ निवासी हाल र्पोच्युगल वसोवास गर्दै आएका सनमान गोलले विगत ७ वर्षदेखि कार्यक्रमका लागि आर्थिक सहयोग गर्दै आएका थिए । यस वर्षपनि उनले कार्यक्रमका लागि सहयोग गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा हेटौंडा–१०,स्थित होटल एभरेष्ट, ब्लु मुन र रोज कन्ष्ट्रेनस प्रालिको पनि सहयोग रहने छ । कार्यक्रम सम्पन्न गर्नका लागि १३ लाख रुपैयाँको बजेट खर्च हुने अनुमान आयोजकको रहेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी