म्यान अफ द म्याच शिवशक्ति महतोलाई पुरस्कार हस्तान्तरण गरिँदै ।

हेटौंडा । काठमाडौंमा जारी बागमती प्रदेशस्तरीय यु–१६ प्रतियोगितामा मकवानपुरका शिवशक्ति महतोले उत्कृष्ट प्रदर्शनी गरेका छन् । आइतबार काठमाडौंको माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मकवानपुरका शिवशक्ति महतोले उत्कृष्ट प्रदर्शनी गर्दा मकवानपुरले समूह चरणको खेलमा तेस्रो जीत हासिल गरेका छन् । समूह चरणको तेस्रो खेलमा मकवानपुरले ललितपूरको टिमलाई ८६ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको मकवानपुरले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २ सय २० रन बनाएका छन् । मकवानपुरका लागि शिवशक्ति महतोले ७५ बलमा ८२ रन बनाउँदै अर्धशतक प्रहार गरेका हुन् । आशिक अधिकारीले पनि ८५ बलमा ५३ रन बनाउँदै अर्धशतक बनाउन सफल भएका थिए ।

रोहित ठाकुरले १० बलमा १८ रनको योग्दान दिएका थिए । ललितपूरका करण सुनारले ४१ बलमा राजेश बोहोराले ५० बलमा समान ३÷३ विकेट लिएका थिए । यस्तै, प्रबल श्रेष्ठले ११ बलमा १ विकेट मात्र लिएका थिए । मकवानपुरले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको ललितपूरले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन मात्र जोड्न सफल भएको थियो । ललितपूरका जोय थापाले १ सय ९ बलमा ८७ रन जोडेको थियो । मकवानपुरका जमाल रेनले २७ बलमा सर्वाधिक ३ विकेट लिएका थिए । रोहित ठाकुर र शिवशक्ति महतोले २४ बलमा समान एक÷एक विकेट लिएका थिए । म्यान अफ द म्याच मकवानपुरका शिवशक्ति महतो घोषित भएका छन् । समूह चरणको ३ खेल खेलेर ३ खेलमै जीत निकालेको मकवानपुर ६ अंकसहित तालिकाको शीर्र्ष स्थानमा रहेको छ । भोलि सोमबार समूह चरणको चौंथो खेलमा मकवानपुरले नुवाकोटसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।