महाकवि विद्यापति भारत, बंगलादेश र नेपालमा सुपरिचित नाम हो। तसर्थ यी देशमा यिनलाई आ–आफ्ना देशका महान् कवि भनेर गर्व गर्दा रहेछन्। कवि कोकिल विद्यापति सम्पूर्ण मिथिलाञ्चलमा लोकप्रिय कविका रूपमा ख्यातिप्राप्त नाम हो, तर पाठकलाई आश्चर्य लाग्ला कि यी कवि काठमाडौं उपत्यकामा पनि उत्तिकै लोकप्रिय कविका रूपमा प्रसिद्ध छन्।

काठमाडौं उपत्यकाको मठ–मन्दिर र पाटी–पौवामा प्रसिद्ध यी कविताका विभिन्न पद आज पनि भजनमण्डलीमा उत्तिकै श्रद्धा र विश्वासका साथ गाइन्छन्। वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले यी मठ–मन्दिरमा गाइने दुईवटा लोकप्रिय लोकगीत आफ्ना हातले उतारेर मलाई दिनुभो र म छक्क परेँ।

यस्ता हजारौँ लोकगीत यहाँका मठ–मन्दिर र पाटी–पौवामा अचेल पनि गाइने लामो परम्परा जीवित छ। यसको संकलन र संरक्षणतिर न नेपाल सरकारको संस्कृति मन्त्रालय, न राष्ट्रिय नाचघर न त नेपाल प्रज्ञा प्रतिष्ठानको ध्यानाकृष्ट भएको छ। यी अमूल्य सांस्कृतिक निधिको अध्ययन र अनुसन्धान पनि अहिलेसम्म भएको पाइँदैन। यी अमूर्त सांस्कृतिक सम्पदातिर युनेस्कोको ध्यान आकृष्ट भएको थियो।

सन् १९४५ मा उसले ‘लभ संग्स अफ विद्यापति’ शीर्षकमा महाकवि विद्यापतिका प्रेमप्रधान गीतको अनुवाद गर्न लगाएका थिए र यो कृति प्रकाशित भएर पनि संसारभरिमा प्रसिद्ध भएको पाइन्छ। यसका अनुवादक हुन्, देवेन भट्टाचार्य र यसको भूमिका डब्बलू एच आर्चरले लेखेका थिए।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले दशकौं पूर्वअर्थात् २०२९ सालमा विद्यापति पदावलीको अनुवाद गर्न लगाएको थियो र यसका अनुवादक हुन्, कृष्णप्रसाद उपाध्याय। यस प्रकार महाकवि विद्यापतिले नेपाली साहित्यमा पनि सुपरिचित हुने अवसर प्राप्त गरेका छन्। युगकवि सिद्धिचरण श्रेष्ठले यी महाकविबाट अभिप्रेरित र अनुप्रेरित भएर एउटा कविता लेखेका छन्, जुन यस प्रकार छः

‘एक रात बसी यौटा गति गाई गयो परदेशी  

आफ्नू आशा विश्वास सबै खोलेर गयो परदेशी

विद्यापति भणित पदावली गाउन चतुर परदेशी  

छोटो क्षणमा अमर अनन्त घोली गयो सबेर उठी

धन्य छ मिथिला जसको प्रांगण विद्यापतिले  

गुंच्छ सधैं  

तिम्रो प्यारो हार्दिक धन यो रहनेछ नयाँ–नयाँ युग नै  

शिवसिंह तथा लखिमा लाखौं जन्मन्छन् अनि ती मर्छन्  

विद्यापति अमृत पाई जति मरे पनि ती ज्यूँछन्।  

(सिद्धिचरण श्रेष्ठः विद्यापतिका प्रतिनिसध गीत)  

साहित्य अकादमी दिल्लीले महाकवि विद्यापतिमाथि एउटा पुस्तक प्रकाशित गरेको पाइन्छ, यसले एउटा प्रशंसनीय काम गरेको छ। यसको नाम हो, ‘मोनोग्राम अन विद्यापति’ प्रसिद्ध लेखक डा. जयमन्त मिश्रले ‘द हिस्ट्री अफ मैथिली लिटरेचर’मा महाकविका बारेमा लेखेका छन्। यसबाहेक पनि उनले ‘विद्यापति एन्ड हिज कन्टेमपोरेरी पोइट्स’का बारेमा पनि एक अध्याय उक्त पुस्तकमा लेखेका छन्।

यस प्रकार महाकवि विद्यापतिका बारेमा असंख्य कृति अचेल पनि राष्ट्रिय अभिलेखालयमा रहेको हेर्न पाइन्छ। यी पुस्तकको प्रकाशनका लागि धेरै ठूलो लगानी आवश्यक पर्दैन, तर यसका लागि लगाव र लगन हुनु अति आवश्यक देखिन्छ। एउटा राष्ट्रका लागि यति लगानी लगाउनु धेरै ठूलो कुरा होइन। राष्ट्रिय अभिलेखालयमा संग्रहित विद्यापतिका कृतिहरूको छोटो जानकारी यहाँ प्रस्तुत गर्नु सान्दर्भिक नै होला।

विद्यापतिद्वारा हस्तलिखित पाण्डुलिपिहरू राष्ट्रिय अभिलेखालयको शोभा बढाइरहेका छन् र प्रकाशनको प्रतीक्षामा छन्।

पुरुष परीक्षाः यो देवनागरी लिपिमा लिखित पाण्डुलिपि कथा विधाको रहेछ। यसै शीर्षकका सात कृति छन्।

वैद्य रहस्यम्ः यो आयुर्वेदसम्बन्धी पुस्तक संस्कृत भाषामा लेखिएको छ। दुर्गाभक्ति तरंगिनी नामक दुईवटा अप्रकाशित पाण्डुलिपि पाइन्छ।

‘विद्यापति गीत’ संगीत विषयसित सम्बन्धित पाण्डुलिपि पनि दुईवटा पाइन्छ। यस्तै एउटै शीर्षकको कीर्तिपताका दुईभन्दा भिन्दै विषयवस्तुसित सम्बन्धित छ।

यस्तै दानवाक्यावली पनि यस शीर्षकका चारवटा पाण्डुलिपि पाइन्छ।

गोरक्ष विजय नाटकः महाराज शिवसिंहको अनुरोधमा लेखिएको नाटक विधाको कृति हो।

कीर्तिलता दुईवटा शीर्षकमा उपलब्ध छ। यसबाहेक माधवनल कथा मिथिलाक्षरमा लिखित पुस्तक पनि उपलब्ध छ।

महाकवि विद्यापति समानान्तर रूपमा संस्कृत, मैथिली र अवहट भाषामा लेख्नुहुन्थ्यो तर उहाँका अमरकृति विद्यापति पदावली जुन ‘देसिल बयाना सब जन मिठा’ लोकभाषामा लेख्नुभयो, त्यसले उहाँलाई सबैभन्दा लोकप्रिय कविका रूपमा स्थापित गरिदियो।

मैथिली नै त्यो लोकभाषाको प्राञ्जल, परिष्कृत र परिमार्जित भाषा हो र त्यसको प्रत्यक्ष उदाहरण प्रस्तुत गर्दछ, विद्यापतिको पदावली। यस काव्यकृतिमाथि संस्कृतका प्रसिद्ध कवि जयदेवको ‘गीत गोविन्द’को प्रशस्त प्रभाव परेको प्रतिलक्षित हुन्छ। ‘गीत गोविन्द’ पनि शृंगारप्रधान रचना हो र पदावलीमा पनि प्रचुर शृंगार रस प्रधान पद समाविष्ट छन्। तसर्थ विद्यापतिलाई अभिनव, जयदेवको उपाधिबाट पनि विभूषित गरिएको छ, जुन सर्वथा स्वाभाविक र सुहाउँदो खालको पदवी हो।

विद्यापति पदावलीमा शृंगारिक रचनाहरूको वर्चस्व र प्राधान्य प्रष्ट रूपमा प्रतिभासित भएको पाइन्छ।

शृंगार रसमा सराबोर भएको एक पद उपर्युक्त कथनको समर्थनमा प्रस्तुत गरिन्छः

“कामिनी करए सनने  

हेरतई हृदय हनय पंच बाने  

चिकुर गरए जल धारा  

जनि मुख–ससि डर रोअए अंधारा 

यस्ता यस्ता असंख्य शृंगारिक संचेतनाबाट संपृक्त पदहरू विद्यापति पदावलीमा पाइन्छन्, जसबाट के प्रस्ट हुन्छ भने विद्यापति मुख्यतः र प्रधानतः शृंगारिक कवि नै थिए। समीक्षकहरूमा अहिलेसम्म मतभिन्नता पाइन्छ कि विद्यापति शृंगारिक कवि थिए कि भक्त कवि। विद्यापतिले राधा र कृष्णको बीच प्रेमप्रसंग, हास–परिहास, नोकझोक, केलीकीडाका असंख्य सुन्दर चित्र चित्रित गरेको पाइन्छ भने उनले भक्तिरस प्रधान पदावलीहरू पनि प्रशस्त मात्रामा रचेका छन्। प्रस्तुत छ, केही भक्तिरस प्रधान पदहरू जसबाट उहाँलाई भक्त कवि पनि भन्न सकिन्छ। जीवनको सन्ध्याकालमा उहाँलाई धेरै निराशपूर्ण क्षणको अनुभूति भएको थियो। यस्तै एउटा पदमा उनले यस्तो भावना अभिव्यक्त गरेका छन्ः

माधव हम परिनाम निरासा  

तातल सैकत वारिविन्दु सम सुत वित रमनी समाजे  

तोही–बिसारी मन ताही समरपलहुँ  

अब मोहे होत कोन काजे  

जीवनको अन्तिम समयमा उनले संसारको निसारताको घनीभूत पीरलाई यसरी प्रस्तुत गरेको पाइन्छः

‘वुद्धा बुझथु संसार विलास  

पल पल नारा तरहक त्रास।’

यस्तै उनले संसार प्रसिद्ध पवित्र नदी गंगाको स्तुति सराहनीय पारामा गरेका केही पंक्ति यहाँ प्रस्तुत गरिन्छन् ः

‘बड सुखसागर पाओल तुअ तीरे  

छाडइत निकट नयन बह नीरे।’  

जीवनको अन्तिम बेला शृंगाररस प्रधान पद रच्दारच्दै उहाँमा जीवनको अन्तिम सत्यको आभास आभासित भएको पाइन्छ। शृंगार रसमा चुर्लुम्म डुबेका विद्यापति भक्तिभावको धारामा आवगाहन गरेको अनुभूति उपर्युक्त केही पंक्तिहरूमा अभिव्यक्त भएको पाइन्छ। यसले गर्दा विद्यापतिलाई शृंगारिक र भक्त कवि दुइटै भन्दैमा केही अतिशयोक्ति एवम् अनावश्यक आरोप लाग्दैन। यसबाहेक पनि उहाँ अद्र्धनारीश्वरको पनि अर्चना, आराधना र उपासना गरेर आफ्नो आतमानुभूतिलाई यसरी अभिव्यक्त गरेका छन्ः

‘जय जय शंकर, जय त्रिपुरारी  

जय आध पुरुष, जयति आध नारी

आध धवल तनु, आध गोरा  

आध सहज कुच, आध कटोरा  

भने कविरतन, विधाता जाने।  

दुई कए बाँटल, एक पराने।

भल हर भल हरि, भल तुअ कला।  

खन पीत बसन, खनहि बघछाला।’

महाकवि विद्यापतिलाई जीवनको शाश्वत, चिरन्तन र चिरशाश्वत सत्यको पहिचान पनि अन्तिम समयमा भएको पाइन्छ। उनले समकालीन समय यथार्थको पनि अनुभव गरेका थिए। यस सत्यतथ्यलाई पनि उनले आफ्नो जीवनकालमा अनुभव गरेर सोको वर्णनमा पनि पछि परेका छैनन्। यसबाट के प्रस्ट हुन्छ भने उनको समयमा पनि धनीको इज्जत प्रतिष्ठा समाजमा हुन्थ्यो र गरिब गुरुवाको अवहेलना। उनले आफ्नो जीवनको कटुमधु अनुभव अभिव्यक्त गर्दा केही संकोच गरेका छैनन् जस्तो लाग्छः

‘धनिकक आदर सभ तहँ होय।  

निरधन बापुर पुछएन न कोय।’

आफ्नो कर्म मात्रै आफूसँग जान्छ चाहे जतिसुकै धन–धान्यको चाङ मनिसले किन नलगाओस्।

जतने जतेक धन पाए बटोरल मरनक बेरि हरे कोन पुछए  

हिलि मिलि परिजन खाए। करम सँग चलि जाए।  

शताब्दी पुरुष तथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नो हस्तलिखित उतार गरेर मलाई दिएको दुई पद जुन महाकवि विद्यापतिबाट विरचित छन्,

यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु। यस लेखको शीर्षक पनि विद्यापतिद्वारा विरचित एउटा गीतबाट लिइएको जुन बगलामुखी जाने बाटोमा लेखक स्वयंले रेकर्ड गरेको हो।

सन्ध्या आरती  

राग जयश्री ताल चो  

नाथ महादेव भोला रंगे १

तेतिसकोटी देव ठाकुर संगे, नाथ महादेव भोलारंगे।।धु।।

फणिमाणे हाल गले रुद्रमाला, अंग विभूति वढे बाघ छाला।।१।।  

त्रिशूल खद्वा· डमरु शोभे हाथे चन्द्रकला जटाशोभे माथे।।२।।

तेतिसकोटी देव आरती गावे सन्ध्या पर्वती चवर दुलाये।।३।।

देवी भवानी म·ल गावे भोलानाथ सेवासे नवनिधि पाये।।४।।  

भनय विद्यापति आरती गावे सब दुःख हरलेओ गौरामाता।।५।।  

कवि कोकिल  

विद्यापति म्य चिनातःगु भ्येँ  

(कविकोकिल विद्यापतिद्वारा विरचित गीत,

राग काफी।।चो।।  

बुधवा रंगीया भंगीया भोला रे

चन्दन तिलक शोभे माथ द्वि ज्वलाये।।धु।।  

बाजे लागे डमरु डिमिडिमि मकिया  

नाच लागे बुधवा उमंगी उमंगीया।।१।।

अष्ट सिद्धि गले माला नागर लीला  

भष्म त्रिया (शिव) गले रुद्र माला।।२।।  

भनय विद्यापति शिवजीके लीला  

जैयाव जगतपति जैया व लीला।।३।।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो