हेटौंडा । हेटौंडा बजार क्षेत्रको राजमार्ग सडक विस्तार कार्य सम्पन्न भएपछि नगर प्रमुख मीनाकुमारी लामाले प्रभावित नागरिकको पुनर्निर्माण र राहतसम्बन्धी विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएकी छन् । लामाका अनुसार सडक विस्तार प्रक्रिया चुनौतीपूर्ण भए पनि स्थानीयको साथ, सरकारी निकायको समन्वय र निरन्तर प्रयासका कारण सामान्य काम टुंगिएको हो ।

आइतबार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले मन्त्री कुलमान घिसिङ, बागमती प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक डिभिजन कार्यालय, सुरक्षा निकाय, स्थानीय युवासमुदाय तथा उपमहानगरका जनप्रतिनिधि–कर्मचारीप्रति धन्यवाद व्यक्त गरिन् । नगर प्रमुख लामाले सडक विस्तारबाट घर तथा संरचना प्रभावित भएकालाई लक्षित गर्दै उपमहानगरले ल्याएका प्रमुख योजना अन्तर्गत घर तथा संरचना पुनर्निर्माणका लागि सहुलियत ऋण उपलब्ध गराउन संघीय तहमा पहल गर्ने विश्वास दिलाइन् ।

नक्सा पास तथा निर्माणसम्बन्धी कानूनी प्रक्रिया छिटो टुंग्याउने व्यवस्था, प्रभावित व्यवसायीका लागि व्यवसाय कर छुट दिलाउने तयारी र घरबारविहीन बनेकाहरूका लागि आवास व्यवस्थापनमा नगरपालिका स्वतः सक्रिय रहने उनले बताइन् । २००० वर्गफुटसम्मको नक्सा पास दस्तुर छुट प्रस्ताव नगरसभामा पठाउने निर्णय भएको उनको भनाई छ ।

यस्तै, व्यवसाय सञ्चालन सहज बनाउन सरोकारवाला निकायसँग समन्वय गरी व्यवहारिक समाधान खोजिने नगर प्रमुख लामाले बताइन् । लामाले सडक विस्तारसँगै हेटौडाको ऐतिहासिक, सांस्कृतिक तथा शहरी संरचना पुनर्संरचनाको आवश्यकता रहेको उल्लेख गर्दै शहरलाई व्यवस्थित र सुरक्षित बनाउनेतर्फ नगरपालिका लाग्ने बताइन् ।

आइतबार बसेको उपमहानगरको कार्यपालिका बैठकले प्रस्तुत प्रस्तावहरू नगरसभामा टुंग्याउन पेस गर्ने निर्णय गरेको उनको भनाई छ । नगर प्रमुख लामाले अन्त्यमा सबैलाई पुनर्निर्माण कार्यमा साथ दिन आग्रह गर्दै भनिन्— “अबको प्राथमिकता प्रभावित नागरिकलाई सहयोग र पुनर्निर्माणलाई गति दिनु हो ।”

रातो समाचार संवाददाता
थप जानकारी