कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले हेटौंडा २ स्थित पल्पसा हल रोडमा प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठको सम्पर्क सचिवालयको उद्घाटन गर्दै उनले जिल्लाको नेता कार्यकर्ता तथा जनताको साथै रहेर आगामी राजनीतिक यात्रालाई अगाडि बढाउने उनले प्रतिबद्धता जनाइन् ।

हेटौंडाको सडक विस्तारको विषयमा धारणा राख्दै उनले घरधनीलाई क्षतिपूर्ती र व्यवसायीको उचित व्यवस्थापन गर्न जरुरी रहेको बताइन् । ‘हेटौंडाको सडक विस्तारको कुरा सुन्दै आएको बर्षौं भैसकेको छ । प्रदेशको राजधानीलाई दिगो र विकसित हेटौंडा बनाउनु आजको आवश्यकता हो’, डिनाले भनिन्, ‘क्षतिपुर्ती नपाएकाहरुलाई उचित क्षतिपुर्ती र व्यवसायीको उचित व्यवस्थापन हुनु जरुरी छ ।’

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले कांग्रेसको पीरमर्का र समस्या समाधानमा सम्पर्क कार्यालय सहयोगी हुने विश्वास व्यक्त गरे । आम निर्वाचनमा कांग्रेसका केन्द्रीय सहमहामन्त्री डिना उपाध्यायले हार्नु मकवानपुरको लागि अभिसाप भएको उनको भनाई थियो ।

कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु रामकृष्ण चित्राकार, तीर्थ लामा र उत्तम जोशीले सम्पर्क सचिवालयमार्फत आउने जनताका जायज समस्या समाधानका लागि तयार रहेको बताए । सचिवालयले मन्त्री र सांसद्हरुलाई कांग्रेसका नेता कार्यकर्ता तथा जनतासँग जोड्न सघाउ पुग्ने उनीहरुको भनाई थियो ।

बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठक, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, नेवि संघ मकवानपुर अध्यक्ष भिषण ठकुरी, नेपाल महिला संघ जिल्ला सचिव निलम देवकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश सांसदहरु तथा कांग्रेसका नेताहरुको आतिथ्यता रहेको थियो ।