हेटौंडा/भूमि आयोगका केन्द्रीय उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नहेन्द्र खड्काले १५ लाख बढि परिवारको भूमि सम्बन्धि समस्या समाधान गरिने बताएका छन् । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र मकवानपुरले हेटौंडा ११ मा बुधबार आयोजित भूमि समस्या सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले भने, ‘हामी लालपूर्जाको राजनीति अन्त्य गर्नेगरी काम गरिरहेका छौं । त्यसको लागि स्थानीय तहहरु मार्फत धमाधम काम भइरहेको छ ।’

 

खड्काले भूमि सम्बन्धि समस्या समाधानको लागि सातसय १४ स्थानीय तहसँग सहकार्यको सहमति भएको र धेरै स्थानीय तहहरुले जग्गा नापजाँचको काम गरिरहेको बताए । हालसम्म आयोगले चार हजार तीनसय २८ लालपूर्जा बितरण गरिसकेको र देशभरबाट हालसम्म १३ लाख ५० हजार भूमिहिन र अब्यवस्थित बसोबासीहरुले निवेदन दिएको खड्काले बताए । आयोगले मकवानपुरमा बागमती गाउँपालिकाबाट लालपूर्जा बितरणको काम सुरु गरेको छ । हेटौंडा ११ मा रहेका भूमिहिन तथा अब्यवस्थित बसोबासीहरुको पनि जग्गा नापजाँचको काम सकेर थप प्रक्रिया अघि बढाइएको उनले बताए । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले संविधानमा भूमिहिनहरुको अधिकार लेख्न माओवादीले पहल गरेको र सोही आधारमा भूमि आयोगमार्फत भूमिहिन तथा अब्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न काम भइरहेको बताए ।

 

कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष सर्केश घलान, सचिव भीम पाख्रिन, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, भूमि आयोग मकवानपुरका सदस्य कमला बिक, नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटिका इन्चार्ज विवेक राई,नगर उपाध्यक्ष प्रदिप अर्याल, नेताहरु कमानसिं पाख्रिन, अरुण बल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा ११ का भूमिहिन तथा अब्यवस्थित बसोबासीहरुको सहभागिता रहेको थियो ।