जिल्लाका अधिकांश सामुदायिक विद्यालयका व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधिलगायत विद्यार्थी भर्ना अभियानअन्तर्गत गाँउगाँउमा विद्यार्थी खोज्दै हिँडेका बेला उदयपुरको गाईघाटस्थित त्रियुगा नमुना विद्यालयलाई भने विद्यार्थीको चाप थेग्न हम्मेहम्मे परेको छ ।
१० वर्षअघि देखि अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुँदै आएको त्रियुगा नमुना माध्यमिक विद्यालयमा यस वर्षको नयाँ शैक्षिक सत्रमा अंग्रेजी माध्यममा भर्ना हुने विद्यार्थीको चाप अत्यधिक बढेपछि प्रवेश परीक्षा लिइएको विद्यालयका प्रधानाध्यापक सुवास बिष्टले जानकारी दिए ।
विद्यालय प्रशासनका अनुसार यस वर्षको शैक्षिक सत्र सुरु हुने बितिकै ६ सयभन्दा बढीले प्रवेश परीक्षा दिएका थिए । विभिन्न कक्षामा पढाइ सुरु भइसके पनि अझै नयाँ विद्यार्थी भर्ना हुन आउने क्रम निरन्तर रहेकाले २० वैशाखमा परीक्षा लिने योजना बनाएको प्रधानाध्यापक सुवास बिष्टले जानकारी दिए ।
शिशु कक्षादेखि १२ कक्षासम्म सञ्चालन हुँदै आएको यस विद्यालयमा १ कक्षादेखि १२ कक्षासम्म अंग्रेजी माध्यामद्वारा पढनपाठन हुने गरेको प्रधानाध्यापक बिष्टले बताए । विद्यालयमा ६ कक्षादेखि १२ कक्षासम्म नेपाली माध्यामद्वारा पनि कक्षा सञ्चालन हुने गरेको छ । सो विद्यालयमा फरक क्षमताका तीनवटा कक्षा सञ्चालन हुँदै आएको छ ।
विद्यालयमा १ कक्षादेखि ६ कक्षासम्म दिवा खाजाको व्यवस्था रहेको छ । विद्यालयको कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन, विज्ञान, कानुन, आमसञ्चार संकाय र सिभिल इन्जिनियरिङको पढाइ हुँदै आएको प्रधानाध्यापक बिष्टको भनाइ रहेको छ ।
विद्यालयमा अहिले नयाँ भर्नाबाहेक ३ हजार २ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ । नयाँ भर्ना ३ सय ९६ जना थपिँदा करिब ३ हजार ५ सय विद्यार्थी अध्यायनरत रहेका छन् ।
भौतिक पूर्वाधारयुक्त विद्यालय पर्याप्त विषयगत दक्ष शिक्षक–शिक्षिका प्रविधिमैत्री कक्षा विषयगत प्रयोगशाला खेल परिसर भएकाले विद्यार्थीको आकर्षणको केन्द्र बनेको प्रधानाध्यापक बिष्टको भनाइ रहेको छ । विद्यालयको क्षमताले धान्न नसक्ने भएकाले विगत आठ वर्षदेखि विद्यालयले प्रवेश परीक्षा सञ्चालन गर्दै आएको प्रधानाध्यापक बिष्ट बताउँछन् ।
जिल्लामै पहिलो अंग्रेजी माध्यमबाट पढाउने सामुदायिक विद्यालय यही नै हो । कोसी प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा रहेको यो विद्यालय जिल्लाकै अब्बल शैक्षिक संस्थाका रूपमा चिनिन्छ । सुविधा सम्पन्न भौतिक संरचना, पुस्तकालय, गुणस्तरीय र परिणाममुखी शैक्षिक वातावरणका कारण यस विद्यालयमा विद्यार्थीको अत्यधिक चाप हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद पाण्डेको भनाइ छ ।
विद्यालय सुधारका लागि २२ बुँदे कार्ययोजना बनाएर जिम्मेवारी बाँडफाँट गरी काम भइरहेको अध्यक्ष पाण्डेले जानकारी दिए । विद्यालय परिसरमा खेलकुद परिसर निर्माण गरिएको जसमा फुटबल, भलिबल छात्राछात्र ब्याडमिन्टन कोट, टेबुलटेनिस कोट, बास्केटबलको कोट रहेको अध्यक्ष पाण्डेको भनाइ छ । चालू शैक्षिक सत्रदेखि प्रत्येक शुक्रबार अनिवार्य रूपमा अतिरिक्त क्रियाकलाप गरिने कक्षाकोठाको अभाव रहेको स्थानीय तहले विद्यार्थी संख्याका आधारमा दरबन्दीको व्यवस्था नगरेको तथा अन्य सहयोग नगरेको अध्यक्ष पाण्डेको गुनासो रहेको छ । विद्यालयमा आन्तरिक स्रोतका समेत गरी ५२ जना शिक्षक–शिक्षिका तथा विद्यालय कर्मचारी कार्यरत रहेको अध्यक्ष पाण्डेले बताए । शैक्षिक वातावरण उत्कृष्ट भएको विद्यालय ३ बिघा ५ कट्ठा क्षेत्रफलमा फैलिएको छ ।
राजधानी दैनीकबाट साभार गरिएको छ ।























प्रतिक्रिया दिनुहोस्