हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता बैशाख १७ गतेबाट हुने भएको छ । बागमती गाउँपालिका वडा नम्बर–४,झुरझुरेस्थित सहिद स्मृति रंगशालामा बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो । मंगलबार बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले पत्रकार सम्मेलनको आयोजना गर्दै बैशाख २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने जानकारी गराएका छन् ।

प्रतियोगितामा आयोजक बागमतीसहित विदेशी मलेसियाको पेनाङ फुटबल क्लब, ५ वटा ए डिभिजन क्लबहरु चर्च ब्वाईज युनाइटेड, मछिन्द्र क्लब, एपीएफ, त्रिभुवन आर्मी, फ्रेन्ड क्लबको सहभागिता रहने छ भने अन्य प्लानिङ ब्वाईज युनाइटेड, बागमती युथ क्लब, जीतपुर सिमरा क्लबको सहभागिता रहने छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेता टिमलाई ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार प्राप्त गर्नेछन् । । गोल्डकपका लागि पालिकाले ५० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए ।

पत्रकार सम्मेलनमा बागमती–३ का वडाध्यक्ष कमान सिं पाख्रीन, ४ नम्बरका वडाध्यक्ष दन्तलाल माझी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, एन्फा मकवानपुरका सदस्य आलोक स्याङ्तन, खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति लामा र सदस्य आकाश लोप्चन लगायतको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी