हेटौंडा । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकामा १० औं संस्करणको सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । श्री नव युवा क्लबको आयोजनामा तथा बर्दघाट नगरपालिकाको संरक्षणमा शुक्रबारबाट सुरु भएको सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिताको उद्धाटन खेलमा मकवानपुरको हेटौंडा फुटबल एकेडेमीले जीत निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो तथा उद्धाटन खेलमा गोलरक्षक अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा चितवन जिल्लाको हार्दिक युवा समाजलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले सहजै पराजित गर्दै मकवानपुरको हेटौंडा फुटबल एकेडेमी सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समय अवधीभर दुबै पक्षको टिमबाट कुनै पनि गोल हुन नसकेपछि नतीजाका लागि पेनाल्टी सुटआउटको सहारा लिनुपरेको थियो ।

हेटौंडा फुटबल एकेडेमीको तर्फबाट ४ जना खेलाडी कुमार लामा, गणेश बुढाथोकी, सञ्जय लामा र अभिन योञ्जनले प्रहार गरेको बल क्रमशःगोलमा परिणत हुन सफल भएको थियो भने चितवनको हार्दिक युवा समाजको तर्फबाट ज्ञान पुलामीले पहिलो चरणमा मैदानमा प्रवेश गरेर प्रहार गरेको बल मात्र गोलमा परिणत हुँदै सान्त्वना गोल हुन पुगेको थियो । यस्तै चितवनको हार्दिक युवा समाजबाट दोस्रो र तेस्रो पटक सुरज क्षेत्री र सौरभ तामाङले प्रहार गरेको बललाई हेटौंडा फुटबल एकेडेमीका खेलाडी अस्मिर गोङ्गबाले उत्कृष्ट प्रदर्शनीकासाथ सहजै रोक्दिएका थिए ।

बर्दघाट १६ स्थित सूर्यनगर रंशगालामा सुरु भएको प्रतियोगितामा ८ वटा टिमहरु हेटौंडा फुटबल एकेडेमी र हार्दिक युवा समाजसहित रुपन्देही जिल्लाको देवदह ब्वाइज, पर्सा जिल्लाको वीरगञ्ज युनाइट, आयोजक, नवलपुरको अभिषेक चर्च, सर्लाही जिल्लाको बागमती युथ क्लब र छिमेकी मूलूक भारतको एमएएससी लगायतका क्लबहरुको सहभागिता रहेको एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी गराएका छन् ।

खेलको म्यान अफ द म्याच हेटौंडा फुटबल एकेडेमीकै अस्मिर गोङ्गबा घोषित हुँदै ३ हजार रुपैयाँको नगद पुरस्कार तथा ट्रफी प्राप्त गरेका छन् । अब हेटौंडा फुटबल एकेडेमीले सेमीफाइनल प्रवेशका लागि बैशाख १ गते रुपन्देही जिल्लाको देवदह ब्वाइज र पर्सा जिल्लाको वीरगञ्ज युनाइटेडबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । उक्त खेलमा जित निकाले हेटौंडा फुटबल एकेडेमीको टिमले फाइनलको यात्रा पूरा गर्नेछन् ।

प्रतियोगिताको उपाधि विजेता टिमले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै,विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख ४ गते हुने आयोजकले जानकारी दिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी