हेटौंडा – हेटौंडा उपमहानगर -९, स्थित ओम टोलमा रहेको – १ घरबाट शुक्रबार विश्वकै सबैभन्दा विषालु र लामो किङ्ग कोब्रा सर्प उद्धार भएको छ ।

विश्वकै सबैभन्दा विषालु प्रजातिमा पर्ने किङ्ग कोब्रा सर्प ४ दिनको अवधीमा मात्रै मकवानपुर जिल्लाको केही स्थानमा भेटिने क्रम बढ्दै गएको छ ।

गर्मी समय सुरु भएसँगै  बैशाख १ गतेदेखि ४ गतेसम्मको अवधीमा बागमती गाउँपालिकाका, थाहा नगरपालि, हेटौंडा उपमहानगरमा किङ्ग कोब्रा सर्प भेटिएको हो।

शुक्रबार मकवानपुरका सर्प उद्दारकर्ता राजेश थापा “गरिब” ले हेटौंडा वडा नम्बर–९, वडा कार्यालयमा कार्यरत आशिष खतिवडाको मामाघरबाट करिब १२ फिट लामो किङ्ग कोब्राको सकुशल उद्दार गरेका हुन् ।

घरभित्र सर्प पसेको खबर गरेपछि उद्दारकर्ता गरिब सो स्थानमा पुगेर करिब २ घण्टाको परिश्रममा कुशलतापूर्वक सर्पको उद्दार गरेका हुन् ।

स्थानीय वासिन्दाहरु सहित घरका मानिसहरु त्रसित भएको अवस्थामा जोखिम मोलेर सर्पको सकुशल उद्दार गरेर मानव र सर्पको दुबैको सुरक्षा गरेको भन्दै स्थानीयहरुले खुशी व्यक्त गरे ।

उद्दार गरेको उक्त किङ्ग कोब्रा सर्पलाई डिभिजन वन कार्यालयको समन्वयमा हेटौंडा -९, का वडा सदस्य, ओमटोल विकासका अध्यक्ष राजेन्द्र कुमार सापकोटा लगायत स्थानीयको रोवहरमा मानव बस्तीभन्दा टाढा निकुञ्ज जंगलक्षेत्रको सुरक्षित स्थानमा छाडिएको छ ।

नयाँ वर्षको सूरुसँगै बैशाख १ गते उद्दारकर्ता “गरिब” ले बागमती गाउँपालिकाको साततल्लेबाट किङ्ग कोब्रा उद्दार  गरेका थिए । डेढ वर्षको अवधिमा उनको समुहले मात्रै झण्डै ९ वटा किङ्ग कोब्रा सर्पको उद्दार गरिसकेका छन् ।

यस अघि हेटौंडा उपमहानगर ९,१० र १९ नम्बर वडाबाट १–१ वटा र हेटौंडा–१६ बाट २ वटागरी ४ वटा र मकवानपुरगढी गाउँपालिकाबाट किङ्ग कोब्रोको उद्दार गरेर वन कार्यालय सँगको समन्यवमा सुरक्षित स्थानमा छाडेको बताएका छन् ।

मकवानपुरमा रहेर पत्रकारिता गरेसँगै सर्प उद्धारामा खटिएका राजेश गरिब र रोशन दिपले हाल सम्म १७ प्रजातिका सर्पहरु उद्धार गरिसकेका छन् । मानव वस्तीको घरभित्र पसेको सर्प उद्धार गरेर सम्बन्धितसंगको समन्वयमा मानव वस्तीभन्दा टाढा जंगलक्षेत्रमा छाड्ने गरेको बताउँछन् । सर्पहरूले वातावरण सन्तुलन कायममा  महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले सर्पको संरक्षण गर्न आवश्यक रहेको सर्प उद्दारकर्ता “गरिब” बताउँछन् ।

विश्वकै सबैभन्दा ठूलो, लामो र विषालु सर्प प्रजातिमध्ये एकमा पर्ने किङ कोब्रालाई राजगोमन र कालीनाग पनि भनिन्छ । किङ्ग कोब्रा आहारकालागि सर्पलाईनै शिकार बनाउछ । सर्प खाने सर्प भएकाले यसको वैज्ञानिक नाम ओफियोफेगस हाना हो । यसको टोकाइमा पाइने न्यूरोटक्सिक भेनम विष अत्यन्त घातक हुन्छ । किङ्ग कोब्राको एक पटकको टोकाइले करिब २१ जना मानिस वा एउटा हात्तीलाई मार्न सक्छ ।

तर, पनि किङ्ग कोब्रा सर्पले हत्तपत्त मानिसहरुलाई टोक्न खोज्दैन । मानिसहरुबाट सकेसम्म टाढा बस्न रुचाउँने किङ्ग कोब्रा मात्र एउटा यस्तो सर्प को जसलाई देख्नसाथ बाघ हात्ती जस्ता ठूला जनावहरु पनि पछि सर्छन ।

अहिलेसम्म मकवानपुरमा हेर्नेहो भने विषालु सर्पहरु किङकोब्रा, मोनोस्लेड कोब्रा, स्पेटिकल कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रिन पिट भाइपर, रेडनेक किलव्याक भेटिने गरेको छ ।

त्यस्तैगरि अविषालु सर्पहरु अजिंगर सहित कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, बफस्ट्रीप्ड किलव्याक, ब्रोन्जब्याक ट्रि स्नेक, चेकर्ड किलव्याक स्नेक, र्याट स्नेक, त्यस्तैगरि हल्का विषालु सर्पहरुमा फ्रोस्टेन क्याट स्नेक, अर्नेट फ्रलाईङ्ग स्नेक, कमन क्याट स्नेक भेटिने गरेका छन् ।

सर्प विशेषज्ञहरूले गरेको खोजअनुसार नेपालको दुई हजार मिटरसम्मको उचाइमा पनि सर्पहरू पाइने गरेका छन् ।