बागमती प्रदेशको राजधानी हेटौंडामा यही चैत २ गतेदेखि प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी हुँदैछ । बुधबार हेटौंडा–२ स्थित पल्पसा हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले चैत्र २ गतेदेखि ६ गतेसम्म पल्पसाको सदनमा हुन लागेको प्रदेशस्तरीय महिला उद्यमी प्रर्दशनीको बारेमा जानकारी दिएको छ ।

महिला उद्यमी समितिको आयोजनामा ११ वर्षपछि “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला प्रदर्शनी गर्न गर्न लागेको आयोजकले जनाएको छ । मकवानपुर जिल्ला भित्रको उत्पादनलाई विकास गर्ने उद्देश्यले आयोजना गर्न लागेको प्रदर्शनीमा ३७ वटा स्टलहरु रहने बताइएको छ । प्रदर्शनीका लागि मकवानपुर, सिन्धुली, चितवन, काठमाडौँ, नुवाकोट र ईटहरीका उद्यमीहरुले स्टल बुकिङ गरेका छन् ।

प्रदर्शनी समय अवधीभर महिला उद्यमीहरुको बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक प्रस्तुति र कृषि सम्बन्धी खुल्ला अन्तक्रिया कार्यक्रम हुने जनाएको छ ।