राजकुमार मोक्तान ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिले आगामी फागुन ११ गतेदेखि फागुन १३ गतेसम्म १६ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग प्रतियोगिताको आयोजना गर्दैछ । जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मकवानपुरका १० वटा पालिकाले आयोजना गरेर सम्पन्न गरेको राष्ट्रपति प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, बकैया गाउँपालिका,मनहरी गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी लगायतका पालिकाहरुमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएसकेको छ भने हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिकासहित अन्य केही पालिकाहरुमा प्रतियोगिता हुन बाँकी रहेको छ । समितिले मकवानपुरका १० वटै पालिकाहरुलाई खेलाडी छनोट कार्यक्रम सम्पन्न गरेर प्रतियोगितामा खेलाडीलाई सहभागी गराउन आव्‌हान गरेको छ । गत भदौ महिनाको २३ र २४ गते भएको जेनजी आन्दोलनको कारणले खेलकुदको भवनमा क्षति पुगेपनि खेलकुदको गतिविधिलाई अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो । जिल्ला खेलकुद विकास समितिको बैठकको निर्णय अनुसार हुन लागेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी कसरी हुँदैछ ? खेललाई वृह्‌त तरिकाले कसरी लाग्ने सकिन्छ भन्ने विषयमा केन्द्रीय रहेर जिल्ला खेलकुदका अध्यक्ष राजकुमार मोक्तानसँग रातो समाचारकर्मी राजेश थापा (गरिब)ले गर्नुभएको कुराकानीको केही अंशः

राजेशः जेनजीको आन्दोलनपछि मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन क्षतिग्रस्त भएको छ । तर पनि खेलकुदको गतिविधिलाई अगाडि बढाउने मन भावनाका साथ यसको बारेमा केही जानकारी गराउनुन ?

राजकुमारः सर्वप्रथम त नितान्त रुपमा यो नेपाल सरकारको वार्षिक कार्यक्रम हो । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुन लागेको १६ औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा जिल्ला भित्र रहेका स्थानीय तहका सामुदायिक र संस्थागत विद्यालयहरु त्था स्थानीय सरकाहरुसँग समन्वय गरेर पिछ्डिएका खेलाडीहरु ,विद्यार्थीलाई भविष्यमा पहिचानको कुरालाई जोडेर खेलबाट पनि जीवन यापन गर्न सकिन्छ भन्ने हिसाबले प्रतियोगिताको आयोजना गर्न लागेका हौं । जसमा छात्र/छात्रा खेलाडीहरुले सहभागिता जनाउन पाउनेगरी ६ विधाका खेलहरु सञ्चालन गरिने छ । भलिबल, कबड्डी, एथ्लेटिक्स, उसु, कराँते र तेक्वान्दो लगायतका खेलहरुमा खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् । मकवानपुर जिल्लाबाट खेलाडीहरु छनोट भएपछि प्रदेश हुँदै केन्द्रीय स्तरको प्रतियोगितामा सहभागी हुन पाउने छन् । खेलाडीहरुलाई राष्ट्रिय स्तरबाट चिनाउनका लागि यस प्रतियोगिताबाट गर्न लागिएको हो ।

राजेशः १५ औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कसरी सम्पन्न भएको थियो र यस वर्ष व्यवस्थित तरिकारले कसरी गर्दै हुनुहुन्छ ?

राजकुमारः गत वर्ष हामीले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गरेका थियौं । तर यस वर्ष भने प्रतियोगितालाई फरक ढंगले आयोजना गर्दै प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई पदक र प्रमाणपत्रका साथै जनहीको हिसाबले नगद पुरस्कार पनि प्रदान गर्नेछौँ । खेलाडीहरुको खुशी बनाउन र उनीहरुलाई हौसला प्रदान गर्नका लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिले यसको सुरुवात गरेको हो ।

राजेशः प्रतियोगिताको आयोजना गर्नका लागि मुख्य कुरा भनेको आर्थिको स्रोत हो । यस अघि स्रोत कसरी जुटेको थियो र अब कसरी जुटिन्छ ?

राजकुमारःप्रतियोगिता आयोजना गर्नका लागि प्रदेश खेलकुद विकास परिसद्, बागमती प्रदेश र हेटौंडा उपमहानगरपालिकाबाट केही बजेट उपल्बध भएका छन् । त्यही बजेटको सहयोगलेनै हामीले प्रतियोगिताको आयोजना गर्दैछौं ।

राजेशः राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खेलाडीहरुलाई सहभागी गराउन कसरी तयार गर्नुहुन्छ ?

राजकुमारःमकवानपुरमा १० वटा पालिकाहरु रहेको छन् । जसमा ८ वटा गाउँपालिका, १ वटा नगरपालिका र १ वटा उपमहानगरपालिका रहेका छन् । १० वटा पालिकाहरुबाट जति पनि खेलाडीहरु छन् । त्यसको प्रतिस्पर्धाबाट एकदमै राम्रो खेलाडी राष्ट्रयको निम्त्ति योग्दान पुर्‍याउने खेलाडीहरुको हामील उत्पादन गर्दैछौं । गाउँमा खुम्चिएर बसेका खेलाडीहरु र विद्यालयलाई स्थापित गर्नका लागि मुख्य भूमिका निर्वाह गरेर अगाडि बढ्ने छौं ।

राजेशः जस्तो अब खेलाडीहरु छनौट गर्दैगर्दा खेलाडीहरुलाई सहभागिता गराउनका लागि खेलकुद विकास समिति सम्म आइपुग्ने वातावरण कसरी मिलाउनुहुन्छ ?

राजकुमारः यसको जिम्मा जिल्ला खेलकुद विकास समितिले जिल्ला पालिकाहरुलाई दिएको हुन्छ । पालिकास्तरीय प्रतियोगिताबाट प्रतिस्पर्धा गरेका खेलाडीहरुलाई हामीले प्रतियोगितामा सहभागी गराउँदै छौं । यस प्रतियोगिताबाट प्रथम भएका खेलाडीहरुलाई हामीले छनोट गरेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता गराउछौं ।

राजेशः प्रतियोगितामा सहभागी गराउनका लागि व्यवस्थापनको कुरा हुन्छ ? खेलाडीहरुलाई राख्न व्यवस्थापनको कुरा हुन्छ यसलाई कसरी हेर्नुहुन्छ ?

राजकुमारः हामीले यसका लागि सबै व्यवस्थापन मिलाइसकेका छौं । आर्थिक रुपमा होटलहरुको व्यवस्था, खानेकुराको व्यवस्था सबैको कुरा मिलाइसकेका छौं ।

राजेशः जिल्ला खेलकुद भित्र विभिन्न कार्यक्रमको आयोजना गर्दैगर्दा खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने व्यवस्था गरिएको थियो ? अब त्यो समयमा कार्यक्रम गर्दा र यस वर्ष गर्दा के फरक सोच्नुभएको छ ?

राजकुमारः फरक भनेको पहिले खेलाडीहरुलाई मेडल र प्रमाणपत्र मात्रै पदान गर्ने गरेका थियौं भने यो वर्षका विजेता खेलाडीहरुलाई हामीले मेडलसँगसँगै नगद पुरस्कार पनि प्रदान गर्ने छौं । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुका लागि बन्द प्रशिक्षणमा राखिने व्यवस्था मिलाउने छौं । जिल्लाबाट छनोट भएका खेलाडीहरुका लागि खाना र वास स्थानको व्यवस्था गरेर प्रदेशस्तरीय प्रतियोगिताका लागि हामी तयार गर्नेछौं ।

राजेश : स्रोतहरु कतिपय अवस्थामा नपुग्न सक्छ । त्यसको लागि कसरी जुटाउने सोच्नुभएको छ ?

राजकुमारः स्रोतहरु यहाँको स्थानीय सरकाहरुसँग सहकार्य गरेर पनि जुटाउने कुराहरु छ । निस्वार्थ भावनाले खेलाडी उत्पादन गर्नका लागि स्रोतहरु खोजिरहेका छौं । हामीले यो यो स्रोत छ भन्नुभन्दा पनि जिम्मेवार ढंगले काम गरिरहेका छौं ।

राजेशः खेलाडीहरुको खेलबाट भविष्यनै छैन भन्ने अवस्थामा पनि छ । कतिपय खेलाडीहरुले खेलबाट सन्यास लिएको अवस्था देखिएको छ । खेलबाट भविष्य सुनिश्चित गर्न सकेको छैन पनि भनेको छ, । खेलाडीहरुको भविष्य सुनिश्चित गर्नेतर्फ नलागेको हो कि भन्ने जस्तो छ यसलाई मान्नुहुन्छ कि हुन्न ?

राजकुमारः राज्यले खेलाडीहरुको सुरक्षा गर्न पनि आवश्यक छ । खेलाडीहरुले खेल खेल्नका लागि धेरै मेहनत गरेर पसिना बगाएर एउटा उत्कृष्ट खेलाडी बन्नका लागि चुनौतीहरुको सामना गरेका हुन्छन् । यसका लागि राज्यले खेलाडी राष्ट्रयको हो भनेर बुझ्‌न जरुरी छ । खेलाडीहरुलाई जोगाउने, उनीहरुलाई सबै आवश्यक कुरा वितरण गर्ने गरेमा उनीहरुलाई व्यवसायिक बनाउन सकिन्छ जस्तो मलाई लाग्छ । किनकी यो सबै राज्यको प्रमुख भूमिका रहन्छन् । राज्यको मात्र दोष नभई हाम्रो पनि यसको दायित्व मानेर काम गर्नुपर्छ । सरकारी निकायसँग सहकार्य गरेर खेलाडीको क्षमताको बारेमा जानकारी गराउन आवश्यक छ ।

राजेशः विभिन्न राजनीतिक दलका नेताहरुले कार्यक्रमहरुमा खेलकुदमा भविष्य छ भन्दै खेलाडीको लागि लगानी गर्छौं भनेको हुन्छ । तरपनि खेलाडीहरु निराश छन् । खेलमार्फत खेलाडीहरुले भविष्य सुनिश्चित गर्न नसक्नुको कारण के हो जस्तो लाग्छ तपाईंलाई ?

राजकुमारःयसमा मुख्य कम्जोरी भनेको राज्यको हो । यसमा हामीहरुको पनि केहि कम्जोरी छ । तर जतिपनि छनोट भएका खेलाडीहरुलाई हामीले संरक्षण गर्न नसकेको कारणलेनै उनीहरु विदेश पलायन हुन बाध्य भएका हुन् । अब हामीले यस राष्ट्रपति प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई हामीले संरक्षण गर्नेछौं । त्यही खेलाडीहरु राष्ट्रयको निम्ती पहिचान बन्ने हामीले विश्वास लिएका छांै ।

राजेशः यो भन्दा अगाडि छनौट भएका खेलाडीहरु खोजेर तथ्याङ्क संकलन गरेर यीनीहरुको भविष्य सुनिश्चित गर्नुपर्छ भनेर खोजी गर्नुभएको छ ?

राजकुमारः विशेषगरी राजनीतिक कारणले गर्दा दशौं संस्करण राष्ट्रिय खेलकुद प्रतियोगिता हुन सकेको थिएन् । त्यस खेलका लागि कहिले खेल हुन्छ हामी खेलाडीहरुलाई प्रतिस्पर्धा गर्नका लागि लग्ने भनेर योजना बनाएका थियौं । तर हामीले गर्न सकेनौं । खेल गराउन सकेमा खेलाडी उत्पादन गर्न सकिन्छ र कुन क्षेत्र, पालिका, जिल्ला र प्रदेशबाट खेलाडी आएको छ भन्ने कुराको मूल्यांकन गर्न सकिन्छ । गएको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बागमती प्रदेश चौंथो स्थानमा परेको थियो । त्यो खेलाडीहरुको तथ्याङ्क हामीसँग छ । त्यो खेलाडीहरुलाई हामीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउन पाएनौं । सरकारले निर्वाचनपछि दशौं राष्ट्रिय खेलकुद गर्छ भन्ने अपेक्षा गरेर बसेका छौं । त्यो खेलका लागि मजबुत तरिकाले बन्द प्रशिक्षणमा खेलाडीहरुलाई राखेर प्रतिस्पर्धा गराउने छौं । हामीले खेलाडीहरुलाई अझ पनि फराकिलो तरिकाले अघि बढाउनुपर्छ भनेर उदारणिय बनाएर देखाउने छौं ।

राजेश गरिब
थप जानकारी