हेटौंडा । प्रेस सेन्टर नेपाल २२ वर्ष पूरा गरी आज बिहीबार २३औँ वर्षमा प्रवेश गरेको छ । प्रेस सेन्टर नेपालका अध्यक्ष कमला गिरीले शुभकामना सन्देश जारी गर्दै २०६१ साल माघ १५ गते रोल्पाको इरिवाङमा अखिल नेपाल क्रान्तिकारी पत्रकार संघका रूपमा स्थापना भएको प्रेस सेन्टर नेपालले जनपक्षीय पत्रकारिताको अभ्यासलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
२२औँ वर्ष पूरा गरेको अवसरमा जारी शुभकामना सन्देशमा संगठनले परिवर्तनका पक्षमा कलम चलाउँदै बलिदान दिएका महान् सहिद कृष्ण सेन ‘इच्छुक’सहित सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। घाइते, अपाङ्ग तथा बेपत्ता योद्धाप्रति सम्मान व्यक्त गरिएको छ ।
सन्देशमा जनयुद्ध र जनआन्दोलनको उपलब्धिका रूपमा एकात्मक केन्द्रीकृत राजतन्त्रको अन्त्य भई संविधानसभामार्फत् समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको उल्लेख छ । उक्त प्रक्रियामा प्रेस सेन्टर नेपालले जिम्मेवार सञ्चार भूमिकाको निर्वाह गरेको जनाइएको छ ।
हालको राजनीतिक अवस्थाबारे सन्देशमा यथास्थितिवादी तथा प्रतिगामी प्रवृत्तिका कारण सुशासन, सामाजिक न्याय र समृद्धिजस्ता संवैधानिक प्राथमिकता प्रभावित भएको भनिएको छ। दल फुट्ने–मिल्ने क्रम, नयाँ दलहरूको उदय, २०८२ भदौ २३–२४ को जेन–जी प्रदर्शन, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार तथा फागुन २१ को निर्वाचनलाई त्यसैको सन्दर्भमा उल्लेख गरिएको छ ।
२२ वर्षको यात्रापछि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित २० भन्दा बढी वामपन्थी तथा प्रगतिशील शक्तिहरूको एकतालाई सकारात्मक रूपमा लिँदै यसले नयाँ राजनीतिक आशा जगाएको सन्देशमा उल्लेख छ ।
प्रेस सेन्टर नेपालले २२ वर्षको यात्रामा संविधानप्रदत्त प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र उत्पीडित जनताको आवाज बुलन्द गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता दोहोर्याएको छ । २२ वर्ष पूरा गरेको अवसरमा संगठनका संस्थापक, पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, वर्तमान केन्द्रीय समिति तथा सम्पूर्ण सदस्यलाई शुभकामना व्यक्त गरिएको छ ।




















प्रतिक्रिया दिनुहोस्