भोजपुर । कृषि पेसामा युवा कमै भेटिन्छन् । खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाशा हुन्छ । छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन् । युवाहरूले स्वदेशमा मेहनत गर्नुभन्दा विदेशप्रति नै बढी मोह देखाउने गरेको अवस्था छ । तर, भोजपुर नगरपालिका–४ सिद्धेश्वरका २४ वर्षीय युवा गणेश विष्ट कृषि व्यावसायमा उदाहरणीय बनेका छन् । विदेशप्रतिको मोह त्यागेर समाजमा उदाहरणीय काम गर्ने लक्ष्यले सानै उमेरमा कृषिमा होमिएका उनी युवाको उत्प्रेरणाको स्रोत बनेका छन् ।

करिब पाँच वर्ष अघि इलामबाट उन्नत गाई ल्याएर व्यावसायिक पशुपालनमा लागेका उनी यही पेसामा रमाएका छन् । गाईपालनकै लागि १५ लाख बढी लगानी गरेको उनको भनाइ छ । पशुपालनबाट निस्केको मलको सदुपयोग गर्दै उनले व्यावसायिकरूपमा सुन्तला तथा तरकारी खेतीसमेत गरिरहेका छन् । दाँवाली कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिकपमा कृषिमा लागेका उनी समाजको एक उदाहरणीय पात्र पनि हुन् । विगतमा आफ्नो फर्ममा उत्पादन भएको दूध बजारका बेच्दै आएका उनले अहिले आफंै उद्योग सञ्चालन गरेर स्वरोजगारसमेत बनेका छन् । विदेशमा गएर अर्काको ठाउँमा पसिना बगाउनुभन्दा आफ्नो देशमा मेहनत गरे राम्रो आम्दानी लिन सकिने विष्टको भनाइ छ ।

‘सानैबाट कहिले पनि विदेशप्रतिको मोह आएन ।’ कृषक विष्टले भने, ‘आफंै उद्यममा लागेर आम्दानी गर्न सकिन्छ भन्ने सोचले विगत पाँच वर्षदेखि कृषिमा लागेको हुँ । ‘सुरुवाती चरणमा धेरै दुःख पाएँ । उत्पादन भएको दूधले उचित मूल्य नपाउँदा धेरै समस्या थियो । तर, अहिले आफंैले दुग्ध डेरी सञ्चालन गरेको छु । यहीं मेहनत गरे आम्दानी गर्न सकिन्छ,’ उनले भने ।

उठेदेखि साँझसम्मको समय कृषिमा लागेका छन् । उनले गाउँघरका किसानलाई समेत पशुपालनमा लाग्न प्रोत्साहन दिँदै आएका छन् । कृषक विष्टले घरसम्म पुगेर दूध खरिद गर्न थालेपछि पशुपालनमा लाग्न हौसला मिलेको स्थानीय पशुपालक किसानले बताउने गरेका छन् । सानै उमेरमा व्यवसायमा लागेका उनी बिहान मोटरसाइकलमा राखेर ११ किलोमिटर पर रहेको भोजपुर बजारमा लगेर दूध बिक्री गर्छन् । हिउँदको समयमा दूध संकलनमा सहज रहे पनि वर्षातमा कच्चीबाटो हिलाम्य बन्दा समस्या हुने गरेको उनको भनाइ छ ।

दुग्ध व्यावसायसँगै उनले नौवटा टनेलमा व्यावसायिक तरकारी खेतीसमेत गर्दै आएका छन् भने १५ रोपनीभन्दा बढी क्षेत्रमा सुन्तला खेती पनि गरेका छन्

विष्टले आफ्नो फर्मबाट उत्पादन भएको दूधसँगै जिल्लाका विभिन्न ठाउँमा पुगेर किसानको घरबाट संकलन गरेर दूध ल्याउने गरेका छन् । उनले अहिले भोजपुर बजारमा दुर्गा दुग्घ डेरी उद्योग सञ्चालन गरेर बजारको दूधको मागलाई धान्दै आएको बताउँछन् ।

‘व्यावसाय सञ्चालनको क्रममा धेरै समस्या झेले’ कृषक विष्टले भने । ‘जो मानिस समस्याको सामना गर्न सक्छ त्यो सफल बन्ने रहेछ । मैले धेरै संघर्ष गरेको छु । आफ्नो फर्ममा उत्पादन भएको दूधले बजारको माग पूरा गर्न कठिन भएपछि किसानको घरमा पुगेर दूध संकलन गर्छु । ती किसानलाई पनि केही राहत पुगेको छ । मेहनत गरे कृषि व्यवसाय गरेर जीवनयापन गर्न कुनै समस्या छैन ।’

सिजनमा आफ्नो फर्मबाट दैनिक ६० देखि ८० लिटर र अन्य किसानबाट संकलन भएको गरी दैनिक १ सय ८० देखि २ सय लिटरसम्म दूध बिक्री गरिरहेको उनको भनाइ छ ।

दुग्धजग्य परिकार बनाउने उपकरण नहँुदा समस्या रहेको किसान विष्टले बताए । दूधलाई चिस्याउन आवश्यक पर्ने उपकरण नहुँदा गर्मीको समयमा बढी मात्रामा दूध फाट्ने सम्भावना हुने उनको भनाइ छ । राज्यका तर्फबाट दुग्ध जन्य परिकार बनाउने उपकरणमा सहयोग पाए सहज हुने उनले बताए । ‘बढी मात्रामा दूध संकलन गरेर भण्डारण गर्न समस्या छ’ उनले भने, ‘त्यस्ता खालका उपकरण खरिदमा निकै ठूलो लगानी लाग्ने रहेछ । यस्ता कुरामा राज्यले सहयोग गरे धेरै किसानलाई सहज हुने थियो ।’ ग्रामीण भेगका किसानलाई समेट्न सके बजारमा कुनै पनि समय दूधको अभाव नहुने उनको भनाइ छ । गाउँघरका किसानले उत्पादन गरेको दूधलाई बजारसम्म ल्याउने वातावरण मिलाउन सके कृषकलाई आर्थिक रूपमा समेत सक्षम बनाउन सकिने उनले बताए ।

व्यावसायी विष्टले दावा, तल्लो बोखिम, माथिल्लो बोखिम, टक्सार, धापखर्क, पौवादुङमा गाउँपालिकाको श्यामशीला, तिवारी–भञ्याङलगायत ठाउँका १ सय ५० बढी कृषकले उत्पादन गरेको दूध संकलन गरेर बिक्री गर्दै आएका छन् । विगतमा घरयासी प्रयोजनमा मात्र खपत गर्दै आएको दूध बिक्री गर्न पाउँदा खुसी लागेको माथिल्लो बोखिमका कृषक भोजराज घिमिरेले बताए । आफ्नै ठाउँमा दूध बिक्री भएपछि सहज भएको उनको भनाइ छ ।

‘हामीलाई दूधको बजारीकरणमा सहजता थपिएको छ’ कृषक घिमिरेले भने, ‘बजार टाडा भएको कारण विगतमा धेरै किसानले दूध बिक्री गर्दैन थिए । उनीहरूले घरयासी प्रयोग मात्र गर्दै आएका थिए । गाउँमा नै दूध संकलन केन्द्र हुँदा सहज छ । अहिले दूध बिक्रीबाट आएको पैसाले घर खर्च टार्न सकेका छौं ।’

कृषक विष्टले आंशिकरूपमा अन्य मानिसलाई रोजगारीसमेत दिएका छन् । दुग्ध व्यावसायसँगै उनले नौवटा टनेलमा व्यावसायिकरूपमा तरकारी खेतीसमेत गर्दै आएका छन् भने व्यावसायिक रूपमा १५ रोपनी बढी क्षेत्रमा सुन्तला खेती पनि गरेका छन् । कृषि व्यवसायबाट भविष्यमा वार्षिकरूपमा १५ देखि २० लाखसम्म आम्दानी लिने लक्ष्य रहेको किसान विष्टको भनाइ छ । आफूले आर्गानिक तरकारी उत्पादनमा जोड दिएको उनले बताए ।

‘कृषि व्यावसाय गरेर सफल बन्दैन भन्ने धेरै थिए,’ उनले भने । ‘इलामबाट गाई किनेर ल्याई व्यावसाय थाल्दा यो डुब्यो भन्ने पनि थिए । अहिले मैले यहाँ उत्पादन भएको मलको सदूपयोग गर्दै आर्गानिक तरकारी खेतीमा जोड दिएको छु । यस वर्ष मात्र नौवटा टनेल विस्तार गरेको छु । त्योसँगै १४ रोपनी क्षेत्रफलमा सुन्तला खेती विस्तार गरेको छु ।’

कृषिमा योजनाबद्धरूपमा लागेको देखेर राज्यले तरकारी खेतीका लागि केही सहयोग गरेको कृषक विष्टको भनाइ छ । राज्यको सहयोगले व्यावसायमा लाग्न हौसला मिलेको उनले बताए । ‘सुरुमा राज्यका तर्फबाट खास सहयोग भएन,’ उनले भने । ‘आफंैले ऋणपान गरेर आवश्यकता पूरा गर्दै गएँ । अहिले तरकारी खेतीका लागि केही सहयोग पाएको छु । कृषि ज्ञानकेन्द्रको सहयोगमा टनेल विस्तार गरेको छु ।’

आफ्नै ठाउँमा मेहनत गर्न सके विदेशमा हुने कमाइ यही गर्न सकिने उनको भनाइ छ । व्यावसायमा निरन्तर लाग्न सके त्यसबाट सफलता लिन सकिने पाठ सिकेको उनले बताए । ‘युवामा आफ्नै ठाउँमा दुःख गर्ने बानी छैन’ किसान विष्टले भने, ‘हामीले विदेशमा जानुको सट्टा यहीं सानोतिनो व्यावसाय गर्न सके परिवारसँग बसेर मनग्य आम्दानी लिन सकिन्छ ।’

आफूले कृषि क्षेत्रमा पाएको सफलता देखेर धेरै युवाले यसप्रति रुचि देखाएको उनको भनाइ छ । उनीहरूलाई आफूले सिकेको सीप सिकाउँदै कृषि पेसामा लाग्न प्रोत्साहन गर्दै आएको उनले बताए ।

‘स्वदेशमा कृषिमा सम्भावाना देखेर कृषिमा लागेको हुँ,’ उनले भने । पशुपालनबाट निस्किएको मलको प्रयोग गरेर बेमौसमी तयार खेतीको अवधारणाअनुसार काम गरिरहेको छु । मैले आर्गानिक कृषि उत्पादनमा जोड दिएको छु । यसमा लाग्न रुची देखाउने युवा साथीलाई आवश्यक सहयोग गर्दै आएको छु । ’

आफ्नो फर्ममा उत्पादन भएको तरकारी तथा अकबरे खुर्सानी आर्गानिक भएकाले बजारमा माग धेरै रहेको किसान विष्टले बताए । ‘मैले उत्पादन गरेको तरकारीसँगै खुर्सानी आर्गानिक भएकाले बजारमा माग धेरै छ । सिजनमा यहाँबाट ठेकेदारले खुर्सानी धरान, विराटनगर, काठमाडौंलगायत ठाउँमा लैजाने गरेका छन्,’ उनले भने । फर्ममा उनका बुबा तथा अन्य परिवारका सदस्यले सहयोग गरिरहेका छन् ।

स्वदेशमा व्यावसायिकरूपमा कृषिमा लाग्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । राज्यबाट आएको सुविधा तथा प्रोत्साहन भने वास्तविक किसानसम्म पुग्न नसकेको उनले बताए ।

पछिल्लो समय युवाको कृषि व्यवसायतिर मोह बढे पनि पहुँचका आधारमा स्थानीय तह तथा अन्य सरकारी निकायले अनुदान वितरण गर्दा वास्तविक किसान मारमा पर्ने गरेको किसानको भनाइ छ ।

जिल्लाका अधिकांश स्थानीय तह तथा सरकारका अन्य विभिन्न निकायबाट विभिन्न खाले अनुदानका कार्यक्रम सञ्चालन हुनेगरी पनि पहुँचवालाले मात्र यस्तो सुविधा पाउने गरेको किसानले बताउँदै आएका छन् । किसानलाई उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्न सके वास्तविक किसानलाई राहत मिल्ने उनीहरूले बताउने गरेका छन् ।

राजधानी दैनीकबाट साभार गरिएको हो ।