खराब ब्याटिङले चौथो खेलमा पनि निरन्तरता पाएपछि नेपाल शुक्रबार अभ्यास खेलमा श्रीलंका–११ सँग ९२ रनले पराजित भएको छ।

कोलम्बोस्थित बिक्युआई मैदानमा २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ३५.२ ओभरमा १ सय ४० रनमै सीमित भएपछि अनुभवी खेलाडीले भरिएको श्रीलंका–११ ले फराकिलो जित निकाल्यो। विश्व क्रिकेट लिग–२ को तयारी स्वरूप अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपालले पहिलो दुई खेलमा क्रमशः श्रीलंका नेभीलाई १ सय ११ र ८९ रनले पराजित गरेको थियो। दुवै खेलमा नेपालले निर्धारित ५० ओभरसम्म ब्याटिङ गर्न सकेन। तेस्रो खेलमा भने नेपालले बिहीबार श्रीलंका पुलिसलाई १ सय ४४ रनले हरायो।

उक्त खेलमा भने नेपालले पूरै ५० ओभर खेल्दा चार खेलाडीले अर्धसतक पूरा गरेका थिए। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन र ओपनर कुशल भर्तेलले ३२ रनको योगदान गरे। रोहितकुमार पौडेलले २१ र आरिफ शेखले १३ रन जोडे। खातामा १८ रन हुँदा ओपनर आसिफ शेख आउट भए। दोस्रो विकेटका लागि कुशल र ज्ञानेन्द्रले ५७ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरे। कुशलले ४८ बलमा पाँच चौका प्रहार गर्दा ज्ञानेन्द्रले ६२ बलमा पाँच चौका र एक छक्का हिर्काए।

रोहितले २७ बलमा तीन चौका प्रहार गर्दा आरिफले १९ बलमा एक चौका हिर्काए। १०७–५ को स्थितिमा रहेको नेपालले थप ३६ रन जोड्दा बाँकी विकेट पनि गुमायो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका–११ ले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३३ रनको योगफल तयार पार्‍यो।ओपनर मुनाविरा रविराकोडीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाए।

श्रीलंकाका फर्नान्डोले ५६ रन र ओपनर विराकोडीले ४९ रन जोडे। फर्नान्डोले ६९ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दा विराकोडीले ४८ बलमा ९ चौका हिर्काए। नेपालका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान तीन तथा सोमपाल कामीले दुई विकेट लिए। कप्तान सन्दीप लामिछाने र आरिफको नाममा समान एक विकेट रह्यो। नेपाल मार्च १४ मा विश्व क्रिकेट लिग–२ का लागि युएईतर्फ प्रस्थान गर्नेछ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो