स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी सुरु गरेका छन् ।

गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित जनप्रतिनिधि र स्थानीयस्तरमा प्रभाव राख्ने स्थानीय नेता कार्यकर्ताहरूलाई आफ्नो दलमा भिœयाउन मुख्य दलहरू सक्रियताका साथ लागि परेका छन् । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन तय भइसकेको छ ।

दल फेर्दै जनप्रतिनिधि

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत बिहीबार मात्रै पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारलाई तामझामका साथ कार्यक्रम आयोजना गरेर कांग्रेसमा प्रवेश गराएको थियो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रौनियारलाई आफैं उपस्थित भएर कांग्रेस प्रवेश गराएका थिए । उनी नेपाली जनता दलबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरिया नगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए ।

यसैगरी, वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी शनिबार मात्रै नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैं वीरगन्ज पुगेर एमालेमा भिœयाएका हुन् । सरावगीको पहिलो रोजाइ कांग्रेस थियो । तर, कांग्रेसबाट राम्रो ‘रेस्पोन्स’ नआएपछि अन्तिममा उनी एमालेमा गएका हुन् ।

पर्साकै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासमेत यसअघि नै नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

यस्तै, माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयरसमेत गत बुधबार एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिपकुमार अग्रवाल र उपमेयर केशवकुमारी खराललाई एमाले अध्यक्ष ओलीले रंगेलीमै आयोजित एक कार्यक्रमबीच एमालेमा भिœयाएका हुन् ।

यसैगरी, केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुर्खेतमा आयोजित प्रदेशस्तरीय प्रशिक्षणमा जिल्ला समन्वय समितिका नेपाली कांग्रेसका उपप्रमुख ज्ञानीप्रसाद शर्मालाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए ।

जिल्लामा स्थानीय तहका प्रमुख उपप्रमुख मात्रै होइन वडा अध्यक्षदेखि वडा सदस्य र पदमै नरहेर पनि प्रभाव राख्न सक्ने नेताहरू दल अदलबदलमा लागेका छन् ।

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले संविधानले नै व्यक्तिलाई स्वतन्त्रताको अधिकार दिएकाले व्यक्तिले मन परेको दल रोज्नु स्वाभाविक भएको बताए । यस्तो प्रक्रिया मूल्य र मान्यताका आधारमा हुने उनले जानकारी दिए ।

‘संविधानले नै व्यक्तिलाई स्वतन्त्रताको अधिकार दिएको छ, दलमा आउने जाने स्वार्थका आधारमा होइन, मूल्य र मान्यताका आधारमा हुन्छ,’ एमाले नेता नेम्वाङले भने ।

उनले एमालेले महाधिवेशन सकिएलगत्तैबाट महाधिवेशनको सन्देश जनताका बीचमा पु¥याउने कार्यक्रमसँगै देशभर पार्टी प्रवेश अभियान सुरु गर्दै आएको जानकारी दिए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले सुरु गरेको निर्वाचन अभियानमार्फत अन्य पार्टीमा आबद्ध हजारौं नेताकार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने तयारी रहेको बताए ।

‘कांग्रेस गाउँगाउँ जाँदै छ, यो हाम्रो अभियान नै हो, यो अभियानमार्फत अन्य दलका नेताकार्यकर्ताहरू हजारौंको संख्यामा कांग्रेस प्रवेश गर्दै छन्,’ कांग्रेस प्रवक्ता महतले भने ।

कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै २९ फागुनदेखि २९ चैतसम्म १ महिना सञ्चालन गर्नेगरी आइतबारबाटै अभियान सुरु गरेको हो । यो अभियानमार्फत अन्य दलका नेताकार्यकर्तालाई आफ्नो दलमा तान्ने कांग्रेसको रणनीति छ । यसका लागि कांग्रेसले ७७ जिल्लामा नै केन्द्रीय कमान्डर खटाइसकेको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रलेसमेत स्थानीय तहमा नेताकार्यकर्ता र आफ्नातर्फबाट गत स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सक्रिय बनाइसकेको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले पनि आफ्ना नेताकार्यकर्तालाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन गरिसकेको छ ।

यो समाचार राजधानिबाट साभार गरिएके हो