चालु आर्थिक वर्षमा तनहुँका कृषकले सुन्तला विक्री गरेर २५ करोड रुपियाँ आम्दानी गरेका छन् । जिल्लाका विभिन्न स्थानमा रहेका ब्लक र बगैँचामा उत्पादन भएको सुन्तला विक्रीबाट सो रकम आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । जिल्लाका ६ स्थानमा रहेको ब्लक र कृषकको विभिन्न बगैचामा गरी आठ हजार पाँच सय ८० मेट्रिक टन सुन्तला उत्पादन गरी सो आम्दानी भएको केन्द्रका कृषि अर्थविज्ञ प्रकृति न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार जिल्लामा एक हजार सातसय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुनेगरेको छ । त्यस्तै, एक हजार चारसय ५० हेक्टरमा उत्पादन हुँदैआएको केन्द्रको भनाइ छ ।

जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन बढेको कृषकहरुको भनाइ छ । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले यस वर्ष सुन्तलाको उत्पादन वृद्धि भएको बताउनुभयो । व्यास नगरपालिकाको पोखरीभञ्ज्याङ, म्याग्दे गाउँपालिकाको उमाचोक, नाम्सीकोट, देवघाट गाउँपालिका वडा ३ र ४, दुभुङ, अर्चल्दी लगायतका क्षेत्रमा सुन्तला खेती फस्टाएको जानकारी दिनुभयो ।

सुन्तलाका पकेट क्षेत्रमा ब्लक विकास कार्यक्रम समेत सञ्चालन गरिएको सिलवालले बताउनुभयो । गतवर्ष तनहुँमा २४ करोड रुपियाँको सुन्तला विक्री भएको उहाँले जानकारी दिनुभयो । सुन्तलाको फल लाग्ने समयमा आवश्यक मात्रामा वर्षा हुनुका साथै कम असिना परेकाले यस वर्ष उत्पादनमा वृद्धि भएको केन्द्रले जनाएको छ । जिल्लामा सुन्तला उत्पादनका लागि विभिन्न क्षेत्रमा रहेको सुन्तला पकेट क्षेत्रलाई ब्लकको रुपमा विस्तार गरी प्रवर्धन गर्न थालिएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका –२ को उमाचोकमा रहेको सुन्तला उत्पादक ब्लक समिति, शुक्लागण्डकी नगरपालिका ११ नाम्सीकोटको सुन्तला जात फलफूल उत्पादक ब्लक सञ्चालक समिति, व्यास नगरपालिका १३ मा रहेको सुन्तला ब्लक समिति, देवघाट गाउँपालिकामा घण्टाचुली बहुउद्देश्यीय कृषक समुह र आँबुखैरेनी गाउँपालिकामा पतेनी सुन्तला उत्पादक कृषक समूह सुन्तला खेती र उत्पादनमा सक्रिय रहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

सुन्तला उत्पादनको सम्भावित क्षेत्रका कृषकलाई आवश्यक तालिमसहित विउ विरुवा अनुदान दिएर सुन्तला खेती गर्न प्रोत्साहन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । तिवारीकाअनुसार सुन्तला ब्लक प्रबद्र्धन गर्न कृषकमैत्री कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको छ ।

हरेक वर्ष जिल्लामा सुन्तला उत्पादनका लागि क्षेत्र विस्तार र कृषकका आवश्यक उत्पादन सामग्रीमा सहयोग गर्दैआएको बताउनुभयो । चालु आर्थिक बर्षमा केन्द्रका पहलमा ऋषिङ गाउँपालिका –३ मा पनि सुन्तला उत्पादन ब्लक निर्माण गरिएको बताउनुभयो । तनहुँको सुन्तला स्वादिष्ट हुनेभएकोे काठमाडौँ, पोखरा, नारायणगढ लगायतका प्रमुख शहरमा माग बढेको छ । ठेकदारहरु कृषकको बगैंचामा नै पुगेर सुन्तला खरिद गर्नेगरेका छन् ।

एउटै ब्लकमा पाँच करोड आम्दानी
जिल्लाका अधिकांश सुन्तला उत्पादक कृषकको ब्लकमा यस वर्ष दुईदेखि पाँच करोड रुपियाँसम्म आम्दानी भएको छ । गतवर्ष उत्पादित सुन्तलाको राम्रो बजारभाउ पाउन नसकेका कृषकले यस वर्ष ९० देखि एकसय १० रुपियाँ प्रतिकिलो थोक मूल्यमा विक्री गरेको म्याग्दे गाउँपालिका– २ स्थित उमाचोक सुन्तला उत्पादक व्लक समूहका अध्यक्ष निर्मल अधिकारीले जानकारी दिनुभयो ।

समूहले यस वर्ष पाँच करोड रुपियाँ आम्दानी गरेको भएको जानकारी दिनुभयो । यहाँ एकसय ५५ कृषकले समुहमा निर्माण गरी ब्लक सञ्चालन गर्दैआएका छन् । यस्तै व्यास नगरपालिका १३ मा रहेको ब्लकबाट मात्र यसवर्ष दुई करोड ५० लाख बढीको सुन्तला विक्री भएको छ ।

ब्लक सञ्चालक समितिका अध्यक्ष खेमबहादुर थापाले गत वर्षभन्दा यस वर्ष दोब्वर मूल्य परेकाले कृषकले राहत महसुस गरेको बताउनुभयो । उहाँका अनुसार कृषकले गतवर्ष प्रतिकिलो ६५ रुपियाँ मूल्य पाएका थिए ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो