दैलेख आठबिस नगरपालिका–७ कोटिलाकी ३० वर्षीया मनसरा कठायत विधुवा हुन् । नौ वर्षअघि उनको गाउँकै लालसिंहसँग मागी विवाह भयो । विवाहपछि मनसराले दुई सन्तान जन्माइन् एक छोरा र एक छोरी । लालसिंहको मृत्यु हुँदा छोरी पुष्पाको जन्म भइसकेको थियो । छोरा पुष्प गर्भमै थिए । पुष्प अहिले पाँच वर्षका भए । दुवै सन्तान सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत छन् । सात वर्षीया पुष्पा कक्षा एक र छोरा पुष्प नर्सरीमा अध्ययन गर्छन् ।

एचआईभी संक्रमणले श्रीमान् गुमाइन्, आफू पनि संक्रमणसँग लडिरहेकी छन्

मनसरा पनि छोरा पुष्पजस्तै गर्भमै टुहुरो बनेकी हुन् । उनी गर्भमै हुँदा बाबुको मृत्यु भएको थियो । एक वर्षपछि आमाले दोस्रो विवाह गरेर पराई घर गइन् । घाँस काट्न जाँदा रूखबाट खसेर आमाको मृत्यु भयो । हजुरबुबाको आश्रयमा उनी हुर्किइन् । हजुरबुबाले नै मनसराको विवाह गरिदिए ।

विवाहवारी मनसराको जेठाजुको घरमै भएको हो । विवाहपछि घर बनाउने, छोराछोरीलाई उच्च शिक्षा हासिल गर्ने मनसराको सोच थियो । तर, विडम्बना, त्यो पूरा हुन सकेन । विवाह भएको चार वर्षमै श्रीमान्को मृत्यु भएपछि घर बनाउने उनको सपना चकनाचुर भयो । अहिले पनि मनसरा जेठाजुको घरको एक कोठामा दुई सन्तानसहित बसोबास गरिरहेकी छन् ।

एकातिर मनसरालाई आमा बाबु र श्रीमान्को मृत्युले पोलिरहेको हुन्छ भने अर्कोतिर छोराछोरीले बाबुको खोजी गर्न थालेपछि झनै मन दुख्ने गरेको छ । ‘गाउँ र छरछिमेकका बालबच्चाले बाबु बोलाएको सुन्दा उनीहरूले हाम्रा बाबा कहाँ जानु भएको छ ? कहिले आउनुहुन्छ ? भनेर सोध्छन् । त्यतिबेला साहै्र नै मन भक्कानिन्छ । त्यसबेला छोराछोरीलाई भोलि आउँछन् भनेर टार्छु,’ उनले भनिन् । यो भनिरहँदा मनसराका आँखा एकछिन पनि ओभाना रहेन, आँसु छचल्किरहे ।

मनसराका श्रीमान्को एचआईभी संक्रमणका कारण जिल्ला अस्पतालमा दैलेखमा मृत्यु भएको थियो । उनी पनि संक्रमित छिन् । दुई बालकको रिपोर्ट भने नेगेटिभ छ । एनआरटी औषधिको प्रयोग गर्दै उनी आफ्ना ती नाबालक सन्ततिका लागि संघर्र्षरत छिन् ।

राज्यले एकल महिलाका लागि प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाहेक दैनिकी गुजार्न उनीसँग अरू कुनै स्रोत छैन । आम्दानीको स्रोतका रूपमा दुईवटा बाख्रा पालेकी छन् । एचआईभी संक्रमण नभएका ती दुई सन्तानको लालनपालन र घरखर्च चलाउनसमेत उनलाई हम्मेहम्मे परेको नातामा उनकी जेठानी दिदी जुवारा कठायत बताउँछिन् ।

पहिले भारतको मुम्बई बसेका उनका श्रीमान्बाट उनलाई एचआईभी संक्रमण भएको हो । संक्रमित भए पनि श्रीमान् साथमा नहुँदा उनी घर न घाटको जस्तो जीवन गुजार्न बाध्य छिन् । केही दिनअघि स्टोरी अफ नेपालका जय पौडेलको पहलमा उनले २० हजार रुपैयाँ पाएकी थिइन् । यो नै जीवन गुजार्न उनले पाएको पहिलो सहयोग हो । मनसराले सहयोग पाएपछि धन्यवाद दिइन् । सहयोगीको सोधीखोजी गरिन् । भनिन्, ‘उहाँ त मेरो भगवान् हो धन्यवाद सुनाइ दिनुहोला ।’ त्यसबेला उनले आफूलाई सहयोग गर्ने पौडेलको घर ठूलो होला भनेर प्रश्नसमेत गर्न भ्याइन् । अहिले सानासाना समस्या टार्न पनि उनले छिमेकी सहयोग लिनुपरिरहेको हुन्छ ।

आठबिस नगरपालिकामा मात्र ९६ जना संक्रमितले एनआरटी औषधि सेवन गरिरहेका छन् । यो प्रतिनिधि घटना पात्र मात्र हो । देशभरका विभिन्न ठाउँमा यसरी जीवन गुजारिरहेका महिला नगन्य मात्रामा छन् । यस्ता परिवार र पात्रको दैनिकी बदल्न स्थानीय सरकार र सम्बन्धित निकाय उत्तिकै जिम्मेवार भए मात्र नागरिकहरूले सेवा प्रत्याभूत भएको महसुस गर्नेछन् ।

यो समाचार राजधानिबाट साभार गरिएके हो