१० वर्षदेखि बाख्रापालन गरिरहेका बेलकोटगढी नगरपालिका–११ का अमृत तिवारीले पछिल्लो समय कालिजपालन र मौरीमालन व्यवसायलाई पनि सँगै अघि बढाएका छन् । उनको दिनचर्या बाख्राको फर्ममा काम गर्ने र तिनैको हेरचाहमा समय खर्च हुन्छ । यसबाहेक बाख्रापालन तथा घाँस खेती’bout जान्न चाहेकालाई आफ्नो अनुभव साटासाट गर्नु पनि उनको दैनिकी हो ।
२०६९ मा स्नातक तह अध्ययन गरेका तिवारीले २०७१ सालमा बाख्राको खोर बनाएर व्यवसाय सुरु गर्दा गाउँमा ‘यो त पागल भएछ’ भनेको तितो अनुभव उनीसँग छ । ‘मास्टरको छोरो, काठमाडौंमा पढेर गाउँमा बाख्राको खोर बनाउँदा मलाई बौलायो समेत भने,’ अमृतले भने ‘तर मैले हिम्मत हारिनँ, निरन्तरता दिइरहें ।’
तिवारीको फर्ममा बोयर जातका बाख्रा ५ सय छन् । २०७१ सालमा उनले बाख्रापालन व्यवसाय सुरु गर्दा १९ वटा बाख्राबाट सुरु गरेका थिए । उनको फार्ममा उत्पादन भएका बाख्रा तथा बोका नेपालका ६७ जिल्लामा बिक्री वितरण हुँदै आएको छ ।
अहिले उनको फार्ममा दैनिक ६ जनाले रोजगारी पाएका छन् । उनले २ जनालाई नियमित र चार जनालाई आंशिक रोजगारी दिँदै आएका छन् । ‘अहिले कृषि पेसामा मान्छे पाउनै समस्या छ, नियमित बस्ने मान्छे मासिक २० हजार रुपैयाँ दिएर खाने बस्ने सुविधा दिँदासमेत पाइँदैन’ तिवारी भन्छन्, ‘कृषि पेसा उपेक्षाको सिकार भएको छ ।’
बाख्रासँगै उनको फर्ममा सेरोना जातको मौरी १ सय ५० गोला रहेका छन् । एक घारबाट सुरु गरेको मौरीबाट आफ्नै मेहनतले अहिले १ सय ५० घार भइसकेको उनी बताउँछन् । ‘मौरीलाई दानापानी खुवाउनुपर्दैन, तिवारी भन्छन्, ‘मौरीले आफैंले श्रम गर्ने हुँदा यसबाट भएको आम्दानी सबै फाइदा हुन्छ,’ बाख्रापालनको लागि चरण क्षेत्रको आवश्यकता पर्ने र चरण क्षेत्रमा कालिज र मौरीपालन एकैपटक सञ्चालन गर्न सकिने भएकाले यो व्यवसायलाई पनि सँगै अघि बढाएको तिवारी बताउँछन् ।
५ सयवटा कालिजपालन गरिरहेका उनले कालिजको चल्लासमेत उत्पादन गरी बिक्री गर्छन् । कालिजको गुणस्तरीय चल्ला, मासु र अण्डा मागअनुसार घरमै पु¥याउने गरेका छन् । बाख्रापालन, मौरीपालन, कालिजपालन, घाँस बिक्री तथा व्यासायिक तालिमसमेत पाँचवटा व्यवसायबाट ठ्याक्कै कति कमाइन्छ भन्ने लेखाजोखा उनीसँग हुन्न । ‘काठको खुट्टा र सासको धान’ नगन्नु भन्ने हाम्रो उखानै छ, तिवारी भन्छन्, ‘कुनै वर्ष १५, २० लाख रुपैयाँ वार्षिक बचत भइरहेको हुन्छ भने कुनै वर्ष त्यति नै घाटा पनि बहोर्नु परेको हुन्छ ।’
अहिले उनको यो फर्ममा ३ करोड ५० लाखभन्दा धेरै लगानी भइसकेको छ । पुख्र्यौली सम्पत्ति धितो राखेर व्यवसाय सञ्चालन गरेका उनले अहिले लगानी उठाउने तरखरमा छन् ।
व्यावसायिक बाख्रापालनको तालिम लिखित र प्रयोगात्मक उनकै बाख्रा फार्ममा सञ्चालन हुन्छ । तिवारीले ४१ समूहमा ६ सयभन्दा धेरैलाई बाख्रापालनसम्बन्धी तालिम प्रदान गरिसकेका छन् । ‘व्यावसायिक बाख्रापालन तालिम नेपालमै पहिलो हो, उनको दाबी छ, ‘फर्मको अवलोकन गरी कार्यक्षेत्रमै व्यावहारिक भएकाले तालिम उपयोगी छ ।’ नेपालका विभिन्न भागको साथै भारतको सिक्किमसम्म किसानलाई बाख्रापालनको अनुभव आदानप्रदान गर्न पाएकोमा तिवारी दंग छन् । उनले डाले घाँस र भुइँघाँसको नसरी स्थापना गरी किसानलाई बिक्री गर्दै आएका छन् ।
१८ वर्षको उमेरबाट व्यवसायमा होमिएको अमृतले पशु सेवा विभागअन्र्तगतको केन्द्रीय भेडा बाख्रा प्रवद्र्धन कार्यालयले वर्षको उत्कृृष्ट सम्मान २०७३ र २०७७ सालमा प्राप्त गरेका थिए । यसबाहेक सरकारीस्तरबाट उनले कुनै सहयोग र सम्मान प्राप्त गरेका छैनन् । कृषकलाई कुन पार्टीको हो भनेर छुट्याउने र आफ्ना पार्टीका लागि सहयोग गर्ने र अरूलाई नगर्ने राज्यको परम्पराको विकास भएको उनी बताउँछन् ।
व्यावसायिक बाख्रापालक कृषक महासंघको केन्द्रीय महासचिवसमेत रहेका १ सय २० रोपनी क्षेत्रफलमा बाख्रापालनका लागि उपयुक्त घाँस खेती गरेका छन् । कृषिमा हातेमालो गरेर जोस जाँगर र ऊर्जाका साथ एकजुट भएर काम गर्ने हो भने राज्यले दिन नसकेका निति नियम र सेवासुविधा प्राप्त हुने र यही माटोमा रोजगारी सिर्जना हुने उनी बताउँछन् । ‘हामीजस्ता युवा मिलेर काम ग¥यांै भने एक दिन समृद्ध नेपाल बनाउन सकिन्छ,’ तिवारी भन्छन् ।
आफ्नो फर्मको उत्पादन नेपाल भर पुग्न सफल भएकोमा तिवारी खुसी व्यक्त गर्छन् । ‘गुणस्तरीय बाख्राका पाठापाठीको माग देशभरबाट छ, तिवारी भन्छन्, ‘बोयरका लागि आफ्नो नाम सम्झँदा खुसी लाग्छ ।’ व्यावसायिक क्षेत्रमा लगानी गर्ने कृषकका लागि सरकारको कृषि नीति भने प्रभावकारी नभएको उनी बताउँछन् । ‘किसानका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम पहुँचवालाले मात्रै पाउँछन्,’ उनी थप्छन्, ‘किसानले नै नीति बनाएर मात्रै कार्यान्वयन भयो भने मात्रै कृषक पेसाप्रति आकर्षण बढाउन सकिन्छ ।’
राजधानी दैनीकबाट साभार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्