सरकारले यही फागुन २८ गतेदेखि १० जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि कार्यक्रम सञ्चालन गर्ने भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार एक कार्यक्रम गर्दै फागुन २८ गतेबाट १४ दिनसम्म १० जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

सरकारले १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार मानिसलाई हात्तिपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य लिएको छ । महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार हात्तिपाइले रोग निवारणका लागि पाँच जिल्लामा तीन प्रकार र पाँच जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको हो । हात्तिपाइले रोगविरुद्ध यसअघि प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल हो ।

सरकारले पाँच जिल्लामा भने यो औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि थप गरेको छ । यो औषधिलाई लुतो र मलेरियाको उपचारमा पनि प्रयोग गरिन्छ । विश्व स्वास्थ्य संगठनले २०१७ मा नै यो औषधिलाई हात्तिपाइले रोगविरुद्ध प्रयोगका लागि अनुमती दिइसेको छ । ‘तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा मोरङ, कपिलबस्तु, दाङ, बाँके र कैलाली मा डाइथाइलकार्बामाजिन प्रयोग गरिएका व्यक्तिहरुमा पनि हात्तिपाइले रोग निवारण हुन नसकेपछि आइभरमेक्टिन औषधि थप गरिएको छ।’उहाँ भन्नु हुन्छ,‘यस्तै पहिलो खुवाउँदै अँएका दुई प्रकारका औषधि प्रयोग गरिने जिल्लामा झापा, बारा, लमजुङ, पर्वत र बागलुङ रहेका छन् ।’

नेपालमा विगतमा ६३ जिल्लामा हात्तिपाइले रोगको जोखिम थियो। सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको हो । अहिले ५३ वटा जिल्लामा औषधि सेवन अभियान कार्यक्रम बन्द भइसकेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वबाटै हात्तिपाइले रोग निवारण हुने लक्ष्य लिएको थियो। तर विभिन्न कारणले गर्दा नेपालमा अझै पनि जोखिम रहेकाले औषधि वितरण कार्यक्रम हुँदै आएको छ ।

के हो हात्तीपाइले रोग ?
हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउँदछ र यो रोग संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरिरमा यो परजीवि प्रबेश गरेको केही वर्ष पछि मात्र यस रोगका कारण हुने दीर्घकालीन असरहर देखिनछन् । २००१ को तथ्याङ्क अनुसार नेपालमा २.५करोमा हात्तीपाइले रहेको छ । त्यस्तै ३० हजारभनदा बढी हाईड्रोशिलका बिरामी रहेका छन् ।

विश्वमा अहिलेसम्म १२ करोड मानिस हात्तीपाइलेबाट सङ्क्रमित भएका छन् भने चार करोड मानिसहरु अंगभंग भएका छन् । त्यस्तै ८५.९ करोड मानिसहरु यस रोगको जाखिममा रहेका छन् ।

हात्तिपाइले रोग विरुद्धको औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुेका सुत्केरी र खाली पेटमा सेवन गर्न हुँदैन । यसका साथै सरकारले व्यक्तिको उचाइका आधारमा औषधिको मात्रा दिने गर्दछ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो