कात्तिक मङ्सिरमा मह उत्पादन कम भएर मर्कामा परेका किसानलाई यस पटकको फागुने तोरीले भने राहत दिएको छ । यो वर्ष पानी धेरै परेकाले यहाँ तोरी बाली फस्टाएको छ । यस क्षेत्रका अधिकांश किसानले तोरी खेती गरेकाले मह उत्पादन वृद्वि भएको हो ।

दुई दशकदेखि मौरीपालन व्यवसाय गर्दै आउनुभएका तुलसीपुर उपमहानगरपालिका–७ का किसान चेतमान भण्डारीले अघिल्लो वर्षको तुलनामा यो वर्ष मह उत्पादन दोब्बर हुने बताउनुभयो । यो वर्ष फागुनको तेस्रो सातासम्म प्रतिघार ४० केजी मह उत्पादन भइसकेको छ । अझै तोरीबाटै एक पटक र चैत वैशाखमा महिनामा चिउरी, रुदिलोबाट एकपटक मह काढ्न सकिने भण्डारीले बताउनुभयो, उहाँसँग २५० वटा मौरीका घार छन् ।

दाङ जिल्लामा व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका किसानको सङ्ख्या एक हजारभन्दा बढी छ । जिल्लामा प्रायः दुई सिजनमा मौरीको मह उत्पादन हुँदै आएकामा यो वर्ष भने किसानले तीन सिजनसम्म उत्पादन लिने भएका छन् ।

नेपाल मौरीपालक महासङ्घ दाङका अध्यक्ष विष्णु श्रेष्ठले यो वर्ष दाङमा करिब ३०० टन मह उत्पादन हुने बताउनुभयो । अध्यक्ष श्रेष्ठले तोरी सिजनको मह प्रतिकेजी ५५० र चिउरी, रुदिलो सिजनको मह ७५० रुपियाँ मूल्य रहेको बताउनुभयो । यहाँ उत्पादन गरेको मह बुटवल, नेपालगञ्ज, काठमाडाँै, पोखरा, चितवन, इटहरीसम्म पुग्ने गरेको छ । मौरीपालन महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष रामहरि शर्माले मौरी चरन क्षेत्रको विवादका कारण उत्पादनमा समस्या आउने गरेको बताउनुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो