सिन्धुपाल्चोक बलेफी–५ का रामबहादुर तामाङ चढेको बस २०६७ साल पुस १८ गते दुर्घटना भयो । लामो उपचारपछि तामाङको ज्यान त बच्यो तर कम्मरमुनिको भाग नचल्ने भयो । शारीरिक असशक्तता र जीवनको सार्थकता सकिएको सोचले ग्रस्त तामाङ रक्सीको लतमा पर्नुभयो । जीवनदेखि नै विरक्तिएका उहाँ ‘डिप्रेसन’ को सिकार हुनुभयो ।
तर श्रीमतीको प्रेम र हौसलाले काभ्रे भैंसेपाटीस्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा स्वास्थ्य लाभपछि उहाँ अहिले मनोपरामर्शदाताका रूपमा सक्रिय हुनुहुन्छ । तामाङ भन्नुहुन्छ, “त्यो दिन मेरो जीवन सकिएको हैन रहेछ, सुरुवात पो भएको रहेछ ।”
पुनस्र्थापना केन्द्रमा पुगेपछि जीविकोपार्जनको उपायसँगै मनोपरामर्शको तालिम लिएपछि जीवनको नयाँ मोड सुरु भएको अनुभव तामाङको छ । दुर्घटनामा परेर मेरुदण्डमा चोट लागेका आफूजस्तै साथीलाई जीवन कसरी जिउने भनेर उहाँले परामर्श दिँदै आउनुभएको छ । ह्विल चियर बास्केटबल टिम काभ्रे जिल्लाका कप्तानसमेत रहनुभएका तामाङ मेरुदण्डमा चोट लागेका आफूजस्तै साथीलाई पौडी प्रशिक्षणसमेत दिँदै आउनुभएको छ ।
मेरुदण्डमा चोट लागेका चितवन भरतपुरका ३६ वर्षीय नवराज रेग्मीसमेत सामाजिक अभियन्ताका रूपमा पीडितलाई परामर्श दिँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “कम्प्युटर र अङ्ग्रेजी शिक्षा सिक्दै छु, अब जीवनलाई आफू अनुकूल लगेर समाजका लागि केही गर्छु ।”
पत्रकार गजेन्द्र बुढाथोकी ह्विल चियर प्रयोगकर्ता हुनुहुन्छ । मेरुदण्डको चोटले ह्विल चियर प्रयोग गर्नेको सङ्ख्या बढे पनि ह्विल चियर प्रयोगकर्तामैत्री सडक र कार्यालय भवन नबन्दा समस्या परेको पत्रकार बुढाथोकी बताउनुहुन्छ ।
दिसा, पिसाब गर्न समस्या र यौनजीवनलाई समाप्त पार्ने मेरुदण्ड चोटले मानिसको सामान्य जीवन असामान्य बन्ने उहाँको अनुभव छ । आममानिसको भन्दा ह्विल चियर प्रयोगकर्ताको दैनिक हुने खर्च समेत बढी हुने गर्दछ । पत्रकार बुढाथोकी भन्नुहुन्छ, “म ह्विल चियर प्रयोगकर्ता बनेपछि ऋण गरेर घर किन्न बाध्य बनेँ ।”
प्रतिक्रिया दिनुहोस्