इलामसहित पूर्वी पहाडी जिल्लामा ल्यान्डरोभर जिपलाई ‘एडभेन्चर टुरिज्म’मा उपयोग गर्न सकिने भए पनि कसैको ध्यान जान सकेको छैन। बेलायतमा बनेका पुराना ल्यान्डरोभर जिप मर्मत–सम्भार गरी विकट पहाडमा पर्यटकका लागि प्रयोग गर्ने प्रशस्त सम्भावना रहे पनि त्यसतर्फ कसैको चासो नदेखिएको हो।

जिल्लाका सन्दकपुर, छिन्टापु, पाटेनागी, गोरुवाले, चोयाटार, जौबारी, मेघमा, तुम्लिङजस्ता उच्च पहाडी क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य हुन्। ल्यान्डरोभर चढेर यी क्षेत्र पुग्न पर्यटक औधि रुचाउँछन्। तर, ल्यान्डरोभरलाई अझै पनि पर्यटकको रोजाइ बनाउन नसकिएको व्यवसायी बताउँछन्। उल्टै सरकारले बेलाबेला ल्यान्डरोभर नै चलाउन बन्देज गर्नुले पर्यटन मात्र होइन, विकट ग्रामीण क्षेत्रको यातायात सुविधा नै टुट्ने गरेको छ। पुराना गाडीप्रति सरकारकै नीति स्पष्ट नबन्दा सम्भावनायुक्त ल्यान्डरोभर ओझेलिँदै छन्।

मेची र कोसीका पहाडी जिल्लामा यतिबेला डेढ सय हाराहारीमा ल्यान्डरोभर गुडिरहेका छन्। इलामदेखि ताप्लेजुङसम्म ९० भन्दा बढी ल्यान्डरोभर रहेको पूर्वेली जिप तथा ट्याक्सी यातायात प्रालिले जनाएको छ। प्राविधिक हिसाबले पनि मजबुत मानिने ल्यान्डरोभर पहाडी अप्ठ्यारो सडकमा लागि ज्यादै प्रभावकारी भइरहेको व्यवसायीको भनाइ छ। प्रालिका अध्यक्ष गीष्म सुब्बा ल्यान्डरोभर आफैं पनि पर्यटकीय साधन भएको बताउँछन्। ‘ऐतिहासिक ल्यान्डरोभरमा चढेर पहाडी क्षेत्र घुम्न पाउँदा पर्यटक रमाउँछन्,’ उनी भन्छन्, ‘उच्च पहाडी पर्यटकीय क्षेत्रमा त ल्यान्डरोभर एडभेन्चर नै हुने गरेको छ।’

इलामसँग जोडिएको भारतीय सीमा क्षेत्रमा भारतले ल्यान्डरोभरलाई व्यवस्थित ढंगले सञ्चालन गरिरहेको छ। दार्जिलिङतिरबाट उच्च पहाडी सीमा क्षेत्रमा पर्यटक लिएर आउने ल्यान्डरोभर सन्दकपुर, कालपोखरीलगायत ठाउँमा सयौंको संख्यामा देखिन्छन्। भारतमा सरकारी निकायबाटै यस्ता ऐतिहासिक ल्यान्डरोभरको संरक्षण प्रयास गरिएको छ। ल्यान्डरोभर त्यहाँका कतिपय व्यक्तिको सोख नै भएको देखिन्छ। व्यवसायीले पर्यटकका लागि पनि ल्यान्डरोभर नै प्रयोग गरिरहेका छन्।

भारतीय पर्यटन व्यवसायी र सौखिनहरूले बरु नेपालबाटै ल्यान्डरोभर किनेर लगिरहेका छन्। नेपालमा ८ लाख रूपैयाँसम्ममा खरिद–बिक्री भइरहेका बेला भारतीयले ल्यान्डरोभर जिप १६ लाख रूपैयाँसम्म तिरेर लगेको व्यवसायी बताउँछन्। ‘भारतीय व्यवासायीसमेत पुराना ल्यान्डरोभरमा निकै आकर्षित भएका छन्,’ उनले भने, ‘विशेष गरी भारतीय व्यवसायीले पर्यटकका लागि यस्ता सवारी प्रयोग गरेको देखिन्छ।’

निकै पुराना भए पनि प्राविधिक हिसाबले बलियो भएकाले विकट पहाडी गाउँका अप्ठ्यारा कच्ची सडकमा ल्यान्डरोभर गुड्न सक्छन्। दुरदराजका गाउँलाई अहिले ल्यान्डरोभरको ठूलो भर छ। बिरामीलाई अस्पताल पुर्‍याउने र ल्याउने काममा ल्यान्डरोभर नै ‘एम्बुलेन्स’ बन्ने गरेका छन्। टु ह्विल र अरू फोर ह्विल गाडीसमेत गुड्न नसक्ने सडकमा गुड्ने क्षमता भएका ल्यान्डरोभरले राति–दिउँसो पनि नभनी बिरामीलाई सहयोग गर्ने गरेको स्थानीय बताउँछन्।

जिल्लाका स्थानीय तहले विकास गरिरहेका दर्जनौं महत्वपूर्ण पर्यटकीय स्थलमा पर्यटक पुर्‍याउन–ल्याउन पनि पनि ल्यान्डरोभर गतिलो साधन बनिरहेका छन्। किसानले उत्पादन गरेको कृषिउपज बजार ल्याउन होस् वा गाउँमा खाद्यान्न पुर्‍याउन ल्यान्डरोभरको ठूलो सहयोग छ। वर्षामा समेत विकट गाउँसम्म पुग्ने यी साधन प्राकृतिक प्रकोप, दुर्घटना र अन्य जुनसुकै अवस्थामा गाउँ र सहर जोड्ने पुल बनेका छन्।

प्राविधिक हिसाबले पनि ल्यान्डरोभरको बनावट अरू सवारी साधनको भन्दा भिन्न हुन्छ। सुब्बाका अनुसार पांग्राको भाग अग्लो हुने र स्प्रिङ प्रयोग भएकाले ल्यान्डरोभर हत्तपत्त कच्ची सडकमा पल्टिने, ढल्किने समस्या हुँदैन। ‘यसको बनावट नै यस्तो छ कि निकै अप्ठ्यारो सडकमा पनि यात्रुका लागि आरामदायी छ,’ सुब्बा भन्छन्, ‘उमेरले पुरानो भए पनि नयाँ गाडीभन्दा अब्बल छन् ल्यान्डरोभर।’ व्यवसायीका अनुसार हिलो, खाल्डो, धुलो, उकालो–ओरालो जस्तोसुकै बाटोमा पनि ल्यान्डरोभर सहजै गुड्न सक्छन्।

स्थानीय जनशक्तिले नै मर्मत गरी चलाउन सक्ने भएकाले पनि ल्यान्डरोभर यात्रु र व्यवसायीका लागि सजिलो छ। बिग्रिएमा मर्मत गर्ने, कन्डिसनमा राखेर चलाउने सिप स्थानीय कामदारमै भएको चालक टीका तामाङ बताउँछन्। उनका अनुसार यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरूले नै पैसा कमाएर आफैं यो गाडी किनेका छन्, स्वरोजगार बनेका छन्। नयाँ गाडी किन्न धेरै रकम खर्चिनुपर्ने भएकाले सस्तो मूल्यका ल्यान्डरोभर युवाको रोजगारीका लागि सहज भएको तामाङको भनाइ छ।

दुर्घटना कम गर्न र वातावरण प्रदूषण घटाउन भन्दै सरकारले २० वर्ष पुराना सवारी चलाउन रोकेको थियो। तर उपयुक्त विकल्प नहुँदा अहिले पहाडी जिल्लामा मात्र चल्ने गरी ल्यान्डरोभर चल्न दिएको छ। २०७१ भदौ १९ मा २ वर्षपछि २० वर्ष पुराना गाडी हटाउने निर्णय सरकारले गरेको थियो। उपत्यकाबाट वर्ष दिनमा र उपत्यकाबाहिर २ वर्षपछि यस्ता सवारी साधन विस्थापित गर्ने गरी २०७२ फागुन १७ मा अर्काे निर्णय भयो। तर पूर्वी पहाडका यातायात व्यवसायी, राजनीतिक दल, स्थानीय प्रहरी–प्रशासनलगायतले तत्काल यसरी पुराना गाडी हटाउँदा विकट गाउँ यातायात सुविधाबाट वञ्चित हुने भन्दै सरकारको ध्यानाकर्षण गरे। त्यसको लामो समयपछि मात्र सरकाले गाडीको हालको अवस्था अभिलेख राखी पहाडी क्षेत्रमा पुराना गाडी चल्न दिने निर्णय गर्‍यो। अहिले ल्यान्डरोभर गाडीको दर्ता र नवीकरण हुन्छ तर नामसारी हुँदैन।

२०२३ सालमा जमुनाका ८६ वर्षे तोयानाथ भट्टराईले सीमावर्ती मेघमा गई स्थानीय व्यापारीबाट ल्यान्डरोभर किनेर चलाउन थालेका थिए। त्यतिबेला कृषिउपज बिक्री गर्न इलाममा फाट्टफुट्ट गाडी रहे पनि लेकाली भेगको भारी बोक्ने गाडी ल्यान्डरोभर मात्र रहेको उनी सम्झन्छन्। ‘निकै अप्ठ्यारो सडकमा उहिले ल्यान्डरोभर मात्रै गुडाउन सकिन्थ्यो, अझै पनि बाटो सुध्रिएको छैन,’ उनी भन्छन्, ‘बर्खामा अहिले पनि ल्यान्डरोभरबाहेक अरू गाडी अग्ला पहाडमा पुग्दैनन्।’

बेलायतमा बनेका ल्यान्डरोभर दोस्रो विश्वयुद्ध (सन् १९४१–१९४५) मा भारतमा प्रयोग भएका हुन्। यही इतिहास कायम राख्न सीमाछेउको दार्जिलिङमा चाहिँ पुराना ल्यान्डरोभरको जगेर्ना गएिको हो। त्यहाँ सिंहलीला ल्यान्डरोभर एसोसिएसन गठन गरी पुराना गाडी संरक्षण गरिएको छ। एसोसिएसनमा अहिले ५ दर्जनभन्दा बढी यस्ता गाडी छन्। नेपालपट्टि पनि यी सवारीसाधनलाई व्यवस्थित गरी पर्यटकीय आकर्षणका रूपमा प्रयोग गर्न सकिने स्थानीय व्यवसायीको भनाइ छ। ‘हामीले चिज चिन्न नसकेर मात्र हो, ल्यान्डरोभर जिप नीतिगत हिसाबले समेत व्यवस्थित गर्न सकिने हो भने पर्यटकले खोजी–खोजी प्रयोग गर्न सक्छन्,’ व्यवसायी सुमन काफ्ले भन्छन्, ‘अहिलेसम्म ल्यान्डरोभर यस्ता गाडी हुन् भनेर चिनाउन पनि व्यवसायी मात्र सक्रिय छन्, सरकारले यसलाई ऐतिहासिक सम्पत्तिका रूपमा चिनेकै छैन।’

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो