राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजामा पुरुषभन्दा महिलाको जनसंख्या बढी छ । जसअनुसार प्रति सय महिलामा पुरुषको संख्या ९५।९१ छ । मुलुकभरको जनसंख्याको लैंगिक अनुपात यस्तो रहे पनि काठमाडौं उपत्यकाका तीन जिल्लामा भने विगतका जनगणनामा जस्तै यसपटक पनि महिलाको तुलनामा पुरुषको जनसंख्या नै बढी देखिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरको जनसंख्या २९ लाख ९६ हजार ३ सय ४१ छ । उपत्यकामा बितेको १० वर्षमा ४ लाख ७९ हजार ३ सय १८ जना बढेका छन् । यो संख्या पाँच दशकअघि काठमाडौं जिल्लाको जनसंख्या बराबर हो । लैंगिक हिसाबले पाँच दशकयताका प्रत्येक जनगणनामा उपत्यकामा महिलाभन्दा पुरुषको संख्या बढी देखिने गरेको छ । सातौं राष्ट्रिय जनगणना ९२०२८० मा उपत्यकाका तीन जिल्लाको कुल जनसंख्या ५ लाख १२ हजार ६ सय ९० जना थियो । त्यसअनुसार यसपालिको जनगणनाले ५ दशकमा उपत्यकाको जनसंख्या ४ सय ८४ दशमलब ४३ गुणाले बढेको देखिन्छ । हरेक दशकमा पुरुषको संख्या बढ्दो छ ।

जनसंख्याविद्हरू प्रमुख रूपमा आन्तरिक बसाइँसराइका कारण उपत्यकामा पुरुषको संख्या बढी देखिएको बताउँछन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि शैक्षिक अवसर, वैदेशिक रोजगारीमा पुरुष बढी जाने तथा त्यसका निम्ति काठमाडौंमै आउनुपर्ने भएकाले पुरुषको संख्या बढी देखिएको उनीहरूको भनाइ छ । पढाइ, रोजगारीजस्ता अवसरका निम्ति गाउँघर या अरु सहरबाट काठमाडौं आउनु आन्तरिक बसाइँसराइ हो । त्यसमा महिलाको तुलनामा पुरुष बढी अग्रसर हुने मानिन्छ । बसाइँसराइ गर्नेमा १५ वर्षदेखि ४९ वर्ष उमेर समूहलाई सक्रिय ठानिएको छ । जनगणना नीतिअनुसार ६ महिनाभन्दा बढी बसेमा त्यहीँबाट गन्ती गर्ने गरिएको छ । तर, उपत्यकामा २०२८ सालयताका सबै जनगणनामा पुरुषको संख्या बढी पाइएको छ । केन्द्रीय तथ्यांक विभागले माघ १२ मा सार्वजनिक गरेको १२ औं जनगणनाको प्रारम्भिक नतिजाले काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५ सय ३२ देखाएको छ । त्यसमा पुरुष १० लाख २५ हजार ७ सय २७ छन् भने महिला ९ लाख ९१ हजार ८ सय ५ जना छन् । ललितपुरको जनसंख्या ५ लाख ४८ हजार ४ सय १ रहेकामा पुरुष २ लाख ७५ हजार ५ सय ३७ र महिला २ लाख ७२ हजार ८ सय ६४ छन् । त्यस्तै, भक्तपुरको जनसंख्या ४ लाख ३० हजार ४ सय ८ रहेको छ । त्यहाँ २ लाख १७ हजार ९ सय ४२ पुरुष छन् भने २ लाख १२ हजार ४ सय ६६ महिला छन् ।

जनसंख्याविद् प्रा। योगेन्द्र गुरुङ काठमाडौं उपत्यकामा आन्तरिक बसाइँसराइ गरेकाहरूको संख्या बढी रहेको बताउँछन् । ‘हामीले १० वर्ष अगाडि नै उपत्यकाको जनसंख्या ५० लाख छ भन्थ्यौं,’ उनी भन्छन्, ‘बढ्नु स्वभाविकै छ । जनसंख्या अझै बढी हुनुपर्ने हो ।’ उनकै भनाइमा माओवादी सशस्त्र युद्ध सुरु भएपछि काठमाडौंको जनसंख्या तीव्र रूपमा बढेको हो ।

उपत्यकामा पुरुषको संख्या बढी हुनुमा भ्रूण हत्या पनि एक कारण हुन सक्ने केही विज्ञहरूको शंका छ । यहाँ अस्पताल तथा स्वास्थ्य प्रदायक संस्था उल्लेख्य र सहज सेवा हुने भएकाले छोराको चाहनामा भ्रुण पहिचान गर्न सजिलो भएको उनीहरूको भनाइ छ । ‘ठोस अध्ययन त भएको छैन,’ केन्द्रीय तथ्यांक विभागका पूर्वउपमहानिर्देशक डा। रुद्र सुवाल भन्छन्, ‘हाम्रो समाज पितृसत्तात्मक हो । छोरा या छोरी समान भन्ने अवधारणा आए पनि भित्री रूपमा छोरा नै चाहिने मानसिकता छँदै छ ।’ तर, जनसंख्याविद् गुरुङ भने प्रारम्भिक नतिजाकै आधारमा ठोस निष्कर्षमा पुग्न नसकिने बताउँछन् । उपत्यकामा आन्तरिक बसाईसराइका कारण पनि पुरुषको जनसंख्या बढी भएको गुरुङको भनाइ छ । ‘पढ्न, जागिर खान, रोजगारी, विदेश जान काठमाडौं आउने बढी पुरुष हुन्छन्,’ गुरुङ भन्छन्, ‘उमेरअनुसार केलाउन पाए लिंग पहिचान गरी गर्भपतन गराएको छ कि भन्ने हुन्थ्यो । विस्तृत अध्ययनबिना लिंग पहिचानकै कारण पुरुषको संख्या बढ्यो भन्न सकिँदैन ।’

यो समाचार कान्तिपुर बाट साभार गरिएके हो