उपाधि साथ हेटौंडा–७ का विजेता टिम ।

हेटौंडा । हेटौंडामा भएको पाँचौं संस्करणको मेयरकप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७, ले जितेको छ । हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा बिहीबार सम्पन्न भएको फाइनल खेलमा हेटौंडा–३ लाई २–१ गोलले हराउँदै हेटौंडा–७ ले उपाधि उचालेको छ । हेटौंडा–७ को तर्फबाट कुशल अधिकारीले पहिलो हाफको २७ मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । सुजल श्रेष्ठले पहिलै हाफको ३१ मिनेटमा गोल गर्दै अग्रतालाई बढाएका थिए । खेलको दोस्रो हाफको ४४ मिनेटमा गोल गर्दै सम्पूर्ण नगरकोटीले टिमलाई सहानूभूति दिलाएपनि टिमलाई हारबाट जोगाउन भने सकेन्न् । खेलको म्यान अफ द म्याच हेटौंडा–७ का कुशल अधिकारी घोषित हुँदै २ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको उपाधि विजेता हेटौंडा–७ को टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता हेटौंडा–३ को टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका घोषित हुँदै हेटौंडा–३ का विजय दोङले २५ हजार रुपैयाँको नगद पुरस्काुर प्राप्त गरेका छन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट फरवार्ड हटौंडा–७ का कुशल अधिकारी, उत्कृष्ट मिडमिडफिडर हेटौंडा–७ का सुमीत गोले, उत्कृष्ट डिफेन्स हेटौंडा–७ का रोशन दोङ, उत्कृष्ट गोलरक्षक पुजन खड्का र उत्कृष्ट प्रशिक्षक हेटौंडा–७ का नैतिक थापा घोषित भएका छन् । उनीहरुलाई जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितमा १९ वटा वडाको सहभागी सहभागिता रहेको थियो ।

 

उपविजेता बनेको हेटौंडा–३ टिमले ट्रफी ग्रहण गर्दै ।

 

गत वर्षको तुलनामा यस वर्ष भने विजेता र उपविजेतालाई दिइने पुरस्कार राशिको रकम बढाइएको थियो ।हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेको सभाध्यक्षमा तथा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आथिथ्यमा पुरस्कार वितरण भएको हो । पुरस्कार वितरण समारोहमा वडाध्यक्षहरु, नगर खेलकुदका सदस्य लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका लागि उपमहानगरपालिकाले २० लाख रुपैयाँको बजेट बिनियोजन गरेको छ ।