हेटौंडा। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुका लागि  राहत तथा पुनर्स्थापनाका लागि पहलीकदम अघि बढाउन अपिल गर्दै कांग्रेसले १० लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने व्यवस्था गरेको छ ।

बागमती प्रदेश कांग्रेस कार्यसमितिबाट ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र बागमती प्रदेश संसदीय दलबाट ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग रकमका दुईवटा चेक कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस केन्द्रीय उपसभापति पुष्पा भुसाललाई हस्तान्तरण गरिएको हो ।

कांग्रेस बागमती प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा बनाइएको समन्वय समितिले प्रभावित जिल्लाका पार्टी नेतृत्वसँग समन्वय गरी  प्रभावित नागरिकको उपचार र आधारभूत आवश्यकतामा समेत ध्यान दिन सरकारलाई आग्रह गरेको बताए ।

अस्पतालमा उपचाररत घाइतेको निःशुल्क उपचार, बिरामी तथा कुरुवाका लागि आवश्यक खानाको व्यवस्था र दीर्घरोगीले प्रयोग गर्दै आएका निःशुल्क औषधिको नियमित उपलब्धता सुनिश्चित गर्न माग गरिएको बताइएको हो ।

प्रदेश प्रवक्ता तिलकप्रसाद रुवाली ले बताए अनुसार बाढीका कारण भत्किएका वा अवरुद्ध भएका संरचना, प्रभावित क्षेत्रमा आवतजावतमा समस्या रहेकाले वैकल्पिक सडक, झोलुङ्गे पुल तथा बेलीब्रिज निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरिएको छ ।

प्रभावितका लागि लागि तत्काल अस्थायी आवास र दीर्घकालीन रूपमा स्थायी पुनर्वासको योजना ल्याउनुपर्ने प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा राखेको १ हजार घर निर्माण तथा सीप, प्रविधि र बीउ पुँजी उपलब्ध गराउने कार्यक्रमलाई बाढीपीडितको पुनर्स्थापनामा केन्द्रित गर्न माग गरिएको छ ।

यसै विषयमा बोल्दै अचानक आएको  विपद्को समयमा राहत तथा उद्धारलाई प्रभावकारी बनाउन पार्टीको सम्पूर्ण संयन्त्रलाई परिचालन गरिएको कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बताएका छन् ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका बानियाँले बताए अनुसार भोटेकोशी बाढीको प्रभावमा  रसुवा, नुवाकोट र धादिङमा बढी देखिएको त्यस्तैगरि चितवन, गोरखा, तनहुँ र नवलपरासी समेत प्रभावित रहेको  छ । प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई आग्रह गरिएको छ ।

बानियाँ भन्छन् “यो विपदको घडीमा हरेकले साथ दिनुपर्छ । प्रकोपले सकेको हामीले फिर्ता ल्याउन त सक्दैनौ । तर केही सहयोग गर्न सक्छौँ । त्यो हामी सबैले गरौँ ।सकेको सहयोग गर्नुपर्छ । राहत वितरण र उद्धारका कामलाई स्थानीय आवश्यकताअनुसार अघि बढाउन प्रदेशदेखि वडा र टोल तहसम्मका संगठनलाई परिचालन गरिएको छ । सिङ्गो कांग्रेसपनि जनताको दुखमा भरपुर साथ दिन तयार छ ।बाढीमा परी ज्यान गुमाउनुहुने हरेक नारिक स्वदेशी तथा विदेशी नागरिकप्रति कांग्रेस बागमती प्रदेश श्रद्धाञ्जली व्यक्त गर्दछ ।”