रोशन दिप – सर्वसाधारण नेपाली जनतालाई दुइ पटकको छाक टार्नको लागि हम्मे हम्मे परिरहेको छ । अहिले नुन देखि सुन सम्म हरेक कुरामा महङ्गी छ । महंगी थेग्न नसक्ने भएर चाडैनै नेपालमा भोकमरी सुरु हुने जस्तो देखिएको छ।
यसै विषयमा युवा तथा समाजिक अभियन्ता भोजराज संजेलले महँगी केवल आर्थिक विषय मात्र नभई जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएको बताए । उनको अनुसार इन्धनको मूल्यवृद्धिसँगै यातायात, खाद्यान्न, निर्माण सामग्री तथा अन्य अत्यावश्यक वस्तुको मूल्यसमेत बढ्ने भएकाले यसको असर सम्पूर्ण जनजीवनमा पर्ने गर्दछ ।
उनि भन्छन्, “आज सर्वसाधारण नागरिक सबैभन्दा बढी महँगीको मारमा परिरहेका छन् । पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्दा त्यसको असर सीधा जनताको भान्सासम्म पुग्छ । आम्दानी स्थिर छ तर खर्च दिनप्रतिदिन बढिरहेको अवस्था चिन्ताजनक छ ।”
विशेषगरी विद्यार्थी, श्रमिक, किसान, साना व्यवसायी तथा न्यून आय भएका परिवारहरू अहिले आर्थिक रूपमा बढी प्रभावित भएका छन् । बजार अनुगमन प्रभावकारी नहुँदा तथा मूल्य नियन्त्रणमा स्पष्ट रणनीति नदेखिँदा नागरिकमा असन्तुष्टि बढिरहेको उनको बुझाइ छ ।
संजेलले सरकारले जनताको दैनिक जीवनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिँदै महँगी नियन्त्रण, बजार व्यवस्थापन, उत्पादन वृद्धि र रोजगारी सिर्जना जस्ता विषयमा प्रभावकारी कदम चाल्न आवश्यक रहेको जिकिर गरे।
उनी भन्छन्, “जनताको आधारभूत आवश्यकता सहज बनाउन नसक्ने अवस्था आयो भने त्यसले राज्यप्रतिको विश्वास कमजोर बनाउँछ। अहिले नागरिकलाई भाषणभन्दा राहत र व्यवहारिक समाधान आवश्यक छ ।”
सरकार, सम्बन्धित निकाय तथा सरोकारवालाले महँगी नियन्त्रण र जनताको आर्थिक समस्या समाधानतर्फ गम्भीर भएर काम गर्नुपर्ने भन्दै जनताको जीवन सहज बनाउने नीति नै वास्तविक विकासको आधार रहेको उनको भनाई छ ।



























प्रतिक्रिया दिनुहोस्