हेटौंडा । छिमेकी मूलूक भारतको मुनसोङ जारी ८० औं इन्डिपेन्डेनस डे फुटबल प्रतियोगिता अन्तर्गत मकवानपुरको हेटौंडा फुटबल एकेडेमीले आफ्‌नो पहिलो राउण्ड अफ ३२ को खेल भोलि शुक्रबार खेल्ने भएको छ । ८० औं इन्डिपेन्डेनस डे अर्थात स्वतन्त्र दिवसको अवसरमा पश्चिम बंगाल प्रदेशको कालिम्पोङ जिल्लाको मुनसोङमा जारी खेलमा प्रि र्क्वाटरफाइनल प्रवेशका लागि साविक विजेता समेत रहेको हेटौंडा फुटबल एकेडेमीको टोली र माम्रिङ ब्वाइबीच भिड्न्त प्रतिस्पर्धा हुने भएको हो ।
भोलि शुक्रबार दिउँसो साढे १ बजेबाट सुरु हुने प्रतियोगितामा दुबै टिम जीतको लक्ष्यसहित मैदानमा उत्रने टिम कप्तान छिरिङ लामाले जानकारी गराएका छन् । शुक्रबारको खेलमा जीत निकाल्न सकेमा हेटौंडा फुटबल एकेडेमीको टोलीले आफ्‌नो प्रि क्वार्टरफाइनलको स्थान सुरक्षित गर्नेछन् भने हाइल्याण्ड वारियर टिमसँगको भेट पक्का हुनेछ । आज बिहीबार भएको आफ्‌नो पहिलो खेलमा हायल्याण्ड वारियरले एनजेसी सिम्केलाई सडन डेथमा पराजित गरेरे प्रि क्वाटर्फाइनलमा प्रवेश गरेको थियो ।
हेटौंडा फुटबल एकेडेमीले लगातार दुई पटक मुनसोङमा सम्पन्न भएको फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगितामा ३२ वटा टिमहरुको सहभागिता रहेको छ । मुनसोङ स्पोर्टस् क्लबको आयोजनामा जुलाई २६ तारिखबाट सुरु भएको फुटबल प्रतियोगिताको फाइनल खेल भने अगष्ट १५ अर्थात इन्डिपेन्डेनस डे को दिन हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । क्लबले यस वर्षबाट प्रतियोगिताको पुरस्कार राशिको रकम बढाएको हो । हेटौंडा फुटबल एकेडेमीको टोलीले यो सँगै सिक्किममा हुने इन्डिपेन्डेनस डे को विभिन्न फुटबल प्रतियोगिताहरुमा सहभागी भएको बताइएको छ ।