डी.ए.भी शुशील केडिया विश्व भारती विद्यालयले स्कुल सपोर्ट प्रोजेक्ट अन्तर्गत राइजिङ्ग एकेडेमी, न्यु प्लाजा काठमाडौँका सञ्चालक, शिक्षक र कर्मचारीहरूलाई एक दिवसिय तालिम तथा अभिमुखीकरण सिप प्रदान गरेको छ।

डी.ए.भी. विद्यालयकाअनुसार उक्त तालिम तथा अभिमुखीकरण गोष्ठी  विद्यालयको विभिन्न सामाजिक कार्यक्रमहरू मध्यको एक अंश भएको उल्लेख गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै डी.ए.भी. विद्यालयका अध्यक्ष अनिल केडियाले डी.ए.भी शुशील केडिया विश्व भारती विद्यालय र राइजिङ्ग एकेडेमी, न्यु प्लाजा काठमाडौँबीच लामो समयदेखि सहकार्य रहेको बताए।
सोही अवसरमा उनले राइजिङ्ग एकेडेमी, न्यु प्लाजाका सञ्चालक शिक्षक र कर्मचारीहरूलाई सफलताको  शुभकामना दिदै शिक्षा क्षेत्रमा पवित्र मन, बचन र कर्मले समर्पित रहन प्रेरित गरे।

साथै अध्यक्ष अनिल केडियाले शिप हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रमको अवधि ३ बर्ष रहेको बताए। जसअनुसार २ बर्ष भित्र डी.ए.भी. विद्यालयले राइजिङ्ग एकेडेमी, न्यु प्लाजा काठमाडौँ परिवारलाई विभिन्न प्रकारका तालिमहरू प्रदान गर्नेछ, तेस्रो बर्ष परीक्षण बर्ष रहने छ र त्यस उप्रान्त राइजिङ्ग एकेडेमी स्वतन्त्र रूपमा कार्य सम्पादन गर्दै अगाडी बढ्ने छ।

तालीमकी मुख्य प्रशिक्षक विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले  मिसन, भिजन, लक्ष्य, क्लासरूम्स  थिम्स  र सर्वाङ्गिन विकासका विभिन्न आयामहरूको चर्चा गरेकी थिइन्।

साथै डा. रावले ब्लूम ट्याक्सोनोमि अन्तर्गत चिन्तन, सिकाई र बुझाई सम्बन्धित बिभिन्न्न तथ्य  र अनुसन्धानले सुझाएका नविनतम् बिधि र पद्धतिहरू प्रकाश पारेकी थिइन्।

विद्यालयकी प्रमुख प्रशासकीय अधिकृत विजया टाटरले  विद्यार्थीहरूको परिक्षण प्रणाली र परीक्षाको विभिन्न ब्यबहारिक अनुभव उल्लेख गरिन्

विद्यालयका अधिकृत प्रशान्त सामल उक्त कार्यक्रमको मेंटर रहेका थिए।  त्यस्तै विद्यालयका माध्यमिक तहका कोर्डिनेटर ट्यांक मेघजी देवजीले अनुशाशन, सञ्चार, बिहानी प्रार्थनासभा, क्लासरूम्स निरीक्षण बारे चर्चा गरे।

त्यसैगरी निम्न माध्यमिक कोर्डिनेटर कृष्ण जोशीले स्कूल ब्यबस्थापन र अङ्ग्रेजी बिभागका सदस्य शिबीन भर्गीसले अतिरिक्त क्रियाकलाप बारे प्रस्तुत गरे।

राइजिङ्ग एकेडेमी, न्यु प्लाजा काठमाडौँका सञ्चालक तथा प्रिन्सिपल कुमार भटराईले डी.ए.भी विद्यालयको सहयोग र हौसलाको लागि राइजिङ्ग एकेडेमी परिवार सधैँ अनुग्रहित रहेको उल्लेख गरे।  उनले आफ्नो विद्यालयको बिकाशको लागि डी.ए.भी विद्यालयको सहयोग अपरिहार्य रहेको उल्लेख गरे।कार्यक्रमको अन्त्यमा सहभागी शिक्षक र कर्मचारीहरूले एक दिवसिय तालिमको अनुभव प्रस्तुत गरे।

डी.ए.भी विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले आफुहरू राइजिङ्ग एकेडेमी, न्यु प्लाजा काठमाडौँको प्रगतिको  लागि प्रतिबद्ध रहेको उल्लेख गरिन्। साथै, उनले उक्त कार्यक्रम भविष्यमा अनुभव  र अनुभूति साट्ने साझा मंचको रुपमा बिकाश  हुनुपर्नेमा जोड दिइन्।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो