कलाकारहरुले भारतीय चलचित्रलाई कोटा प्रणालीबाट मात्रै प्रदर्शन गर्न पाउने व्यवस्था मिलाउन माग गरेका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणलाई बिहीबार भेटेर नेपाली कलाकारहरुले भारतीय चलचित्रलाई कोटा प्रणालीबाट मात्रै प्रदर्शन गर्न पाइने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
‘प्राइम टाइम’मा नेपाली चलचित्रलाई प्राथमिकतामा राखेर प्रदर्शन गर्ने व्यवस्था मिलाउन पनि उनीहरुले आग्रह गरे । हल सञ्चालकहरुले भारतीय चलचित्रलाई प्राइम टाइममा रिलिज गरेर नेपालीलाई उपेक्षा गरेको आरोप लगाए ।
अभिनेता भुवन केसीले भारतीय चलचित्रको ‘डोमिनेसन’मा नेपाली चलचित्र परेको भन्दै यसलाई कम गर्न विदेशी चलचित्रलाई कोटा प्रणालीबाट मात्रै प्रदर्शन गर्ने व्यवस्था मिलाउन आग्रह गरे । ‘विदेशी चलचित्रले नेपाली चलचित्रलाई डोमिनेसन गरेको छ, हामी यसको मारमा परेका छौं, यो विषयमा सरकारको ध्यान जाओस् ।’
अभिनेत्री दीपाश्री निरौलाले करोडौं रकम खर्चेर उत्साह र खुसीका साथ चलचित्र निर्माण गरिए पनि हिन्दी चलचित्रका कारण रिलिज गर्ने बेलामा दुःखी बन्नु परेको बताइन् ।
करोडौं रकम खर्चेर ‘विदेशी चलचित्रका कारण हलमा रिलिज गर्ने बेला खुम्चिनु परेको छ, हामी यसमा दुखी छौं,’ विदेशी चलचित्र रिलिजमा कोटा प्रणाली लगाउन माग गर्दै उनले भनिन्, ‘सरकारले यो विषय सुनिदिनुपर्यो ।’ चलचित्र अभिनेता तथा निर्माता नवल खड्काले नेपाली र विदेशी चलचित्रलाई सँगसँगै प्रतिस्पर्धा गराउनु ‘बाघ र बाख्रालाई एक साथ दौडाउनु जस्तै भएको बताए ।
‘भारतीय सिनेमाको छायामा हामी पर्यौं, यसलाई कम गरेर नेपाली सिनेमाको विकास गर्न हिन्दी सिनेमालाई कोटा प्रणालीमा रिलिज हुने व्यवस्था मिलाउनुपर्यो, यसो हुन सकेन हामी हाम्रो लगानी पनि नउठ्ने स्थिति बन्न सक्छ,’ उनले भने, ‘नेपाली सिनेमाको विकासमा सरकारले ध्यान नदिने हो भने पैसामात्रै विदेश जाने होइन, हाम्रो कलारसंस्कृति पनि विदेशीकै हाबी हुन्छ, यसले देशको हित गर्दैन ।’ उनले अब कलाकारलाई गहना भन्न छोडेर राष्ट्रको मेरुदण्ड मान्नु पर्ने बताए । नेपाली चलचित्र सुटिङका क्रममा सुरक्षाकर्मीका कारण थुप्रै व्यवधान व्यहोर्नु परेको भन्दै सुटिङका लागि सहजीकरण गर्न पनि माग गरे ।
कलाकारहरुसँगको भेटमा गृहमन्त्री खाँणले चलचित्रसँग सम्बन्धित सबै संघसंस्थासँग बसेर बृहत् छलफल गरी आवश्यक निर्णय लिइने प्रतिबद्धता जनाए । चलचित्र सुटिङका हातहतियार लगायतका उपकरण प्रयोगसम्बन्धी सामग्री केन्द्रित कार्यविधिको मस्यौदा बनाउन पनि मन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिएका थिए ।
समाचार कान्तिपुरबाट साभार गरिएको हो ।























प्रतिक्रिया दिनुहोस्