हेटौंडा-रसुवाको भोटेकोशीमा भदौ – १० मा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये फेला परेको शव चितवन जिल्लाबाट संकलन गरि पहिचान नभएका शवहरूको व्यवस्थापन गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
प्रशासनले शनिबार एक सूचना जारी गर्दै सुरक्षित र कानुनी रुपमा व्यवस्थापन गर्न लागिएको जानकारी दिएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा हस्ताक्षरित सूचना जारी गर्दै बाढीमा परी जिल्लाबाट हालसम्म कुल २३३ वटा शव सङ्कलन भएका थिए। तीमध्ये ४ वटा शवको पहिचान भइसकेको छ । बाँकी २२९ वटा शवहरू होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थाहरूमा राखिएका छन्।
यस्तो छ सूचना
रसुवा बाढीका शव व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय, चितवनको सूचना !
विनाशकारी रसुवा बाढीमा परी यस जिल्लाबाट हालसम्म संकलन भएका २३३ मध्ये ४ वटा शवहरु पहिचान भएका र २२९ वटा शवहरु होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थाहरुमा रहेका छन् । होल्डिङ्ग सेन्टर र स्वास्थ्य संस्थाहरु तथा नदी तटबाट संकलन भएका शव/शवका अवशेषहरु सडेगलेका र अब पहिचान हुन/गर्न नसकिने अवस्थामा छन् । तत्कालिक व्यवस्थापकीय प्रबन्धबाट राखिएका त्यस्ता शवहरु दुर्गन्धित बन्दै गएका कारण संक्रमण/महामारी फैलिन सक्ने भन्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुको राय/ विश्लेषण रहेको छ। तसर्थ, प्राप्त शवहरु थप सड्न/गल्न नदिन, त्यस्ता शवहरुको सम्मानजनक, सुरक्षित र कानूनी रुपमा व्यवस्थापन गरी सम्भावित संक्रमणको जोखिमबाट बचाउन बाध्यात्मक विकल्पको रुपमा जिल्ला सुरक्षा समिति चितवनको आज मिति २०८३।०५।१३ को निर्णयानुसार पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम सबै शवहरु जमिनमूनि व्यवस्थापन गर्ने निर्णय भएको छ। यस निर्णय बमोजिम सबै शवहरुको DNA नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राख्ने गरी आजैदेखि भरतपुर महानगरपालिका वडा नं. १ देवघाटस्थित खुला स्थानमा व्यवस्थापन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
शोकको यस विषम परिस्थितिमा प्रस्तुत निर्णयलाई सकारात्मक रुपमा लिँदै सहयोग, समन्वय एवं सूचना सम्प्रेषण गरिदिनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ। बाध्यात्मक परिस्थितिबाट श्रृजित यस निर्णयबाट पिडित परिवारलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।
यस विषयमा थप सूचना, जानकारीका लागि निम्न नम्बरहरुमा सम्पर्क गर्नुहुन अनुरोध छ:
– प्रहरी निरीक्षक, श्री अनिल थापा, ९८५५०-१७०९९
– स. प्र. हवल्दार, श्री सुजन खनाल, ९८५१३५९९५८






















प्रतिक्रिया दिनुहोस्