हेटौंडा । हेटौंडा–१०,स्थित टिसीएन चौरमा जारी दोस्रो वृह्‌त खेलकुद, कृषि तथा पर्यटन महोत्सवको मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै थाहा नगरपालिका वडा नम्बर–२,स्थित मंगलेश्वर युवा क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा थाहा नगरपालिका वडा नम्बर–६,स्थित नव प्रतिभा साँस्कृतिक युवा क्लब बज्रबाराहीलाई ३ वटै सेटमा सहजै पराजित गर्दै मंगलेश्वर युवा क्लब फाइनको यात्रा पूरा गर्दै उपाधि नजिक पुगेको हो ।

मंगलेश्वर युवा क्लबले क्रमशः२५–१९, २५–१८ र २५–१४ को सोझो सेटले नव प्रतिभा क्लबलाई सहजै पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत अहिले दोस्रो सेमीफाइनल खेलमा मनहरी गाउँपालिका र छहारी युवा सेवा समाजबीच प्रतिस्पर्धा भएको छ । दुई टिम मध्येको विजेताले फाइनलमा मंगलेश्वर युवा क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । फाइनल खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजक समितिका नरेन्द्र मोक्तानले जानकारी दिएका छन् ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पराजित हुने दुई टिमले १५/१५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगितामा ७ वटा विधाका खेलाडीहरुलाई नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ भने अन्य उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट प्रशिक्षक र उद्यान खेलाडीलाई २/२ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने छ ।

रातो समाचार संवाददाता
थप जानकारी