बल नियन्त्रणमा लिएर गोल रोक्दै गोल रक्षक खेलाडी ।

हेटौंडा । हेटौंडामा जारी पाँचौं संस्करणको हेटौंडा उपमहानगरपालिका मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत आज क्वार्टरफाइनल चरणको अन्तिम खेल खेलहरु सञ्चालन हुँदैछन् । नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको मेयरकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनल चरणको अन्तिम दुई खेल हुने भएको हो । सोमबार हेटौंडा–५,पिप्ले–स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिता अन्तर्गत अन्तिम क्वार्टरफाइनल चरणको पहिलो खेलमा हेटौंडा–१ र हेटौंडा–११ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा हेटौंडा–७ र हेटौंडा–१८ बीच प्रतिस्पर्धा हुनेछ । सोमबार दुई टिमबीचको खेल सम्पन्न भएसँगै मेयरकप फुटबल प्रतियोगितामा सेमीफाइन खेलको टुङ्गो लाग्ने छ । दुबै टिमका खेलाडी जितको योजनासहित मैदानमा प्रवेश गर्नेछन् । आइतबार भएको खेलमा जीत निकाल्दै हेटौंडा–३ र हेटौंडा–१५ सेमीफाइनलमा प्रवेश गरेका छन् ।

हेटौंडा–३ ले हेटौंडा–८ ३–१ गोलले हराउँदै सेमीफाइनलको यात्रा पूरा गरिसकेको छ भने हेटौंडा–१० लाई हेटौंडा–१५ ले ३–२ गोलले हराउँदै सेमीफाइनलमा प्रवेश गरिसकेको छ । प्रि क्वार्टरफाइनल चरणको पहिलो खेलमा हेटौंडा–१३ लाई ३–१ गोलले हराउँदै हेटौंडा–३ क्वार्टरफाइनलमा प्रवेश गरेको थियो भने प्रि क्वार्टरफाइनल चरणको अर्को खेलमा हेटौंडा–५ लाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै हेटौंडा–१५ क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । मंगलबार भएको पहिलो खेलमा हेटौंडा–१४ लाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै हेटौंडा–१ ले विजयी सुरुवात गरेको थियो शनिबार भएको उद्घाटन खेलमा साविक विजेता समेत रहेको हेटौंडा–४ लाई ३–० गोल अन्तरले हराउँदै हेटौंडा–११ ले विजयी सुरुवात गरेर क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । यस्तै, दोस्रो खेलमा हेटौंडा–६,लाई टाइब्रेकरमा हराउँदै हेटौंडा–११ले क्वार्टरफाइनलको यात्रा पूरा गरेको थियो । प्रतियोगितामा १९ वटा वडाको टिमको सहभागिता रहेको थियो ।

हेटौंडाका वडा भित्रका खेलाडीबीच प्रतिस्पर्धा गराउन, एक अर्काबीच भातृत्व सम्बन्ध कायम गराउन खेलको महत्वको बारे बुझाउन र फुटबल खेल प्रतिको रुचिलाई अभिवृद्धि गराउनका लागि प्रतियोगिताको आयोजना गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेले जानकारी दिएका छन् । प्रतियोगिताको आयोजना गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले २० लाख रुपैयाँको बजेट विनियोजन गरेको अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेले बताए । नगर खेलकुदले फुटबल खेलको विकास गर्नका लागि विगत ४ वर्षदेखि मेयरकप फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको अध्यक्ष घिमिरेले बताए । गत वर्षको तुलनामा यस वर्ष भने विजेता र उपविजेतालाई दिइने पुरस्कार राशिको रकम बढाइएको नगर खेलकुदका सदस्य विजय गौतमले बताए ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीहरुका लागि २ हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ ।