मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ सुरु भएको आज आइताबार पाँचौ दिन दर्शकहरु उत्साहित थिए ।

हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा मेला भर्न आउनेहरु कलाकारहरुको बिभिन्न प्रस्तुतीमा रमाउदै गीतसंगीतमा झुमेका थिए।

स्याण्टअप कमेडीमा चर्चित रहेकी कमेडियन सीता न्यौपानेको प्रस्तुतीमा दर्शकको हँसो रोकिएन ।

गायक रमेशराज भट्टराई र गायिका सहिमा श्रेष्ठले विभिन्न गीत प्रस्तुत गर्दै हेटौंडेली दर्शकलाई नचाएका थिए ।
गायक भट्टराईले बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई लगायत विभिन्न गीत प्रस्तुत गर्दै दर्शकविचमा पुगेपछि दर्शकहरु झुमेका हुन् ।

महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर अन्तरगर्त सञ्चो हस्पिटलका फिजिसियन डाक्टर सचिन दासको नेतृत्वमा सेवा प्रदान गरिएको थियो ।

महोत्सवमा हेटौंडा आइडल, डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको मःम, रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका प्रवक्ता उज्वल चौलागाईले बताए।

प्रवक्ता चौलागाईले बताए अनुसार  सोमबार चर्चित बाल गायक अशोक दर्जी, गायक,संगीतकार टंक बुढाथोकी, गायिका मञ्जु पौडेल, हेटौंडेली कलाकार सुलेमान शंकर ईकु, गायक प्रदीप त्रिपाटी आउने भएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापार मेला गरेको थियो।त्यसैगरि संघले २०४३, २०५३, २०५५, २०५६ सालमा मेला गरेको थियो भने २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला गरेको हो।
२०६८, २०७०, २०७२ र २०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको हो।

महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको र कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगाएत विभिन्न ३ सय ३७ वटा स्टलहरु रहेका छन् ।

मेलामा कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायतकाको स्टलहरु छन् ।

 

११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।

……………………….