नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाले २७ औं बार्षिकोत्सवको अवसरमा नवनिर्वाचित सांसदहरु, पत्रकार, असल बचतकर्ता, ऋणी, जेष्ठ नागरिक, एकल महिला, जेष्ठ शेयर सदस्य, कर्मचारी तथा सहयोगीहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा पत्रकार अशोकसुजन श्रेष्ठ, सहकारीका असल बचतकर्ता प्रतिमा बाबु श्रेष्ठ, असल मासिक बचतकर्ता सोमबहादुर दोङ्ग लामा, असल ऋणी सुशिला कमिनी, बृद्ध भत्ता प्राप्त गर्ने सदस्यहरु, वडाको जेष्ठ नागरिक, एकल महिला, जेष्ठ शेयर सदस्यहरुलाई नगद तथा उपहारसहित शुक्रबार हेटौंडामा सम्मान गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सांसद एकालाल श्रेष्ठ र समानुपातिक प्रदेश सांसद लक्ष्मी श्रेष्ठलाई दोसल्ला ओडाएर बधाई तथा सम्मान गरिएको थियो ।
त्यस्तै, सहकारीको खुत्रुके बचतकर्ता, उत्कृष्ट बचत समूह, सहकारीको दैनिक निर्माण सामग्री लोड अनलोड गर्ने सहयोगीहरु, संस्थाबाट सम्पूर्ण निर्माण सामग्री प्रयोग गरी घर निर्माण गर्ने सदस्यहरु, नियमित कारोबारीहरु, निर्माण सामग्री बिक्रीमा बिशेष भुमिका खेल्नेहरु, सहकारीका विशेष सहयोगी लगायतलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सांसद एकालाल श्रेष्ठले सहकारी सामाजिक संस्था भएकाले जागरण र समाजको विकासको महत्वपूर्ण काम गर्नुपर्ने बताउँनुभयो । ‘सहकारीहरुको सामाजिक गतिविधि प्रसंशनीय भएपनि अझै धेरै काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सहकारी र यस क्षेत्रको विकास मैले सक्दो ध्यान दिनेछु।’
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले उपमहानगरले सहकारीसम्बन्धि नीति बनाउँदै गरेको भन्दै आर्थिक उद्यम विकासमा सहकारीहरुले भुमिका खेल्नुपर्ने बताउँनुभयो । ऋण लगानी गर्दा सहकारी सचेत हुनुपर्ने भन्दै एक जना ऋणी घाटामा जाँदा समग्र सहकारीमा असरपर्नेमा गम्भीर हुनुपर्ने उहाँको तर्क थियो ।
‘कोभिड, डेंगु जस्ता रोगबाट नगरवासीलाई जोगाउन हामीले भुमिका खेलेका छौ,’ उहाँले भन्नुभयो, ‘सफा हेटौंडा, स्वच्छ हेटौंडा भन्ने अभियान जस्ता अभियानमा जोडिन सहकारी र सहकारीकर्मीलाई आग्रह पनि गर्दछु ।’ बचत, ऋण लगानीसँगै सहकारीहरु समाज परिवर्तनमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, सहकारीका सल्लाहकार प्रकाश पौडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ९ की अध्यक्ष रमिला सापकोटा लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा हेटौंडा ९ का वडा अध्यक्ष शुकराम केसी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडा, नारायणी बहुउद्धेश्यीय सहकारीका पूर्व अध्यक्ष निरञ्जन ढकाल, सल्लाहकार विजेन्द्र अग्रवाल, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाकी उपाध्यक्ष सति खड्का न्यौपाने, उपभोक्ता मञ्च हेटौंडाका अध्यक्ष कुमार प्रसाद पौडेल, कु्श्माण्ड सरोवर त्रिवेणीधामका अध्यक्ष ईश्वरी न्यौपाने लगायतको आतिथ्य रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्