पूर्वीय दर्शनमा गुरुकुलको खुब चर्चा हुन्छ। आधुनिक शिक्षाका विकास हुनु अघि ज्ञान आर्जन गर्ने मुख्य थलो गुरुकुल नै थियो। अहिले सबैतिर आधुनिक शिक्षाका लागि सामुदायिक र नीजि तथा संस्थागत विद्यालयहरु खुल्ने लहर चल्दा गुरुकुलहरु विस्तारै विस्थापित हुँदै गएका छन्। विगतको द्वन्द्वको समयमा बचेकुचेका गुरुकुल पनि कतिपय बन्द भए भने कतिपय स्थानान्तरण भएका छन्। त्यही द्वन्द्वको समयमा २३ वर्ष अगाडि विस्थापित भएको गुरुकुल पुनस्थापना गर्न बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँमा रहेको त्रिपुरेश्वर धाम महादेव मन्दिर परिसरमा धार्मिक महोत्सव आयोजना गरिएको छ।
बिहुँ रामकोट मन्दिरमा यहि मंसिर २२ गते देखि २८ गतेसम्म बिहुँकोट धार्मिक महोत्सव २०७९ आयोजना गरिएको हो। अन्तर्राष्ट्रिय बिहुँकोट समाज र त्रिपुरेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा धार्मिक पर्यटन विकाससंगै संस्कृत पाठशाला सञ्चालनका लागि महायज्ञ आयोजना बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताए। ‘आदरणीय गुरुवर १००८ स्वामी परमानन्द सरस्वती महाराजज्यूले थालनी गरेको गुरुकुल यहाँ द्वन्द्वकालमा सञ्चालन हुने अवस्था नभएपछि विस्थापित हुनुपर्यो,’ उनले भने,‘उहाँले स्थापना गरेका ३५/३६ आश्रम छन्। अस्तव्यस्त भएको गुरुकुललाई यहाँ पुनस्थापना गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गरिएको हो।’
गुरुकुल पुनस्थापना हुँदा बसाँई सराईले रित्तिएको गाउँ पुनः भरिने उनको विश्वास छ। ‘यहाँ पठन पाठनसंगै यहाँका बसाइँ सराई रोकेर यो ठाउँलाई फेरी हराभर बनाउन सकिन्छ कि भन्ने पनि हामीलाई लागेको छ,’ उनले भने। दुई वर्ष अगाडि नै जापानमा आयोजना गर्ने तयारी गरिएको धार्मिक महोत्सव कोरोनाका कारण गर्न नसकिएको सुवेदीले बताए। ‘हामीले दुई वर्ष अगाडि नै जापानको टोकियोमा गर्ने भनेर संकल्प गरेका थियौं,’ उनी भन्छन्,‘कोरोनाका कारणले सफल बनाउन सकेनौं।’ हाल देवघाटमा सञ्चालन रहेको गुरुकुल जस्तै आवासीय रुपमा सञ्चालन गर्ने योजना रहेको छ। ‘सबैको सहयोग पाईयो भने देवघाटको जस्तै आवासीय बनाउँछौं,’ उनले भने।
धार्मिक महोत्सवबाट तीनदेखि पाँच करोड रुपैयाँ संकलन गर्ने आयोजकको अपेक्षा छ। ‘केही रकमहरु बोलकबोल भएको छ, कतिपय खातामा जम्मा भैसकेको पनि छ,’सुवेदीले भने,‘हामीले तीन देखि पाँच करोडसम्म संकलन गर्ने लक्ष्य राखेका छौं।’ सशस्त्र द्वन्द्व चर्किदै जाँदा २०५६ सालमा बाध्य भएर देवघाट सारिएको गुरुकुल पुस्थापित गर्ने सोंचमा रहेको त्रिपुरेश्वर धाम आश्रमका सञ्चालक १००८ स्वामी ज्ञानानन्द सरस्वती बताए। ‘द्वन्द्व सुरु भएदेखि नै विद्यार्थीहरुको कमी हुँदै गएको थियो, २०५६ सालमा पुग्दा द्वन्द्वले भयभित भएका शिक्षक विद्यार्थी आउने अवस्था रहेन,’ उनले भने,‘मैले बन्द नै गर्न त सकिन। देवघाटमा लगेर पुनस्थापित गरिएको हो। सबैको सहयोग भयो भने पुनस्थापित गर्न सकिन्छ भन्ने मेरो विश्वास हो।’
विगतमा भक्तहरु गरेको दान दक्षिणा खर्चेर सञ्चालन गरिएको गुरुकुल अहिले समय परिवेश बदलिएकाले आर्थिक स्रोत बढि चाहिने अवस्था बनेको उनको भनाई छ। ‘नेपालको परिवेशमा मुष्ठीचिम्ती, भक्तहरुको दानदक्षिणा साधुले आफ्नो जीवनका लागि खर्चने कुरा भएन, व्यक्तिगत सम्पत्ती आर्जन गर्ने कुरा भएन, त्यहीं खर्च गरेर गुरुकुल चलेको थियो,’ उनी भन्छन्,‘पहिले कमी आर्थिक स्रोत भए पनि चल्थ्यो। अहिले समय परिवेश बदलिएका खर्च अलि बढि लाग्ने भएको छ।’ गुरुकुलमा केवल संस्कृत शिक्षाको मात्र पढाई नभई व्यवहारिक ज्ञान पनि सिकाईने उनले बताए। ‘वैदिक शिक्षा र पूर्वीय वाङ्मय छ, त्यसमा आयुर्वेद छ, योगशास्त्र छ, कृषि प्रणाली छ, ज्योतिष र भूगर्व अध्ययन छ, शब्द मात्र छैन, अर्थ पनि यहाँ पाउँछन्,’ उनले भने।
आफ्नो संस्थाले आधुनिक शिक्षामा समेत योगदान गरेको उनको भनाई छ। बिहुँकोट धार्मिक महोत्सवमा वैद्विक विधिद्वारा पूजा अर्चना, देवलिला, बौद्धिक एवं महासन्त महात्माहरुबाट धार्मिक प्रवचन, प्रतियोतात्मक राष्ट्रिय लोकभजन, कविता वाचन, प्रतियोगिता, पन्चेबाजा प्रतियोगिता, राष्ट्रिय कलाकारहरुबाट भजन तथा विविध सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ। बिहुँ रामकोट मन्दिर पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण रहेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष गौरीशंकर सुवेदीको भनाई छ। ‘जिल्ला सदरमुकामबाट नजिकै छ, लोकमार्गको नजिकै छ, चारैतिर हिमालको दृश्य, डाँडाकाँडा हरियाली, चारैतिर फागुन चैतमा लालीगुराँस फुलेको देखिन्छ, विभीन्न बस्तीको दृश्य पनि हेर्न सकिन्छ,’उनी भन्छन्,‘त्यसले गर्दा धार्मिक मात्र होईन पर्यटकीय दृष्टिले पनि यो ठाउँ निकै उपयुक्त छ।’
मन्दिर क्षेत्रलाई थप आकर्षक बनाउन पूर्वाधारका कामहरु भैरहको उनले बताए। ‘प्रदेश सरकारबाट २० लाख रुपैयाँ विनीयोजन भएको छ, एक सय आठ शिवलिङ्ग, पानीका फोहोरा बनाउने तयारीमा छौं,’सुवेदीले भने। गण्डकी प्रदेशकै सबैभन्दा ठूलो शिवलिङ्ग यहाँ स्थापित गरिएको छ। साउन महिनाको सोमबार र बालाचतुर्दशीमा सतबिज छर्ने श्रद्धालु भक्तजनहरुको घुँईचो लाग्ने यस मन्दिरमा प्रत्येक वर्ष जेष्ठ महिनाको ११ गते यसको वार्षिकोत्सव तथा रथयात्राको महामेला लाग्छ।
यस क्षेत्रको विकासका लागि पञ्चवर्षीय योजना बनाएर काम अगाडि बढाउने काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले बताए। ‘यहाँको केही योजनाहरुमा केन्द्रीय सरकारबाट बजेटका लागि प्रधानमन्त्रीज्यू समक्ष प्रस्ताव पुर्याएको छु,’ उनले भने,‘निर्वाचनको समय भएकाले त्यसलाई पछ्याउन पाएको छैन, गाउँपालिकाबाट पाँच वर्षभित्र गर्ने पञ्चवर्षीय योजना बनाएर हामी अगाडि बढ्छौं।’
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्