म्याग्दी, पोखरा — तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये १० यात्रुको शव काठमाडौं पुर्‍याइएको छ । २२ यात्रुमध्ये एक जना अझै भेटिएका छैनन् । खोंचमा देखिएको एउटा शव उद्धार गर्न नसकिएको मुस्ताङ प्रशासनले जनाएको छ । उद्धार गरिएका अन्य १० शव खराब मौसमका कारण सोमबार घटनास्थलमै राखिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानो सरेभीरबाट सोमबार शव संकलन गर्दै सुरक्षाकर्मी । तस्बिर स् सशस्त्र प्रहरी बल

आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानो सरेभीरमा दुर्घटनाग्रस्त अवस्थामा करिब १९ घण्टापछि भेटिएको थियो । खोज तथा उद्धारकर्ताले सोमबार दिउँसो ३ बजेसम्म दुर्घटनास्थलमा छरपस्ट शव, यात्रुका सामग्री संकलन गरी १० वटा शवलाई तल झार्न सकेका थिए ।

शव संकलन भए पनि यात्रुको पहिचान हुन सकेको छैन । खराब मौसमका कारण दुर्घटनास्थलमा हेलिकोप्टर अवतरण गराई शव उठाउन नसकिएपछि उद्धारकर्ताले शव बोकेरै तल कोवाङ बस्तीमा झारेका थिए । तर अन्य १० शव भने तल ल्याउन प्रयास गरिए पनि मौसमकै कारण असम्भव भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । शवको उद्धार भइरहेका बेला हिउँ र पानीसमेत परेको थियो । घटनास्थलबाट कोवाङ बस्तीमा आउन पैदल ४ घण्टा लाग्छ । खोंज तथा उद्धारमा सेना, सशस्त्र र नेपाल प्रहरीका ६० बढी सुरक्षाकर्मी खटिएका थिए ।

अहिले घटनास्थलमा १४ सैनिक र प्रहरी टेन्ट टाँगेर बसेका छन् । उनीहरू खोज र उद्धारकर्मी हुन् । मौसमअनुकूल भए उद्धार गरिएका शवलाई राति नै तल झार्ने योजना रहे पनि मौसम नसुध्रिएपछि घटनास्थलमै राखिएको प्रजिअ शर्माले बताए । उनीहरू मंगलबार बिहानैदेखि हराइरहेका एक जना र खोंचमा रहेको शवको उद्धारमा जुट्नेछन् । सोमबार बिहानपख मौसमले केही समय साथ दिएकाले उद्धारमा सहज भएको थियो ।

दुर्घटनास्थल कात्तिक २८ मा मानापाथी हिमालबाट झरेको हिमपहिरो गएकै ठाउँ हो । ‘घटनाको प्रकृति हेर्दा विमानको पखेटा पहाडमा ठोक्किएर तल झरेको देखिन्छ । विमान भिरालो पाखोमा ठोक्किएर तल खोंचमा खसेको जस्तो छ’ घटनास्थल पुगेका स्थानीय इन्द्रसिं शेरचनले भने, ‘शवहरू चौंरी गोठाला हिँड्ने बाटोभन्दा केही पर धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए । केही तल्लो डिलमुनि पुगेका थिए ।’

 

समाचार कान्तिपुरबाट