नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा आयोजित रोजगार मेला सम्पन्न भएको छ। नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना गरिएको मेलामा नेपालका ५४ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता थियो भने कम्पनीहरूले करिब ६ सय रोजगारीको अवसर खुला गरेका थिए।

मेलामा कामको खोजीमा रहेका युवाहरूको निकै ठूलो सहभागिता रहेको थियो। मेला मार्फत करिब १० प्रतिशतले रोजगारी प्राप्त गरेको प्रारम्भिक अनुमान छ। धेरैजसो कम्पनीले रोजगार मेलामा भाग लिन आएका युवालाई मेला पश्चात् थप छलफलका लागि कम्पनीको सम्पर्कमा आउन समेत अनुरोध गरेका छन्।

मेलामा २ हजारभन्दा बढी युवाले अवलोकनका लागि रजिष्ट्रेशन गरेका थिए। कामको खोजीका लागि चारतिर भौंतारिनु पर्ने र त्यसका लागि समय, पैसा समेत खर्च गर्नुपर्ने बाध्यतालाई मेलाले केही हदसम्म सम्बोधन गर्न सकेको छ। एकै ठाउँमा कम्पनी र कामको खोजीमा रहेकाहरूलाई भेला गराएर यस्ता कार्यक्रम आयोजना गर्दा ठूलो राहत मिलेको सहभागी युवाले बताएका छन्। महासंघले यस्ता कार्यक्रम नियमित गर्नुपर्ने सुुझाव पनि सहभागी कम्पनीले दिएका छन्।

महासंघको वस्तुुगत परिषद्का सभापति हेमराज ढकालको सभापतित्वमा आयोजित रोजगार मेलाको उद्घाटन महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए।

बुधवार आयोजित रोजगार मेलाको समापन समारोहमा महासंघका कोषाध्यक्ष निरक केसीले सहभागी कम्पनीहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए।

कार्यक्रमलाई कोषाध्यक्ष केसीले रोजगार मेलाले कामको खोजीमा रहेका युवालाई ठूलो सहयोग गरेको बताए। कामको खोजीमा रहेका युवालाई मेलामा सहभागी कम्पनीहरू मार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरको खोजी गर्न सघाउने, आवश्यक सिप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गरिएको थियो।

नागरिक न्युजबाट साभार गरिएको छ ।