हेटौंडा उपमहानगरपालिका – १६ नम्बर वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारीमा छ ।
बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ आउदो पुष १२ गते शुक्रबार वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी लगभग पुरा हुन लागेको वडाध्यक्ष रामकृष्ण कोइरालाले बताएका छन्।
नेपाल सरकारको मापदण्डको आधारमा आवश्यक ५१ वटा सूचकहरुमा ४७ वटा सूचकमा शतप्रतिशत र बाँकी सूचकमा घोषणाका लागि आवश्यक न्युनतम नतिजा हासिल गर्दै बालमैत्री वडा घोषणा गर्न योग्य भएको बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति संयोजक समेत रहेका वडाध्यक्ष कोइराला बताउँछन् ।
२०७९ मंसिर २४ मा वडास्तरीय अभिमुखिकरण र सामुहिक प्रतिवद्धता जाहेर गरि बालमैत्री अभियानको निमित्त अघि सरेको बताए ।
सोहीक्रमसंगै बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूह, बालसमूह सञ्जाल, हटिया अस्पताल, विद्यालय, टोल विकास संस्थाह, युवा क्लब, आमा समूह, वन समिति विभिन्न सामुदायिक संस्था लगायतका क्रियाशील रहि बालबालिका क्षेत्रमा निरन्तर कार्यरत रहेको बताएका हुन् ।
वडाध्यक्ष कोइराला भन्छन् “जनताको हामी सेवक हौ भन्ने सोचले सेवा दिइरहेका छौँ । हाम्रो वडा र हामी जनप्रतीनिधीले दिने सेवामा दिनरात भन्दैनौँ । र वडाका बालबालिकाको भविष्य पनि कसरी बनाउँने भनेर हामीले काम गरिरहेकै हुन्छौँ । आवाशिय सुविधा सहितको जनप्रिय प्राविधिक शिक्षालय सामुदायिक र संस्थागत गरि बाल विकास केन्द्र सहितका जम्मा ६ वटा विद्यालयहरु सञ्चालनमा छन् । २१ वटा बालसमूहरु र एउटा वडा बाल सञ्जाल रहेको छ । बालबालिकाको हरेक अधिकार,को विषयमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने र कर्तव्यबोध गराउनु अभिभावकको पनि दायित्व हो। ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नारा अनुसारै काम गरेर घोषण गर्ने मात्र होइन यसलाई कसरी दिगोपनमा राख्ने बारेपनि छलफल गरेर अझ राम्रो काम गर्दै जान्छौँ ।
………………………………………………………….
बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा – १६ नम्बर वडा १८.९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पुर्वी सिमानामा १७ नम्बर वडा, पश्चिममा वडा नं. ६ र १५, उत्तरमा वडा नं. १७ रहेको छ । अधिकांस ग्रामिणस्तरका रहेको वडा भित्र प्रशिद्ध तिर्थस्थल शक्तेश्वर माहादेव मन्दिर, चिसापानी, गुरुडुङ डाँडाँ, घ्याम्पे, त्रिशुली, साजबोटे, सिरुघारी, पान्दमार, माण्डु आदी रहेका छन्।
वडामा घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण,२०७९ अनुसार १६६० घरधुरी रहेको यस वडामा १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २३८० रहेको छ जसमा ११७९ बालक र १२०१ बालिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्