बागमती प्रदेशमा आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा रुवेला खोप अभियान सञ्चालन हुने भएको छ ।
डब्लुएचओको सहकार्यमा विहीबार सञ्चारकर्मीहरुसँग प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै सो खोप बारे जानकारी गराइएको हो ।
स्वास्थ्य निर्देशनालयले अभियान अवधिमा प्रदेश भित्र रहेका खोप केन्द्रमाबाट बालबालिकालाई खोप लगाउने अभियान रहेको स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ ।


जानकारी गराइए अनुसार ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउनको लागि अभियान सुरु गर्न लागिएको र अभियानमा छुटेका ५ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाइने छ ।

दादुरा रुवेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्युमोनिया हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले अनिवार्य खोप लगाउनुपर्ने छ ।
दादुरा रुवेला रोग निवारण गर्न नेपाल सरकारको जोड रहेको र सरकारले २०७६ र ७७ मा चलाएको अभियानपछि गरिएको सर्वेक्षण अनुसार दादुरा रुवेला खोप ८४ प्रतिशत मात्र देखिएको थियो ।
गत आर्थिक वर्षमा नेपालमा १ हजार ३ सय ५० जनामा दादुरा रुवेला रोग देखिएको थियो ।
बागमती प्रदेशको नुवाकोट छाडेर सबै जिल्ला पूर्ण खोप घोषणा भइसकेको छ ।
प्रदेशका ८ जिल्लामा ९ महिना देखी ५ वर्ष सम्मका र ५ जिल्लाका ९ महिना देखी १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने छ ।
लक्षित उमेरका बाल बालिकाहरुलाई दादुरा रुवेला खोप लगाएर रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी न्युनीकरण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गर्न लागिएको निर्देशक दीपक प्रसाद तिवारीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा
स्वास्थ्य निर्देशनालयका डा. नवीन दर्नाल, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजार, डब्लुएचओका डा. सुस्मिता बास्तोला, निर्देशनालयका खोप फोकल पर्सन उद्धवराज प्याकुरेलले लगायतको आतिथ्यता रहेको थियो ।